Logo
२३ बैशाख २०८१, आईतबार
(May 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेटलाई हावादारी भन्नेहरु सबैभन्दा हावादारी हुन्, कार्यान्वयन हुन्छ, गर्छौं : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी ओलीले बजेटलाई लागू गरिछाड्ने दृढता व्यक्त गरेका छन् । नयाँ बानेश्वरमा बुधबार बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले बजेट असाधारण प्रतिबद्धताका साथ आएको भन्दै यसलाई लागू गरिने बताए ।

बजेट लागू हुँदैन भन्ने विपक्षीहरुप्रति कटाक्ष गर्दै उनले भने, ‘बजेटलाई हावादारी भन्नेहरु सबैभन्दा हावादारी हुन्, यो बजेट कार्यान्वयन हुन्छ, गर्छौं ।’ उनले रेल र पानी जहाज सञ्चालनका लागि सरकार गम्भीरताका साथ लागीपरेको समेत बताए । ‘यो एउटा मान्छे ट्रेकिङमा हिँडेको होइन, युगान्तकारी काम हो ।

कोलकाता, बे अफ बंगालबाट केही महिनाभित्रै जलमार्ग जोडिँदैछ’ उनले भने, ‘यसैवर्षभित्र पानी जहाज चल्न सुरु भयो भने अनौठो नमान्दा हुन्छ ।’ उनले आफूहरु मुलुकको कायापलट गर्न लागेको पनि दाबी गरे । ‘हामी यो मुलुकको कायापलट गर्छौं ’ प्रधानमन्त्री ओलीले भने, ‘यो जनताले जिताएर पठाएका ‘पल्टन’ समय गुजार्न होइन ।’

द्वन्द्वकालीन घटनामा जेलजीवन बिताइरहेका बालकृष्ण ढुंगेललाई कानुनसम्मत् रिहा गरिएको प्रधानमन्त्री ओलीले प्रस्ट पारे । ‘बालकृष्ण ढुंगेललाई आजसम्म भेटेको छैन । उहाँलाई कानुनअनुसार नै रिहा गर्न सिफारिस गरेका हौं’, उनले भने, ‘सिफारिस सरकारले गर्ने विषय होइन ।

यसका आफ्नो विधि र प्रक्रिया हुन्छन् । यो जेलरले सिफारिस गर्छ, सोही अनुसार रिहाइको प्रक्रिया अगाडि बढायौ‌ ।’ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारीले सरकारको सिफारिसमा ८ सय १६ जनाको कैद मिनाहा गरेकी थिइन् । उक्त निर्णयअनुसार पूर्वसभासद् एवं तत्कालीन माओवादी केन्द्रका नेता ढुंगेल मंगलबार रिहा भएका थिए ।

प्रकाशित मिति: May 30, 2018

प्रतिक्रिया दिनुहोस्