Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक समृद्धिका लागि धार्मिक पर्यटकको विकास जरुरी : प्रचण्ड

रत्ननगर (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नु जरुरी रहेको बताउनुभएको छ । चितवनको रत्ननगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’को स्वर्ण महोत्सव समारोहको आज समापन गर्दै उहाँले पर्यटनको विकासबिना समृद्धि सम्भव नहुने दाबी गर्नुभयो । उहाँले नेपाल बहुसांस्कृतिक देश भएकाले यहाँका मठ, मन्दिर र महत्वपूर्ण सम्पदाको संरक्षण गर्नु जरुरी रहेको आंैल्याउनुभयो ।

नेपालमा धार्मिक पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै दाहालले यसको माध्यमबाट आर्थिक विकास गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता मठ, मन्दिर, गुम्बालाई पर्यटकीय आर्कषणको केन्द्र बनाउन पहल गर्ने उहाँको भनाइ थियो । नेपाल धर्मनिरपेक्ष राष्ट्र रहेकाले सबै धर्मलाई समानरुपमा हेर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालका कम्युनिष्ट र धर्म मान्नेको एउटै उद्देश्य मानवीय सेवा रहेको भन्दै अध्यक्ष दाहालले आफूहरुले सबै धर्मालम्बीसँग सहकार्य गर्न चाहेकोसमेत बताउनुभयो ।

उक्त मन्दिर पुरानो भए पनि हालै मात्रै करिब रु पाँच करोड लागतमा कलात्मक रुपमा निर्माण गरिएकाले आन्तरिक पर्यटक अवलोकनका लागि गइरहेका छन् । सो अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलकराज शर्माले मन्दिरको सञ्चालका लागि वार्षिक रु १० लाख खर्च लाग्ने बताउनुभयो । एक सातादेखि शुरु भएको स्वर्ण महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति: Feb 24, 2018

प्रतिक्रिया दिनुहोस्