Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऊर्जा प्रविधि सम्मेलन सम्पन्न : ऊर्जा दशक घोषणा गर्न माग

काठमाडौँ :  ‘प्रत्येक घर ऊर्जा घर’ तथा विसं २०७५ देखि २०८५ सम्मलाई ‘नवीकरणीय ऊर्जा दशक’ घोषणा गर्न आग्रह गर्ने सहितका नौवटा सुझावसहित ‘नवीकरणीय ऊर्जा विकास तथा प्रविधिसम्बन्धी’ पाँचौं अन्तर्राष्ट्रिय सम्मेलन आज यहाँ सम्पन्न भएको छ ।

काठमाडौँ विश्वविद्यालयको स्कूल अफ इञ्जिनियरिङको आयोजनामा भएको उक्त सम्मेलनमा विभिन्न २५ मुलुकका ३०० प्राज्ञ तथा विज्ञ सहभागिता रहेको थियो । सम्मेलनमा ऊर्जा क्षेत्रसँग सम्बन्धित १२४ कार्यपत्रमाथि छलफल गरिएको थियो । यसअघिका चारपटक बङ्गलादेशमा सम्पन्न गरिएको थियो ।

नेपालका हरेक घरबाट ऊर्जा उत्पादन गर्न उत्प्रेरणा जगाउन हरेक घर ः ऊर्जा घर भन्ने अभियान आरम्भ गर्न लागिएको र २०७५ लाई नवीकरणीय ऊर्जा वर्ष र २०७५ देखिको १० वर्ष नवीकरणीय ऊर्जा दशकको रुपमा मनाउन सरकार र सरोकारवालाहरुमा उत्प्रेरणा जगाउन सम्मेलन सफल भएको काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका प्रा डा रमेशकुमार मास्केले बताउनुभयो । यस सम्मेलनबाट निस्केको निष्कर्षहरुबाट नेपालको र अन्य मुलुकहरुका लागि अध्ययन–अनुसन्धान गर्न, नीति निर्धारण गर्न र व्यवहारमा उतार्न सकिने उहाँले बताउनुभयो ।

सम्मेलनको क्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र ऊर्जामन्त्री वर्षमान पुनले पनि ऊर्जाका मुलुकलाई आत्मनिर्भर गर्न, स्वदेशमै उपलब्ध नवीकरणीय ऊर्जा प्रविधिको विकास र विस्तार गर्न वर्तमान सरकार हरेक घरलाई ऊर्जा घरको रुपमा विकास गर्न, २०७५ साललाई नवीकरणीय ऊर्जा वर्ष र २०७५ देखि २०८५ सालसम्मलाई नवीकरणीय ऊर्जा दशकको रुपमा मनाउन सकारात्मक रहेको बताउनुभएको थियो ।

नेपालको सन्दर्भमा जलविद्युत नै प्रमुख नवीकरणीय ऊर्जाको स्रोत भएको र सौर्य ऊर्जा वायु ऊर्जा प्रविधिहरु उपयोग गरेर ऊर्जा सुरक्षाका लागि ऊर्जा सम्मिश्रणको अवधारणा अघि बढाउन पनि यस सम्मेलनले सरकारी, निजी क्षेत्रबीच सहकार्य गर्न तथा सरोकारवालाबीच सहयोग, समन्वय अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।

विद्युत्को प्रशारण लाइन अभाव हुन नदिन, अन्तरदेशीय प्रशारण लाइनको विस्तार गरी ऊर्जा व्यापारलाई बढाउन, ऊर्जामा उपयुक्त प्रविधिको विकास गरी चुहावट न्यूनीकरण गर्न, ऊर्जाविज्ञ र उद्योगीबीच सहकार्य गर्न, महिला तथा उपेक्षित समुदायमा ऊर्जाको पहुँच विस्तार गर्ने सुझाव सम्मेलनले दिएको छ ।

जलविद्युत् तथा अन्य वैकल्पिक स्रोतबाट विद्युत् उत्पादन गर्दै खपत बढाउन र आर्थिक समृद्धिको आधार तयार पार्न सरकारले विशेष योजना ल्याउनुपर्ने बताइएको छ । नेपालको सन्दर्भमा जलविद्युत् नै प्रमुख नवीकरणीय ऊर्जाको स्रोत भएको तथा सौर्य र वायु ऊर्जाका प्रविधिको उपयोग गरेर ऊर्जा सुरक्षाका लागि ऊर्जा सम्मिश्रणको अवधारणा अघि बढाउन पनि यस सम्मेलन महत्वपूर्ण भएको विश्वास लिइएको छ ।

खनिज इन्धनबाट निस्कने धुँवा–धूलोका साथै कार्बन उत्सर्जनजस्ता नकारात्मक असरहरु कम गर्न नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरी आम जनतामा स्वच्छ दिगो र भरपर्दो ऊर्जाको पहुँच विस्तार गर्न आवश्यक रहेकामा सम्मेलनले जोड दिएको छ । (रासस)

प्रकाशित मिति: Mar 31, 2018

प्रतिक्रिया दिनुहोस्