Logo
१६ बैशाख २०८१, आईतबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजी विद्यालयहरुको चर्को शुल्क विरुद्ध विद्यार्थी संगठनहरुले आन्दोलन थाल्ने

काठमाडौं, ५ बैशाख : संयुक्त विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुले चर्को शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार संयुक्त विद्यार्थी संगठनले ‘निजी विद्यालयको चर्को शूल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ नामक अन्तरक्रियामा बोल्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आधारभुत र माध्यामिक तहको शैक्षिक प्रणालीमै ठूलो मत भिन्नता रहेको गुनासो पोखे । उनले भने,‘यो डर लाग्दो अवस्था छ । यो भिन्नता कम गर्न जरुरी छ ।’
प्यावसन र एन–प्यावसनले शुल्क वृद्धि छैन भनेर गलत कुरा बोलेको उनको आरोप छ ।

उनले भने,‘निजी विद्यालयका सञ्चालकहरुले महँगी अनुसार चलेको भनेर भन्नु भएको छ, त्यो कुुरा नाटक हो, हामी घाटामा छौं, समस्यामा छौं भनेर नाटक नगर्नुहोस् । हामीले पनि देखेका छौं, कुन स्कुल कति घाटामा छ, कति नाफामा छ भनेर।’  शुल्क वृद्धि नघटाए ती प्रत्येक स्कुल अगाडि अभिभावक राखेर सार्वजनिक सुनुवाई गर्ने तामाङले चेतावनी दिए ।

उनले थपे,‘नेपाल संसारको दोस्रो ठूलो गरिब देश हो, तपाईहरु पनि त्यही अनुसार चल्नुहोस् । मनोमानी ढंगले अघि बढे सह्यै हुँदैन, हामी अहिले पनि आन्दोलित छौं ।’ प्यावसन र ऐन प्यावसनले बनावटी जवाफ दिएर पन्छिन् नपाउने उनको चेतावनी थियो । उनले भने, ‘नेपालको नियम र कानूनअनुसार चल्नु पर्छ, होईन भने तपाईहरु चन्द्रमामा गएर खोल्नुहोस्, मंगल ग्रहमा गएर खोल्नुहोस् वा विदेशमा गएर खोल्नुहोस्, हामीलई आपत्ति छैन, यदि नेपालमा खोल्ने हो भने यहाँको नियम र कानून मान्नुपर्छ ।’

निर्देशिका कार्यान्वय नगर्ने र शुल्क वृद्धि फिर्ता गर्ने भनेर भनिएको एक वर्ष बिति सक्यो तर अहिलेसम्म ती कुराहरु कार्यान्वयन नभएकोमा उनले आक्रोश पोखे । उनले भने,‘यदि यस्तै अटेरी गर्ने हो भने हामी तालाबन्दी गर्न बाध्य हुन्छौं ।’ कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले कानूनभन्दा माथि कोही पनि नभएको स्पष्ट पारे । उनले भने, ‘सबै निजी विद्यालय गलत छैनन, जसले चर्को शुल्क लिएका छन्, तिनीहरुमाथि अनुगमन हुनुपर्छ ।’

अर्यालले कानूनको अटेर गर्ने विद्यालयहरुलाई कारबाही गर्ने मन्त्रालयको तयारी रहेको विश्वास दिलाए ।
त्यस्तै उनले सरकारले प्रदान गर्दै आएको १० प्रतिशत छात्रवृत्ति जसले पाउनुपर्ने हो उसले नपाएकोमा गुनासो पोखे । उनले थपे,‘छात्रवृत्तिलाई नियमित गर्नुुपर्छ ।’

