Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको कडा कदमपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी गाडी चलाउन बाध्य

काठमाडौं : सिण्डिकेट विरुद्ध सरकारले कडा कदम चालेपछि मङ्गलवार र बुधवार सार्वजनिक सवारी साधन बन्द गरेका सिण्डिकेट पक्षधर यातायात व्यवसायीले बिहीवारबाट गाडी चलाउने भएका छन् । मयुर यातायात प्रालिले काठमाडौंको चक्रपथ हुंदै काभ्रेको बनेपासम्म सुविधायुक्त बस चलाएको विरोधमा आन्दोलनमा उत्रिएका कोटेश्वर पूर्वका १३ ओटा बस व्यवसायी विरुद्ध सरकारले कारवाही गर्ने तयारी गरेपछि सिण्डिकेट पक्षधर व्यवसायी आफ्नो निर्णयबाट पछि हटेका छन् ।

कोटेश्वरपूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम तनबासुले तत्कालका लागि व्यवसायीको आन्दोलन स्थगित गरिएको र बिहीवारबाट पूर्ववत अवस्थामा सवारी साधन चल्ने बताएका छन् । उनले चैत २३ गते शुक्रवार यातायात व्यवसायी राष्ट्रिय महासङ्घको प्रदेश ३ को बैठक बस्ने र आन्दोलनको विषयमा जे निर्णय गर्छ सोही बमोजिम अगाडि बढ्ने बताएका छन् ।

व्यवसायीले सार्वजनिक सवारी साधन बन्द गरेर आन्दोलनमा उत्रिएपछि यातायात व्यवस्था विभागले कडा कदम चाल्दै बुधवार कोटेश्वर पूर्व गाडी चलाउने जुनसुकै कम्पनीलाई रुट इजाजत दिने निर्णय गरेको थियो । यो निर्णयसँगै साझा यातायातले बुधवारबाटै धुलिखेलसम्म गाडी सञ्चालन गरेको छ भने मयुर र सिटी मेट्रो यातायातले पनि धुलिखेलसम्म गाडी चलाएका छन् । यो सहित सरकारको आग्रहअनुसार अन्य ८ कम्पनीले बनेपा, धुलिखेल र पनौतीसम्म बस चलाउनका लागि अनुमति माग्न आएको विभागले बताएको छ ।

कोटेश्वर पूर्वमा चल्ने विभिन्न १३ यातायात सेवा समितिले मयुर यातायातलाई दिइएको रुट इजाजतको विरोधमा सार्वजनिक यातायात सेवा बन्द गर्दा सर्वसाधारण यात्रु प्रभावित बनेका छन् । व्यवासायीहरुले सिण्डिकेट लागू गर्न आन्दोलनमा उत्रिएपछि सरकार पनि कडा रुपमा प्रस्तुत भएको थियो । विभागले यो रुटमा गाडी नचलाउने वस व्यवसायीको रुट परमिट खारेज गर्ने प्रक्रिया अगाडि बढाएपछि आन्दोलनरत यातायात व्यवसायी बिहीवारबाट सवारी साधन चलाउन राजी भएका छन् ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्