Logo
२२ बैशाख २०८१, शनिबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटकको मन लोभ्याउन सफल परम्परागत कुडुले घर

पाल्पा जिल्लाको निस्दी गाउँपालिका–३, खादरमा परम्परागत कुडुले घर पर्यटकको मन लोभ्याउन सफल छ ।खरका छाना, एउटा ढोका, एक तलाको घुमारा घर हेर्दा निकै आकर्षित देखिन्छ । दश–पन्ध्र वटा परम्परागत कुडुले घर खादर आसपासका क्षेत्रमा देखिन्छन् ।

आवासका लागि नयाँ बनाउनेले कुडुले घर भने बनाउँदैनन् । कुडुले घर बनाउन कच्चापदार्थको अभाव र छानो हाल्न झन्झटिलो हुँदा घुमारा शैलीका घर बन्न छाडेको स्थानीय बासिन्दा लेखन्त बिसी बताउँछन् ।निस्दी आन्तरिक पर्यटकका लागि नमूना गाउँपालिका रुपमा स्थापित ग्रामीण क्षेत्र हो । निस्दीको मित्यालमा हावाबाट बिजुली उत्पादन, खादरमा कुडुले घर, झिरुवासमा नमूना अम्रिसो खेती अवलोकन गर्न आउने पर्यटकले कुडुले घरप्रति निकै चासो राख्छन् ।

पाल्पाको निस्दी गाउँपालिका, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिकामा प्रशस्त देखिने भए पनि अहिले कुडुले घर औँलामा गन्न सकिने अवस्थामा मात्र रहेको पूर्वखोला गाउँपालिका–२ जल्पाका डोलबहादुर विश्वकर्माको भनाइ छ ।एउटा मात्र ढोका हुने कुडुले घरमा गर्मी याममा शीतल र जाडोमा न्यानो हुन्छ । कुडुले घरमा बस्दा सामूहिक भावना बढी हुने गर्दछ ।

खरले छाएको कुडुले घर भित्र फराकिलो हुने र एकै ठाउँमा सुत्न, बस्न र खाना पकाउनसमेत मिल्ने स्थानीय बासिन्दा मनिसरा ढेँगाले बताए ।पातीले बारेर र लिपेर घुमाउरो बनाउने चलन रहेकामा अहिले ढुङ्गा माटोले पर्खाल उठाउने चलन आएको छ । ग्रामीण क्षेत्रमा यसको महत्व कम भएपनि शहरी क्षेत्रमा भने यसको महत्व बढेको बुढापाका बताउँछन् ।

होटल तथा रिसोर्टमा कुडुले घरका नमूनाहरु देखिन्छ । मेला तथा महोत्सवसमेत कुडुले घरका झल्को हेर्न पाइन्छ । परम्परागत कुडुले घरको संरक्षणका लागि स्थानीय सरकारबाट पहल हुनुपर्ने स्थानीय बासिन्दाको सुझाव छ। रासस

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्