प्यावसनका अध्यक्ष विजय सम्वाहाम्फेले शिक्षाको मापदण्ड बनाउनु पर्नेमा जोड दिए । उनले सरकारी तथा निजी दुवै विद्यालयको पढाईको मापदण्ड एकै किसिमको बनाउनु पर्नेमा जोड दिए । त्यस्तै राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदेव देवकोटाले प्राथमिक शिक्षा पाँच कक्षासम्म निःशुल्क हुनु पर्नेमा जोड दिए । उनले भने, ‘निजीको पढाउने तरिका सामूदायिक विद्यालयमा पनि हुनु पर्यो । सबै नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ ।’

देवकोटाले स्थानीय निकायले आफ्नै कानून बनाएको बताउँदै यसले पनि अलि कति भद्रगोल बनाएको गुनासो पोखे । ‘यसमा पहिले क्लियर हुनुपर्यो ।’–उनले थपे । अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तोलाले देशमा लोकतन्त्र, गणतन्त्र आएको र राजनीतिक व्यवस्थामा पनि परिवर्तन आएको तर शिक्षा क्षेत्रमा लोकतन्त्रन आएको आरोप लगाए ।

निजी विद्यालय निर्देशिका र कानूनअनुसार किन चल्दैन् भन्दै उनले प्रश्न समेत तेर्साए । उनले अघि थपे,‘निजी विद्यालयले गरेको ब्रम्हलुटलाई कसले नियन्त्रण गर्ने ? म यही मञ्चबाट सोध्न चाहन्छु।’ उनले निजी विद्यालयहरुले मनोमानी ढंगले शैक्षिक शुल्क तोकिएको, शिक्षा क्षेत्रमा आतंक मच्चाइएको आरोप लगाए । उनले थपे,‘एक क्लासमा पनि एक लाख शुल्क लिईएको छ, यस्था ठाउँमा निरिक्षण गर्नुपर्छ । हामी चुप लागेर बस्दैनौं, शुल्क वृद्धि घटाउनु पर्छ ।’

एन प्यावसनका महासचिव सुवास न्यौपानेले निजी विद्यालयहरु पनि क, ख, ग श्रेणीमा बाँडिएको उल्लेख गर्दै विशिष्ट श्रेणीमा रहेका विद्यालयहरुले चर्को मुल्य लिएकोले त्यस विषयमा गम्भिर बन्न आग्रह गरे । आफूहरु माथि अकुत सम्पत्ति कमाएको भनेर लगाईएको आरोपलाई खण्डन गर्दै न्यौपानले यसबारेमा आफूबाटै छानबिन गर्न चूनौति दिए ।

त्यस्तै कार्यक्रमको सञ्चालक नेविसंघका केन्द्रिय उपाध्यक्ष पुष्प कुमार शाहीले निजी विद्यालयहरुमा चर्को शुल्क वृद्धि भएकोप्रति कडा आपत्ति जनाउँदै शुल्क वृद्धि नघटाए सम्म आन्दोलन नरोकिने बताए । उनले भने,‘हामी त आन्दोलित छौं । हामी विगतमा पनि आन्दोलित थियौं । शिक्षालाई संविधानले पनि मौलिक हकमा राखेको छ, मन लाग्दी गर्न पाईँदैन् ।’

कार्यान्वयनको दिशामा नलगेर निजी विद्यालयहरुले टालटुल गर्ने काम गर्न नहुने शाहीको धारणा थियो । उनले भने, ‘निजी विद्यालयहरुले ७ प्रतिशतदेखि ४८ प्रतिशतसम्म शुल्क वृद्धि गरेका छन्, यसको विरुद्धमा विद्यार्थी संगठनले जेहाद छेडेका छन् ।

उनीहरुले आफ्नो गलतकुर्तत फिर्ता नगरेसम्म हदैसम्मको आन्दोलन गर्छौं, आन्दोलन परिणाममुखी हुन्छ ।’ आफूहरुले कहिल्यै पनि कसैसँग सम्झौता नगरेको भन्दै यस पटक पनि आन्दोलनलाई सफल बनाएरै छाड्ने उनको उद्धघोष थियो ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्