Logo
३१ बैशाख २०८१, सोमबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको चन्द्रागिरी क्षेत्रबारे अमेरिकी एड्भाइजी पछि फ्रान्सको प्रतिवाद

काठमाडौं : काठमाडौंस्थित अमेरिकी दूतावासले ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकी पर्यटकलाई चन्द्रागिरी क्षेत्रको भ्रमण नगर्न सचेत गराएको एक सातापछि नेपालस्थित अर्को कूटनीतिक नियोगले त्यसको प्रतिवाद गरेको छ । अमेरिकी दूतावासको ट्राभल एड्भाइजरी उल्लेख नगरी काठमाडौंस्थित फ्रान्सेली दूतावासले समग्र नेपाल विदेशी पर्यटकहरुका लागि खतरामुक्त रहेको बताएको हो ।

फ्रान्सेली दूतावासको आधिकारिक वेबसाइटमा फ्रान्सेली राजदूत इभ कारमोनाले मार्च ७ देखि १७ सम्म सोलुखुम्बुको पदयात्रा गरेको उल्लेख गरिएको छ । वेबसाइटमा राजदूत कारमोनाको सम्पूर्ण यात्रा सुरक्षित रुपमा सम्पन्न भएको र उनले आगामी दिनमा नेपालका अन्य ठाउँहरुमा पनि घुम्ने इच्छा व्यक्त गरेको उल्लेख छ। ‘यात्राका क्रममा ट्रेकिङ सम्बन्धी जोखिम सदैव हुने भन्दै त्यसका लागि आवश्यक सुरक्षा प्रबन्ध गर्नुपर्ने फ्रान्सेली दूतावासको बेवसाइटमा बताइएको छ।’

यस्तै बेवसाइटमा ‘राजदूत कारमोनाले नेपाल मन पराउनेहरुलाई नेपाल आउन र यहाँको अनुभव लिन अपिल गर्दै एकपटकमा नेपाल घुमेर पर्याप्त नहुने बताउँदै फेरि दोहोर्‍याएर नेपाल आउन पनि अपिल गरेको उल्लेख गरिएको छ।’ फ्रान्सेली दूतावासले अमेरिकी दूतावासको एड्भाइजरी मिडियामा सार्वजनिक भएकै दिन नोट जारी गरेको हो।

अमेरिकी दूतावासले मार्च १६ मा ट्राभल एड्भाइजरी जारि गरेको भए पनि मिडियामा बिहिबार मात्र सार्वजनिक भएको थियो। ट्राभल एड्भाइजरीमा दूतावासले चन्द्रागिरी हिल्स केवलकार र काठमाडौं उपत्यकाका अन्य ठाउँहरुमा यात्रा गर्न आफ्ना नागरिकलाई सचेत गराएको थियो।

चन्द्रागिरी हिल्स केवलकार स्थानीयबाट जोखिमपूर्ण रहेको उल्लेख गर्दै आफ्ना नागरिकलाई त्यहाँ जान उसले सचेत गराएको हो। चन्द्रागिरी हिल्सलाई धम्की दिने समूहले स्थानीय र बिदेशी स्कुल सहित काठमाडौंका निजी व्यवसायीलाई अपहरण र भौतिक कारवाही गर्ने धम्की दिएकोसमेत अमेरिकी दूतावासको वेबसाइटमा उल्लेख गरिएको छ।

अमेरिकाले ट्राभल एड्भाइजरी लागू गरेपछि चन्द्रागिरी हिल्सले बुधबार पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई त्यहाँको केवलकार यात्रा गराएको थियो। मन्त्री अधिकारीले बिहीबार पत्रकारहरुसँग चन्द्रागिरीको यात्रा व्यवस्थित र सुरक्षित रहेको बिनाप्रसंग उल्लेख गरेका थिए।

यसअघि माओवादी द्वन्द्वका समयमा ट्राभल एड्भाइजरी जारी गर्ने अमेरिकाले काठमाडौं उपत्यकामा विप्लव समूहद्वारा भएको चन्दा आतंकका घटनापछि एड्भाइजरी जारी गरेको हो।  यसअघि काठमाडौंमा हुने भनिएको भारतीय कलाकार सलमान खानसहितको कन्सर्ट विप्लव समूहको धम्कीपछि स्थगित गरिएको थियो।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्