Logo
२३ बैशाख २०८१, आईतबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपामा सामूहिक नेतृत्वको सिद्धान्त बलियो भएको छ,विधानविपरित भन्नेहरू पार्टीविरोधी हुन् : महतो

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएसँगै उक्त पार्टीमा निकै ठुलो विवाद सुरु भएको छ । गत मंगलबार बसेको राजपाको अध्यक्ष मण्डलको बैठकले राजेन्द्र महतोलाई संयोजक बनाउने निर्णय गरेको थियो । तर, यसबाट महन्थ ठाकुर निकट नेताहरूले तीब्र असन्तुष्टि जनाएका छन् । संयोजक फेर्ने जस्तो निर्णय बहुमतबाट गर्नु भनेको पार्टीको विधान उल्लंघन गर्नु भएको ठाकुर निकट नेताहरूको भनाइ छ । तर महतो महाधिवेशनसम्म चक्रीय प्रणालीमा दुई-दुई महिनाका लागि अध्यक्षमण्डलमध्येबाट संयोजनको भूमिका निर्वाह गर्ने पुरानो समझदारीअनुसार नै यो निर्णय भएको दाबी गर्छन् । प्रस्तुत छ महतोसँग गरिएको कुराकानीको सम्पादित अंश :

-पार्टीमा अध्यक्ष मण्डलका संयोजक फेर्ने निर्णय अचानक कसरी भयो?

पार्टीको वैधानिक व्यवस्थाअनुसार अध्यक्षमण्डल चक्रीय प्रणालीमा जानुपर्छ भनेर छलफल भएको हो। त्यसअनुरूप सहज र स्वाभाविक रूपमा चक्रीय प्रणाली अगाडि बढाइएको हो। त्यसैले यो महाधिवेशनसम्म चक्रीय प्रणालीमा दुई–दुई महिनाका लागि अध्यक्षमण्डलमध्येबाट संयोजनको भूमिका निर्वाह गर्ने पुरानो समझदारी र वैधानिक व्यवस्थालाई सहज रूपमा लिएर हामी अगाडि बढेका छौं।

-विधानअनुसार नै हो भने पार्टी एकीकरण भएको डेढ वर्षभित्र राजपाले संयोजक किन फेर्न सकेन?

चक्रीय प्रणालीअनुसार संयोजक फेर्ने वैधानिक व्यवस्था थियो र समझदारी पनि त्यही भएको थियो। जबसम्म त्यो समझदारीअनुसार काम गरियो त्यहीअनुसार अघि बढ्यौं। अर्को समझदारी बनेपछि त्यसैअनुसार काम भयो। र, जे–जे समझदारी बन्दै जान्छ त्यो विधानअनुसार नै हुने हो। बीचमा धेरैपटक विधान संशोधन भइसकेका छन्।

-विधानमा त अध्यक्षमण्डलको सबै निर्णय सर्वसम्मतबाट हुने उल्लेख छ। तपाईंको पछिल्लो निर्णय बहुमतबाट भएको हो त?

लोकतान्त्रिक प्रक्रियामा सबै निर्णय बहुमतबाट गरिन्छ। त्यही सिद्धान्तका आधारमा पहिलेदेखि नै पार्टी बहुमतीय प्रक्रियामा अघि बढिसकेको छ। योभन्दा पहिले पनि पार्टीको निर्णय बहुमतीय आधारमा गरिएको थियो। अनिलकुमार झाले पहिले पनि नोट अफ डिसेन्ट लेख्नु भएको थियो। सहमतीय प्रक्रिया सबैभन्दा राम्रो हो। तर, सहमति हुन सकेन भने बहुमतीय प्रक्रियाबाट पार्टी अगाडि बढ्छ। यही मान्यताअनुसार पहिलेदेखि नै यो प्रक्रिया अपनाइएको हो। पहिलोचोटी होइन।

-बहुमतबाट गरिएकाे निर्णय त विधानविपरित हो नि हैन र?

लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय भएकाले यो विधानविपरित होइन।

-तपाईं अध्यक्ष मण्डलको संयोजक बनिसकेपछि विगतको सद्भावना पार्टी बाहेकका नेता–कार्यकर्तासँग सम्बन्ध बिग्रेको सुनिएको छ नि?

कोहीसँग सम्बन्ध बिग्रिने सवाल नै उठ्दैन। सबैसँग प्रेमपूर्ण सद्भाव, भरोसा र विश्वासका सम्बन्ध छन्। र, पार्टी अगाडि बढाउने, सबै मिलेर पार्टीलाई उर्जावान, संगठित, सशक्त पार्टी बनाउने अभियानमा हामी लागेका छौं।

-महन्थ ठाकुरलाई पाखा लगाउँदै महाधिवेशनमा हालिमुहाली बढाउन संयोजक फेर्ने निर्णय गरिएको तपार्इँकै पार्टीका कतिपय कार्यकर्ताहरूले सामाजिक सञ्जालमा लेख्दै आइरहेका छन्। के भन्नु हुन्छ?

