Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

येचुरी फेरि महासचिव : ‘भाजपालाई सत्ताबाट हटाउनु पहिलो लक्ष्य’

कम्युनिष्ट पार्टी मार्क्सवादी (सिपिआईएम) को २२ औँ अधिवेशनले पार्टीका वरिष्ठ नेता सीताराम येचुरीलाई फेरि महासचिव बनाएको छ । भारतको तेलंगाना स्थित हैदराबादमा अधिवेशनबाट उनलाई उक्त जिम्मेवारी दिएको हो ।भइरहेको अधिवेशनमा ६६ वर्षका येचुरी सन् २०१५ मा पहिलो पटक पार्टीको महासचिव बनेका थिए । त्यसअघिका ९ वर्ष महासचिको जिम्मेवारी प्रकाश करातले सम्हालेका थिए ।

अधिवेशनले पार्टीको १७ सदस्यीय पोलिट व्युरो तथा ९५ सदस्यीय केन्द्रीय कमिटिको पनि गठन गरेको छ। पछिल्लो समय भारतमा कम्युनिष्ट पार्टीको अवस्था राम्रो छैन । त्रिपुरामा दुई दशक भन्दा बढी समयदेखि रहेको पार्टीका शासन यसपटकदेखि गुमेको छ । त्रिपुरामा मात्रै होइन अरु राज्यमा पनि कम्युनिष्ट पार्टीले ठूलै चुनौतीको सामना गरिरहेको छ ।

महासचिवमा फेरि चयन भएपछि येचुरीले भनेका छन्, ‘आफ्नो पार्टी सामु मात्रै नभएर पूरै देशकै सामु अहिले चुनौतीको अवस्था छ । पछिल्लो समय भोगेको हारबाट माथि आउनका लागि हामीले जनाधार सुधार गर्नु पर्नेछ ।’ उनले भनेका छन्, ‘पार्टीलाई स्वतन्त्र रुपले थप बलियो बनाउनु नै अहिलेको प्राथमिकता हो । पार्टीलाई बलियो बनाउँदै जनतासँग जोडिएर आन्दोलनको अवस्था ल्याइ उनीहरुसँगको सम्बन्ध बलियो बनाउनु पर्नेछ ।’

भारतमा आउँदो वर्ष लोकसभा चुनाव हुँदैछ र अहिले विभिन्न राज्यमा विधानसभा चुनावको तयारी चलिरहेको छ । यस सन्दर्भमा नेता येचुरीले राज्य अनुसार गठबन्ध हुन सक्ने पनि बताएका छन् । प्रान्त अनुसार अवस्था र आवश्यकता फरक रहेकाले भिन्न भिन्न गठबन्धनको सम्भावना रहेको उनले बताए ।

गठबन्धन अवस्थाका आधारमा हुने र कांग्रेससँग पनि त्यसको सम्भावना रहेको नेता येचुरीको भनाई छ । तर उत्तर प्रदेश जस्ता राज्य जहाँ कांग्रेसको जनाधार राम्रो छैन, त्यहाँ उसँग गठबन्धन गर्नुको औचित्य पनि रहेको उनको भनाई छ । तर भारतीय जनता पार्टीलाई सत्ताबाट हटाउनु आफूहरुको प्रमुख लक्ष्य रहेको र त्यसमा सहायक हुने दलसँग गठबन्धन गरिने उनले स्पष्ट पारे ।

नेता येचुरीले भने, ‘सन् २०१९ को चुनावमा हाम्रो पहिलो लक्ष्य नै आरएसएस र भाजपाको सत्ता हटाउनु हो । देशका नागरिक अनि एकता तथा विखण्डन रोक्नका लागि यो अत्यावश्यक छ ।’ चेन्नईमा जन्मिएका येचुरीले आफ्नो बाल्यकाल हैदराबादमा बिताएका हुन् । उनी सन् १९७४ मा राजनीतिमा प्रवेश गरेका हुन् ।

१९७५ मा उनी सिपिआइएममा जोडिए । आपतकालीन अवस्था लागु भएका बेला उनी पक्राउ परेका थिए । सन् १९८४ मा उनी पार्टीको केन्द्रीय सदस्य बने । त्यसपछि १४ औँ अधिवेशनबाट उनी पोलिट ब्युरो सदस्य बनेका हुन् ।विशाखापटनममा सन् २०१५ मा भएको २१ औँ अधिवेशनबाट येचुरी निर्विरोध रुपमा पार्टीको पाँचौँ महासचिव बनेका थिए ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्