Logo
३ श्रावण २०८१, बिहीबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारलाई पंगु बनाउन खोजिएको छ : मुख्यमन्त्री गुरूङ

पोखरा : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले प्रदेश सरकारलाई पंगु बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् । मुख्यमन्त्री गुरूङ केन्द्रिय सत्तासिन दलकै नेता हुन् भने केन्द्रिय सरकारलाई आफ्नै सहयात्रीबाट यस्तो कडा आरोप पहिलोपटक आएको हो ।

प्रदेशका मन्त्री, सचिव र सांसदहरूका लागि आइतबार पोखरामा आयोजना गरिएको ‘संसदीय अभ्यास र कानुन निर्माण प्रक्रिया’ सम्बन्धी अन्तक्रिर्यामा उनले केही दलका प्रभावशाली नेताहरु अधिकारजति संघमै राखेर प्रदेश सरकारलाई कमजोर बनाएर लागेको आरोप लगाएका हुन् ।

मुख्यमन्त्री गुरुङले स्थानीय तह र संघलाई बलियो बनाउँदै प्रदेश सरकारलाई कमजोर बनाउने र संघीयता नभए पनि हुँदो रहेछ भन्न देखाउन केही नेता लागेको पनि दावी गरे । ‘नेताहरूले बाहिर नभने पनि उनीहरुको आन्तरिक आशय प्रदेश सरकार कमजोर बनाएर केन्द्र सरकार बलियो बनाउने बुझिएकाले सबै चनाखो हुनुपर्ने अवस्था आएको छ’ उनले भने ।

गुरुङले अगाडि भने ‘अपुग स्रोत, अपर्याप्त कर्मचारी, प्रक्रियागत अलमल हेर्दा यस्तो लाग्छ अझै पनि प्रमुख दलका केही प्रभावशाली नेताहरू अधिकार संघमै रहोस् भन्ने मानसिकतामा रहेको देखिन्छ, जनताको अपेक्षा सगरमाथा जस्तो अग्लो छ, अधिकार र प्रक्रियाका हिसाबले हामी अझै केचनामै छौं ।’

मुख्यमन्त्री गुरुङले प्रदेशलाई करिब ३ हजार २ सय जना कर्मचारी चाहिने भए पनि पर्याप्त कर्मचारी नहुँदा काम गर्न अप्ठेरो भएको बताए । अहिले काठमाडौंबाट आएका कर्मचारी काम चलाऊ रहेको र प्रदेशका कर्मचारी एक जना पनि नहुँदा सरकारको आगामी योजना तर्जुमा गर्नमै समस्या आएको उनले गुनासो गरे ।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्