Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतारमा लागेको नाकाबन्दीको सबै भन्दा बढी असर नेपालमा

काठमाडौं : कतारमा छिमेकीहरूले लगाएको आर्थिक नाकाबन्दीले त्यहाँको अर्थतन्त्रमा परेको समस्याको छायाँ नेपालले प्राप्त गर्ने विप्रेषण आम्दानीमा पनि परेको अधिकारीहरूले बताएका छन् । केही समययता कतार जाने नेपाली कामदारको संख्यामा कमी आएको छ । जसका कारण कुनै बेला देश भित्रिने कुल रेमिटेन्स वा विप्रेषण रकममा २२ प्रतिशतसम्म योगदान रहने गरेको कतारको हिस्सा घटेर १५ प्रतिशतमा झरेको अधिकारीहरूले बताएका छन् ।

विगत केही वर्षयता नेपाली कामदारहरूको पहिलो रोजाइको गन्तव्य कतार रहेको थियो ।  तर कतारमा आर्थिक संकट शुरू भए यता त्यहाँ जाने नेपालीको संख्या उल्लेखनीय रूपमा घटेको अधिकारीहरूले बताएका छन् । राष्ट्र ब्यांकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने, “अघिल्लो वर्षको ६ महिनामा कतार जाने नेपालीको संख्या झण्डै ६३ हजार थियो। अहिले त्यो संख्या ५० हजारभन्दा कममा झरेको छ। कतारमा समस्या आएको कारणले यो वर्ष कतार जाने नेपालीको संख्यामा कमी आएको देखिन्छ ।”

कतार जाने नेपालीको संख्या घटे लगत्तै मलेसिया जानेको संख्या बढेको तथ्याङ्कले देखाएको छ । यस वर्ष करिब ६० हजार नेपाली मलेसिया गएका छन् । विगत केही वर्षदेखि कतारबाट प्राप्ट हुने विप्रेषणको आकार बढ्दै गएको थियो । र, यो गत वर्ष करिब एक सय अर्ब रूपियाँसम्म पुगेको थियो । केन्द्रिय ब्याङ्कका अनुसार यस वर्ष त्यो आकारमा वृद्धि हुन सकेको छैन ।  यस्तै समग्र विप्रेषणमा कतारको हिस्सा पनि उल्लेखनीय रूपमा घटेको बताउँछन्, कार्यकारी निर्देशक थापा, “कुनै समयमा २२ प्रतिशतसम्म पनि पुगेको थियो अहिले चाहिँ नेपालले प्राप्ट गरेको रेमिटेन्स आप्रवाहको १५ प्रतिशत योगदान छ कतारबाट प्राप्त हुने विप्रेषणको पोहोर कतार पहिलो स्थानमा थियो । अहिले दोस्रो स्थानमा छ ।”

सबैतिरबाट गरी गत वर्ष ६ खर्ब ९५ अर्ब रूपियाँ रेमिट्यान्स आम्दानी भएको थियो । तर साउनबाट शुरू भएको यस आर्थिक वर्षको पहिलो ६ महिनामा ३ खर्ब २२ अर्ब रूपियाँ मात्र आएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५ प्रतिशतले कम हो । बिबिसी नेपाली

प्रकाशित मिति: Feb 24, 2018

प्रतिक्रिया दिनुहोस्