Logo
२७ बैशाख २०८१, बिहीबार
(September 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरमा राधाकृष्ण रथयात्रा : ड्रोन क्यामेराबाट सुरक्षा व्यवस्थाको निगरानी

ऐतिहासिक राधाकृष्ण रथयात्राको निगरानी आकासमा ड्रोन क्यामेरा उडाएर गरिने भएको छ । विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट ऐतिहासिक राधाकृष्ण रथयात्रा निकाल्ने गरिन्छ । रथयात्रामा हुने भीडभाडमा कुनै पनि उसृङ तथा अपराधिक गतिविधी हुन नदिन र त्यस्ता गतिविधी भएमा त्यसमा संलग्नलाई तत्काल नियन्त्रणम लिन सजिलो होस भनेर ड्रोन क्यामेराबाट सुरक्षा निगरानी गरिने भएको छ ।

सोमबार निकालिने रथको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । सुरक्षा व्यवस्था पनि त्यही हिसावले मजवुत बनाइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  रथयात्राको सुरक्षार्थ मात्रै एक हजार नेपाल प्रहरी परिचालन गरिएको छ । सादा पोशाकमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले प्रहरीले आइतबारदेखिनै विराटनगरमा निगरानी बढाएर सुरक्षा स्थितीलाई कडा पारेको जनाए ।

सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाली सेना पनि खटिने छ । रथयात्रामा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी गरिने यो नै पहिलो हो । एसपी केसीका अनुसार ड्रोन क्यामेरा चलाउन र त्यसको निगरानी गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट दक्ष प्राविधिक टोली आइसकेको छ । उनले ड्रोनमार्फत रथयात्रा अवधिभर सबै ठाउँको ‘रेकी’ गरेर त्यहाँको वस्तुस्थितीका बारेमा जानकारी लिने काम भइरहने बताए ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले रथयात्राको सुरक्षा निगरानीका लागि दुईवटा ड्रोन तयारी अवस्थामा राखिएको बताए । यस अघि सुरक्षाका लागि सुरक्षाकर्मी मात्रै परिचालन गरिंदै आएकोमा यस पटक भने नौलो तरिकाबाट सुरक्षा निगारनी गर्न ड्रोन आकासमा उडाइने उनको भनाइ छ । उनले रथयात्रा सुरक्षा निगरानीका लागि ड्रोनको प्रयोग पहिलो अभ्यास भएको जानकारी दिए ।

कसैले पनि कानुन विपरित कार्य गरेको पाइएमा ड्रोन क्यामेरामा कैद भएको दृष्यका आधारमा तत्काल नियन्त्रणमा लिएर कारवाही अघि बढाउन निर्देशन दिइसकिएको डीआईजी रिजालले बताए । आकासमा उडाइने ड्रोन क्यामेराको प्राविधिकमार्फत कुनै एउटा निश्चित ठाउँबाट निगरानी गरिने उनको भनाइ छ ।

यस पटकको रथयात्रामा विशेष प्रकारको घोडाले तान्ने बग्गी समावेश गरिने भएको छ । भारतबाट झिकाइएको बग्गीको पछाडि रथ रहने छ । रथयात्रामा भक्तजनको ध्यान तान्न यो वर्ष बग्गीको प्रयोग विशेष रहने आयोजकको भनाइ छ । रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाका अनुसार भारतबाट झिकाइएको विशेष प्रकारको घोडाले तान्ने बग्गी रथको अग्रभागमा राखेर यात्रामा समावेश गरिने छ । ओझाले रथ यात्राका बेला हेलिकोप्टरबाट पुष्टबृष्टि समेत गरिने जानकारी दिए ।

उनले विगतको तुलनामा यो वर्षको रथ यात्रा विशेष र भब्य हुने दावी गरे । विक्रम सम्बत १९८८ सालमा खट यात्राबाट प्रारम्भ भएको ऐतिहासिक जात्रा २०२५ साल देखि रथयात्राका रुपमा मनाउन थालिएको थियो । रथ यात्रामा नेपाल र भारतका करिब पाँच लाख भक्तजन सहभागि हुने आयोजक समितिको अनुमान छ । रथ सोमबार दिउँसो चार बजे विराटनगरको तीनपैनी स्थित राधाकृष्ण मन्दिरबाट निकालिने छ ।

त्यसको एक घण्टा अघिबाटै विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरु भने निकालिने छन् । अध्यक्ष ओझाका अनुसार यात्रा विराटनगरको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथ यात्रा तीनपैनी चोक, गोल्छा चोक, ट्राफिक चोक, महेन्द्र चोक, धरानरोड, मुनालपथ, बरगाछी हुँदै राधाकृष्ण मन्दिरमै पुगेर टुँगिने छ । यात्राका लागि सात किलोमिटरको दूरी तय गरिएको छ । ओझाका अनुसार यात्राका क्रममा रथलाई ४३ ठाउँमा विश्राम गराएर भक्तजनलाई दर्शनको अवसर दिइने छ । भक्तजनले यात्राकै बेला पनि दर्शन गर्न सक्नेछन् । रथयात्राकै अवसरमा प्रदेश १ सरकारले मोरङ र सुनसरीमा सोमबार सार्वजनिक विदा समेत दिएको छ ।

प्रकाशित मिति: Sep 3, 2018

प्रतिक्रिया दिनुहोस्