यो वाहियात कुरा हो। यस्ता कुराको कुनै तुक छैन। संयोजक दुर्इ-दुर्इ महिनामा फेर्ने शर्तमा पार्टी एकता भएको हो। त्यसैले कसैले आश्चर्य मान्नु हुँदैन र आपत्ति पनि जनाउनु हुँदैन। दुर्इ–दुर्इ महिनामा अध्यक्ष मण्डलका हामी ६ जना नै संयोजक रहने आधारमा पार्टी एकता गरेका हौं। त्यसैले महाधिवेशनलाई प्रभावित पार्ने, यो गर्ने त्यो गर्ने, यी कुराहरूमा तर्क वितर्कको तुक छैन। यो पार्टी विरोधीहरूको दुष्प्रचार हो।

-राजपाको पछिल्लो निर्णयले पार्टीभित्रको एकतामा कस्तो प्रभाव परेको पाउनुभएको छ?

पछिल्लो निर्णयले विल्कुलै एकता सुदृढ छ। एकता अझैँ सुदृढ हुन्छ र पारदर्शी ढंगले सबैलाई मिलाएर पार्टी अगाडि बढ्छ। त्यसैले पार्टी एकतामा सामूहिक नेतृत्वको जुन सिद्धान्त हो यसलाई झन बलियो पार्छ। यसले एकदमै सकारात्मक प्रभाव नै परेको छ।

-राजपाभित्र अध्यक्षमण्डलीय प्रणाली अन्त्य गरेर एकल अध्यक्षीय प्रणाली हुनुपर्ने माग उठेको छ। यसप्रति तपाईंको के धारणा छ?

यस विषयमा पार्टी अध्यक्षमण्डलमा पनि छलफल भएको हो। र, पुरै पार्टीमा अध्यक्षमण्डलीय प्रणाली ठीक होइन। पार्टीको विकासमा यसले सहयोग पुर्याइरहेको छैन। यो जनस्तर र कार्यकर्ता स्तरबाट उठेको आवाज हो। यसलाई हामी अध्यक्षमण्डलमा सम्मान गरेका छौं। अध्यक्षमण्डलको बैठकमा हामीले सामूहिक निर्णय र एकल नेतृत्व अध्यक्षीय प्रणालीमा लैजानुपर्छ। अध्यक्षमण्डलीय प्रणालीचाँहि ठीक होइन। त्यस सन्दर्भमा अध्यक्षमण्डलले सोच बनाइरहेको छ। तर, अन्तिम निर्णय गर्ने अधिकार महाधिवेशनकै हुन्छ।

-अब पार्टीलाई अगाडि बढाउने तपाईंका के–के योजना छन्?

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को सबैभन्दा पहिले निकट भविष्यमा राष्ट्रिय महाधिवेशन गर्नुपर्ने छ। हाम्रो सम्पूर्ण उर्जा महाधिवेशन गर्नेमा नै लाग्ने हो। त्यसका लागि साधारण सदस्यतादेखि अन्य अभियानहरू सुरू भइसकेका छन्। यसलाई सु-व्यवस्थित, पारदर्शी ढंगले गतिकासाथ अगाडि बढाएर बैशाख ७ गतेदेखि ९ गतेसम्म महाधिवेशन तोकिएको छ। त्यो मितिमा सफलतापूर्वक महाधिवेशन सम्पन्न गराउनेतर्फ मेरो पुरै प्रयास छ।

-राजपाले वर्तमान सरकारलाई किन समर्थन गरेको हो?

पार्टीले उठाउँदै आएका विभिन्न सवालहरू दुर्इ तिहार्इको शक्तिशाली सरकारले सम्बोधन गरोस भनी हामीले सरकारलाई समर्थन गरेका छौँ।

-सरकारलाई समर्थन गरेरपनि तपार्इँहरू विपक्षीको बेन्चमा बस्दै आउनु भएको छ नि?

सरकारमा सहभागी नभएको पार्टी विपक्षी नै हुन्छ। गुण दोषका आधारमा समर्थन र विरोध गर्ने हो। समर्थन दिनुको अर्थ-हामी सरकार पक्ष होइन। हामी गुण दोषका आधारमा समर्थन र विरोध गर्ने हो सरकारलाई। हामी प्रतिपक्ष नै हो।

-तपाईंहरूले सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिँदै हुनुहुन्छ भन्ने चर्चा छ। कहिले समर्थन फिर्ता लिनुहुन्छ?

सरकारले संविधान संशोधन पनि गरेन। पछिल्लो मधेस आन्दोलनका मुद्दा पनि फिर्ता गरेन। रेशम चौधरीको रिहाइ पनि गरेन र उनको सपथ ग्रहण पनि गराएन। यो सरकारले केही गरेन। सरकारले केही पनि नगरेको अवस्थामा पार्टीले के गर्ने त? यस विषयमा पार्टीको अगामी बैठकमा छलफल हुन्छ। अहिले हामीले कुनै निर्णय गरेका छैनौं।

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्