Logo
२२ बैशाख २०८१, शनिबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘भारतसँग अब विस्तृत सहकार्य गर्नेगरि सम्झौता गर्नुपर्छ’ : लोहनी

काठमाडौं : एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले आगामी ३० देखि ४० वर्षभित्र भारत महाशक्ति राष्ट्रमा पुग्ने बताएका छन् ।

उनले भने,‘भारत आउने ३० देखि ४० वर्षभित्र अमेरिका र चीनजस्तै महाशक्ति राष्ट्र बन्छ । प्रजातन्त्रमा आस्था राखेर सबै कुरामा भारत महाशक्तिमा पुग्ने देखिएको छ ।’ उनले थपे,‘एकातिर चीन र अर्कोतिर भारत छ, भारत र चीनजस्तो ठूला–ठूला अर्थतन्त्र भएका देशका बीचमा नेपाल रहनु सौभाग्यको कुरा हो ।’

उनले भारतसँग नेपालले समझदारी कायम गरेर अघि बढ्नुपर्ने धारणा समेत राखे । उनले भने,‘हामी दुवै राष्ट्र स्वतन्त्र छौं । हाम्रा आ–आफ्नै स्वार्थ छन् । हामीले मिलेर काम गर्नुपर्छ ।’ नेपालले पनि आफ्नो राष्ट्रिय स्वार्थ प्राप्त गर्नेगरि आफ्नो हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने लोहनीको भनाई छ ।

भारत र नेपालबीच असाध्यै प्रगाढ सम्बन्ध भएपनि आर्थिक सम्बन्ध चाहीँ असन्तुलन रहेको उनको गुनासो छ । उनले भने,‘हाम्रो कार्य पद्धतीले गर्दा व्यापार घाटा धेरै छ । नेपालले दक्ष जनशक्ति एक्सपोर्ट गरिरहेको छ । र, चीन र भारतबाट समानहरु ईम्पोर्ट गरिरहेको छ।’
नेपालले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउँदै उनले भने,‘भारतले पनि अब उद्योग तथा उत्पादनमुलक क्षेत्रमा कसरी अघि बढ्न सकिन्छ भनेर नेपाललाई सहयोग गर्नुपर्छ । नेपालमै रोजगारी बढाउनेबारे ओलीजी नेतृत्वको सरकारले विचार पुर्याओस्।’
भारत र नेपालबीचको सम्बन्धमा नयाँ अध्याय सुरु गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘भारतसँग अब विस्तृत सहकार्य गर्नेगरि सम्झौता गर्नुपर्छ । यतातिर अब हामीले चिन्तन पुर्याउनुपर्छ ।’

नेपालमा प्रशस्त पानी भएकोले पानीको उपभोगपनि दुवै देशलाई लाभ हुनेगरि अगाडि बढाउनुपर्ने लोहनीको भनाई छ । उनले भने,‘आजभन्दा २० वर्ष पहिले मेरै पालामा भारतले नेपाललाई वाटर ट्रान्सपोर्ट दिन्छौं भनिसकेको थियो । बंगलादेशसँगको सिधा पहुँचको लागि पनि भारतले वाटर ट्रान्जिट दिनेबारे त्यतिवेला नै सहमति दिएको थियो ।’ नेपाल–भारत सुरक्षाबारे पनि बोर्डरहरु नियमनदेखि सुरक्षासम्बन्धी भारतका जायज चासोलाई नेपालले सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

लोहनीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा आर्थिक पक्ष बलियो हुनुपर्ने जिकिर गरे । उनले भने,‘दुवै देशको हितलाई केन्द्रमा राखेर हामीले सम्बन्धहरु अघि बढाउनुपर्छ । सरकार ५ वर्षको लागि बनेको छ । यी सबै कामहरु हाँसिल गर्न सरकारलाई सफलता मिलोस्।’

प्रकाशित मिति: Aug 14, 2018

प्रतिक्रिया दिनुहोस्