Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा सुरक्षा र सीमापार अपराध नियन्त्रणमा केन्द्रित नेपाल-भारत सुरक्षा बैठक

नेपाल र भारतको सीमा क्षेत्रमा हुने सीमा सुरक्षा र अपराधिक गतिविधि नियन्त्रणलगायतका विषयमा छलफल गर्न दुवै मुलुकका उच्च सुरक्षाअधिकारीहरुको बैठक सुरु भएको छ । बैठकमा सहभागी पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गरेका छन्।

प्रतिनिधिमण्डलमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत डा. इला मैनाली छन्। प्रत्येक वर्ष हुनुपर्ने भए पनि ‘कोअर्डिनेशन समिति’ को बैठक चार वर्षयता बस्न सकेको थिएन। यसअघि सन् २०१२ मा पहिलो र २०१४ मा दोस्रो बैठक बसेको थियो।

नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरु सम्मिलित ‘को-अर्डिनेसन समिति’ को तेस्रो बैठकमा विशेषगरी सीमाको सुरक्षा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, मानवतस्करीजस्ता विषयमा केन्द्रित हुने बताइएको छ। 

त्यसका अतिरिक्त सीमा सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय स्तरमा सूचना आदानप्रदान तथा सञ्चार सेवा दुरुस्त बनाउने विषय पनि बैठकको एजेण्डामा रहेको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले भने। साथै सीमा सुरक्षाको जिम्मेवारी सम्हालिरहेको सशस्त्र सुरक्षा बलको क्षमता अभिवृद्धिका लागि दुई पक्षीय तालिमका विषयमा पनि छलफल गरिने ती सदस्यले जानकारी दिए। यसबाहेक परराष्ट्र र गृह मन्त्रालयसँग जोडिएका अन्य विषयहरुमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित मिति: Aug 8, 2018

प्रतिक्रिया दिनुहोस्