Logo
२२ बैशाख २०८१, शनिबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘आरएसएस’ को संघ शिक्षा वर्ग प्रथम वर्षको जनकपुरमा शुभारम्भ

जनकपुरधाम, जेठ १७ : जनकपुरमा हिन्दू स्वयंसेवक संघ नेपाल (HSS)को संघ शिक्षा वर्ग प्रथम वर्षको शुभारम्भ भएको छ ।२० दिने आवासीय प्रशिक्षणको उद्घाटन भने जनकपुर उपमहानगरका मेयर लालकिशोर साहले गरेका हुन् । वर्ग संयोजक बैजनाथप्रसाद साह, सर्वव्यवस्था प्रमुख पवन कुमार ठाकुर, वर्गाधिकारी रामनरेश सिंह लगायतद्वारा वर्ग निर्विघ्न रूपमा सफल होस् भन्ने कामनाका साथ हवन पूजन समेत गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै संघका राष्ट्रिय संघचालक हेमशर्मा आचार्यले वर्गको उद्देश्यबारे प्रकाश पारे । समाजका व्यक्तिले आफ्नो सामाजिक कर्तव्य बुझ्नुपर्ने भन्दै उनले यो शिक्षा वर्ग व्यक्तिगत स्वार्थबाट माथि उठेर समग्र राष्ट्रको चिन्तन गर्ने सामाजिक कार्यकर्ताको निर्माण गर्ने यज्ञ भएको बताए ।

समाज के हो, संगठन के हो, संगठित शक्तिको कस्तो महत्व हुन्छ जस्ता प्रश्नको समुचित उत्तर यस वर्गमा खेल, बौद्धिक, शारीरिक जस्ता कार्यक्रमका माध्यमबाट शिक्षार्थीले पाउने उनले बताए । ‘संस्कारित, कर्तव्यनिष्ठ, चरित्रवान स्वयंसेवकहरूले नै समाजको विविध क्षेत्रमा पुगेर समाजको सर्वाङ्गीण उन्नतिमा आफ्नो योगदान पुर्याउने छन्’ उनले भने ।

स्वयंलाई अनुशासनमा राखेर देश र समाजको हितमा समर्पित रहने कार्यकर्ताको संगठनको रूपमा संघलाई आफूले चिनेको जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताए । कार्य गर्दै शिक्षा लिँदै समाज संगठन कार्यमा अघि बढ्ने प्रेरणा देशका युवा पुस्ताले संघबाट पाउँदै गरेको उनले बताए ।

वर्गमा देशका विभिन्न जिल्लाका ८७ प्रशिक्षार्थीको सहभागिता छ । भारत स्थित RSS अर्थात राष्ट्रिय स्वंयसेवक संघका प्रचारक नेपाल स्थित संघका प्रमुख प्रचारक हुन्छन् । भारत मणिपुरका वेदप्रकाश उपाध्यक्ष संघका राष्ट्र प्रचारक हुन् भने रेवित कुमार सहराष्ट्र प्रचारक हुन् ।

प्रकाशित मिति: May 31, 2018

प्रतिक्रिया दिनुहोस्