Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँको शुभकामनापछि ओलीलाई मोदीको फोन, के भने ?

काठमाडौं : चिनियाँ शुभकामना पाइसकेपछि मात्र प्रधानमन्त्री केपि शर्मा ओलीले यसपटक भारतको शुभकामना पाएका छन् । गएराति अबेर नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका हुन् ।

टेलिफोन गरेर मोदीले प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् । फोनमा मोदीले ओलीलाई भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएको प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएको छ। नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि मोदीले व्यक्त गरे ।

जवाफमा ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसँगको मित्रता सुदृढ बनाउन प्रयासरत रहने बताए । यसैगरी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी सफल कार्यकालका लागि शुभकामना दिएकी छिन् । उत्तरी छिमेकी चीनबाट पनि प्रधानमन्त्री ली खछ्याङले ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हाले लगतै बधाइ दिएका छन् ।

प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्ध अझ सुदृढ तुल्याउनुका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने उनले बताए । चिनियाँ प्रधानमन्त्रीले ‘एक क्षेत्र एक मार्ग’अन्तर्गत विविध क्षेत्रमा पारस्परिक लाभका क्षेत्रमा सहयोग गर्ने पनि बताए ।

त्यसैगरी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पनि प्रधानमन्त्री ओलीलाई बधाइ दिँदै देशका निम्ति नेता ओलीले निर्वाह गरेको भूमिकाको नेपाली नागरिकले उच्च मूल्यांकन गरेको बताइन्। दक्षिण एसियाको शान्ति र समृद्धिका लागि प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न उत्सुक रहेको उनको भनाइ छ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्