Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले-माओवादी एकता प्रयासमा तिब्रता : हिजोको मिल्न बाँकी विषयमा आज पनि छलफल

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबिच एकताको प्रयासलाई निर्णयमा पुर्‍याउने भन्दै छलफल फेरि सुरु भएको छ । सोमबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच वार्ता भएको हो ।

वैशाख ९ गते औपचारिक रुपमा वाम एकताको घोषणा हुने यसअघि नै दुवै पार्टीले बताएका छन् । तर अहिलेसम्म कुरा मिल्न बाँकी रहेकाले मंगलबार बस्ने एकता संयोजन समितिको बैठकमा टुंगोमा पुर्‍याउने गरी छलफल गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

यसको तयारी स्वरुप एमालेले सोमबार बेलुका अबेरसम्म स्थायी समितिमा छलफल गरेको थियो । त्यसमा नेताहरुले माओवादीले बाहिर आएजस्तो प्रस्ताव गरेको भए त्यसलाई कुनै पनि हालतमा मान्न नहुने बताएको बुझिएको छ ।बालुवाटारमा एकता संयोजन समितिको बैठक बस्ने तयारी रहेको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि लगतै हुने भनिएको छलफल झण्डै एक हप्ता ढिलो गरी सुरु भएको हो ।  रोकिएको छलफल प्रक्रिया सोमबारदेखि सुरु भएको हो । सोमबारको छलफलमा खासै प्रगति नभए पनि मिल्न बाँकी विषयका बारेमा दुई शीर्ष नेताबिच गम्भीर छलफल भएको नेताहरुले बताएका छन् । छलफलले मंगलबार पनि निरन्तरता पाउँदैछ ।  यो बैठकले पार्टी एकतामा गाँठो बनेर बसेका कुरा फुकाउने प्रयास गर्नेछ ।

दुई पार्टी बिच जनयुद्ध र संयोजित पार्टीमा आफ्नो अनुपातसहित चुनाव चिन्हको बारेमा पनि कुरा मिल्न सकेको छैन । एकताको हलो ड्किएको मानिएको पार्टीको आधिकारिक दस्तावेजमा जनयुद्ध शब्द राख्ने वा नराख्ने र केन्द्रीय समिति र पार्टीका अरु निकायमा दुई पार्टीको अनुपात बारे मंगलबारको एकता संयोजन समितिको बैठकमा छलफल हुने बुझिएको छ । सोमबार भएको दुई शीर्ष नेताबिचको छलफलले मंगलबारका लागि एकता संयोजन समितिको बैठक तय गरेको हो ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्