Logo
२७ बैशाख २०८१, बिहीबार
(November 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवल बेलहीया व्यापारिक मार्ग विस्तार कार्य चैतमा सकिने

रुपन्देही :  बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तारको काम यही चैत मसान्तसम्म सकिने भएको छ । समयमा काम नगर्ने ठेकेदारलाई आयोजनाले कारवाही गरेका कारण चैत मसान्तसम्म काम सकिने भएको हो ।

पटक–पटक समयसीमा थप्दा पनि समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई आयोजनाले कारवाही गरेपछि पछिल्लो समयमा ६ लेन सडक निर्माणले तीव्रता पाएको छ । समयमा काम नगरेका कारण बेलहिया सडक व्यापारिक मार्ग विस्तार आयोजनाले निर्माण सेवा कम्पनीबाट रु तीन करोड ८७ लाख ५९ हजार जरिवाना लिएको आयोजनाका लेखा अधिकृत ईश्वरीप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

बुटवल–बेलहिया सडकको दुई स्थानमा सडक निर्माणको जिम्मा पाएको कालिका–तामाङ–प्यासिफिक–जेभिबाट रु तीन करोड ८७ लाख र अलकापुरी निर्माण सेवाबाट रु ५९ हजार जरिवाना लिएको आयोजनाका लेखा अधिकृत देवकोटाले बताउनुभयो ।

“समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गरिएको छ, अहिले सडक विस्तार कार्यले गति लिएको छ, यही गतिमा अगाडि बढे चैत मसान्तसम्म सडक विस्तार पूरा हुन्छ”, आयोजनाका प्रवक्ता गोविन्द श्रेष्ठले भन्नुभयो ।

यो मार्गको अहिलेसम्म करीब ८० प्रतिशत काम सकिएको छ । २४ किलोमिटर सडकमध्ये अहिले मणिग्रामदेखि भैरहवा गोदार इञ्जिनीयरिङसम्म सडक निर्माणको काम भइरहेको छ । अब करीब पाँच किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

आर्थिक वर्ष २०६६÷६७ मा शुरू भएको यो व्यापारिक मार्ग विस्तारका लागि विभिन्न चार चरणमा काम गरिएको छ । पहिलो चरणमा बुटवलको गोलपार्कदेखि योगीकुटी, दोस्रोचरणमा योगीकुटीदेखि मणिग्राम, तेस्रोचरणमा भैरहवादेखि बेलहियासम्मको काम सम्पन्न भएको छ, भने चांैथो चरणअन्तर्गत अहिले मणिग्रामदेखि भैरहवासम्मको सडक निर्माणको काम भइरहेको छ ।

तीस महीनामा मणिग्रामदेखि भैरहवा सडक विस्तारको काम सक्ने गरी चौथो चरणको सम्झौता गरिएको हो । आयोजना पूरा गर्न पाँच अर्ब ८६ करोडको ठेक्का भएको थियो । अहिलेसम्म रु चार अर्ब खर्च भइसकेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: Nov 25, 2018

प्रतिक्रिया दिनुहोस्