Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हलुका र दम्भयुक्त अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई कांग्रेसको सचेतना

काठमाडौं, ७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीलाई हलुका र दम्भयुक्त अभिव्यक्ति नदिन प्रमुख विपक्षी नेपाली कांग्रेसले सचेत गराएको छ । ‘कांग्रेस हलुका र दम्भयुक्त शब्द लफ्फाजी भन्दा माथि उठेर तत्कालै समाधानमा पुग्न प्रधानमन्त्री र सिंगो सत्तापक्षलाई फेरि पनि सचेत गराउन चाहन्छ’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति दम्भयुक्त भन्दै कांग्रेसले त्यस्तो नगर्न सचेत गराएको हो । सोमबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसले गोविन्द केसीको मुद्दालाई साथ दिएकोमा आलोचना गर्दै त्यान्द्रो समाएर राजनीति गरेको टिप्पणी गरेका थिए ।

‘डा. केसीको न्यायोचित मागका पक्षमा उभिनुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु र राजनीतिक आग्रह राखेर डा. केसीलाई हेर्नु प्रधानमन्त्री पदको उचाई अनुरुपको स्वभनीय अभिव्यक्ति विल्कुलै होइन’ विज्ञप्तिमा भनिएको छ ।शेरबहादुर देउवाको नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशमा केसीले उठाएको माग संबोधन भएको भन्दै कांग्रेसले अहिले सरकारले नै समस्या सिर्जना गरेको बताएको छ ।

‘आजको मितिमा उत्पन्न भएको समस्या नेपाली कांग्रेस वा डा. केसीका कारण नभई सो अध्यादेशलाई उल्ट्याउनतर्फ ओली सरकार उद्धत भएका कारण उब्जिएको समस्या हो’ कांग्रेस प्रवक्ता शर्माले भनेका छन् । सोमबारको उक्त कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेसले नै डा. केसीको मृत्यु चाहेको र लासको राजनीति गर्न खोजेको आरोप लगाएको थियो ।

त्यसको जवाफमा कांग्रेसले भनेको छ ‘संसदलाई समेत छलेर सडकमा दमनको अस्त्र प्रयोग गर्ने सरकारलाई सच्चिनका लागि दबाव दिनुपर्नेमा उल्टै नेता दाहालले कांग्रेसमाथि लासको राजनीति गरेको आरोप लगाउनु दुःखद छ ।’

प्रकाशित मिति: Jul 23, 2018

प्रतिक्रिया दिनुहोस्