Logo
२ जेष्ठ २०८१, बुधबार
(April 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं : टीकापुर घटना राजबन्दी पीडित परिवार संघले राजनीतिक घटनामा संलग्न भएको आरोपमा थुनिएका दुई नाबालकसहित २६ जनालाई तत्काल रिहाइ गर्न माग गरेको छ ।

यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका संयोजक धनकुमार चौधरीले घटनाबारे तयार पारिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गर्दै भन्नुभयो, “विसं २०७२ भदौ ७ गतेको घटनाका बारेमा सबैले आवाज उठाउँछन् तर भदौ ८ गतेको बारेमा कोही बोल्दैनन्, ८ गते करफ्यु लागेको थियो, प्रहरीकै आडमा छानीछानी थारुका घरमा आगो लगाइयो, लुटपाट गरियो, सम्पत्ति जफत गरियो, थारु चेलीबेटी र श्रीमतीमाथि बदनियतपूर्ण व्यवहार गरियो, यस्तो स्थितिमा पनि मानवअधिकारवादी बोलेनन्, आजको दिनसम्म पनि बोलेका छैनन् ।”

नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरका अध्यक्ष प्रेमवती रानाले टीकापुर घटनाका बारेमा सरकारबाट आधिकारिक धारणा सार्वजनिक नगरिनु दुःखद भएको बताउनुभयो । संघले कैलाली क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई विजयी प्रमाणपत्र प्रदान गर्नुपर्ने, घटनाका आरोपितमाथिको मुद्दा फिर्ता गरी क्षतिपूर्ति प्रदान गर्नुपर्ने, भदौ ८ को दिन तोडफोड र जलाइएका सम्पत्तिको क्षतिपूर्ति प्रदान गर्नुपर्नेलगायत माग गरेको छ । (रासस)

प्रकाशित मिति: Apr 7, 2018

प्रतिक्रिया दिनुहोस्