Logo
२२ बैशाख २०८१, शनिबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तर्वार्ताबाट चुनिए मुख्यमन्त्रीका उम्मेदवार, उपेन्द्रको चौतर्फी प्रशंसा

जनकपुर : नेपालको राजनीतिक इतिहासमै पहिलो पटक संभवत अन्तर्वार्ता र भावि रणनीतिक योजनाका अधारमा मुख्यमन्त्रीका उम्मेदवार तय गरिएको छ । पहिलोपटक मुख्यमन्त्रीको चयन हुनलागिएको प्रदेश नम्बर २ का लगि प्रदेशको सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमले उम्मेदवारको भावी रणनीति सहित राजनीतिक अन्तर्वार्तामा पाइएको नम्बरका अधारमा संसदिय दलका नेता चुनेका हुन । राजनीतिक दलहरुमा प्राय आपसी सहमती तथा निर्वाचन प्रणालीद्धारा संसदीय दलका नेता चुन्ने परम्परा रहि आएको छ, तर फोरमले भने राजनीतिक अन्तर्वार्ता लिदै भावी रणनीतिक योजनाका अधारमा प्रतिष्पर्धाबाट नेता चुनेका हुन् ।

यसका लागि पार्टीको प्रदेश समिति अध्यक्ष रेणु यादवको अध्यक्षतामा प्रदेशका पार्टी मुख्यसचिव शम्भु झा र सचिव शेषनारायण यादव रहेको तीन सदस्यीय नेता छनोट गर्ने समिति नै गठन गरिएको थियो । जसमा मुख्य ‘जर्ज’को रुपमा केन्द्रिय अध्यक्ष उपेन्द्र यादव समेत उपस्थित थिए । सबैभन्दा बढी नम्बर पाएर फोरम संसदीय दलका नेतामा लालबाबु राउत चुनिएका हुन् ।  पुर्व शिक्षामन्त्री समेत रहेकी प्रदेश अध्यक्ष यादवले भनिन् ‘हामिले सबै आकांक्षीको आ–आफना भावी रणनीति सहितको प्रस्तुती सुनियौं, त्यसको नम्बर पनि दियौं र सोही प्रकृयाबाट दलका नेता चुनियौं ।’ उनले भनिन् ‘समिति र ‘जर्ज’को भुमिकामा रहनु भएका केन्द्रिय अध्यक्ष स्वयंबाट राउतले बढी नम्बर पाएका हुन् ।’

उनका अनुसार दलको नेताका लागि राउतसहित विजय यादव, योगेन्द्र राय यादव, कौशलकुमार यादव, शैलेन्द्र साह, सरोज सिंह र प्रल्हाद गिरी गरी ७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । निर्वाचनको प्रक्रिया अगाडि बढिसकेपछि अध्यक्ष यादव सबै उम्मेदवारको प्रोफमेन्सका अधारमा कुनै १ लाई छान्न उक्त समितिलाई निर्देशन दिएका थिए । सहमति हुन नसकेपछि समितिले सबै उम्मेदवारलाई एक÷एक गरि भावी योजना सहित अन्तरर्वर्ता शैलीमा प्रफमेन्स दिन लगाएका थिए ।

प्रतिस्पर्धी उम्मेदवार समेत रहेका सांसद योगेन्द्रराय यादवले भने लोकतान्त्रिक प्रकृया अन्तरगत यो एउटा नयाँ शैलि हो नयाँ जमाना अनुसार फोरमले पनि नयाँ प्रयोग गरेको हो । उनका अनुसार पार्टी अध्यक्ष यादव, महासचिव रामसहाय यादव र पोलिटव्यूरो सदस्य रामस्वार्थ यादवले सबै आकांक्षीलाई पालैपाले बोलाएर अन्तर्वार्ता नै लिएका थिए । मुख्यमन्त्री बनेपछि गर्ने काम, प्राथमिकताहरु, भावि योजनालगायतका प्रश्न सोधेर लिइएको अन्तर्वार्ताबाट राउतलाई छनोट गरिएको हो । ‘पार्टीमा अनुशासन र एकता रहिरहोस् भन्ने सन्देश दिन सकियोस् भनेर पनि हामि निर्वाचनमा नगएको हो उनले भने ‘अहिलेको समय सापेक्ष यो राजनीतिक प्रयोग हो ।

उनले भने हाम्रो समाजमा चरम जातिय राजनीती हुन्छ तर यस प्रणलीबाट नेता चुनिदा हामि एउटा सफल उदहारण बनेका छौं । उनले भने मतदान भएको भए यादव समुदायबाटै दलको नेता चुनिने सम्भावना थियो किनकी, फोरमका २९ प्रदेश सांसदमध्ये १४ त यादव नै छन् । भने केन्द्रिय अध्यक्षदेखि प्रदेश अध्यक्षसम्म यादव नै छन् । पार्टीका उपाध्यक्ष समेत रहेका राउत अब प्रदेश नम्बर २ को मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ । तर राउतलाई दलको नेता बनाउनुका पछाडि वीरगञ्जमा जारी आन्दोलनलाई सम्बोधन गर्ने, पार्टीमा मुस्लिम समुदायको आकर्षण बढाउने अध्यक्ष यादवको स्वार्थ पनि लुकेको स्रोतको दाबी छ । स्रोतका अनुसार अन्य आकांक्षीलाई पार्टी नेतृत्वले प्रदेश सरकारमा मन्त्री बनाउने आश्वासन दिएको छ ।

तर पार्टीमै निर्णायक भूमिकामा रहेको यादव समुदायलाई मिलाएर अघि बढाउने चुनौती भने राउतलाई छ । ‘पार्टी नेतृत्वले गरेको निर्णयलाई नचाहँदा–नचाहँदै पनि सबैले स्वीकार गरेका छन, तर मन्त्रिपरिषद् त्यसअनुरूप समावेशी नबनाइए यादव समुदायको असहयोग तथा पलायन हुनसक्छ,’ एक नेताले भने । प्रदेशसभाको सबैभन्दा ठूलो दल फोरमको संसदीय दलको नेता चुनिएपछि राउत मुख्यमन्त्री बन्ने लगभग निश्चित बनेको हो । फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) सम्मिलित मधेसी गठबन्धनको बहुमत रहेको र दुई पार्टीबीच पहिलोले मुख्यमन्त्री र दोस्रोले सभामुख पाउने गरी सहमति भएको भन्ने चर्चाका बीच मुख्यमन्त्रीमा राउतको सम्भावना प्रबल बनेको हो ।

त्यसो त राजनीतिमा जे पनि हुनसक्छ, तर अन्तिम समयमा कुनै ’उलटफेर’ नभए राउत मुख्यमन्त्री बन्नेछन् । दोस्रो संविधानसभामा संसदीय दलको उपनेता र मधेसी मोर्चाको तर्फबाट तत्कालीन सरकारसँग वार्ता गर्न गठित वार्ता टोलीका संयोजकसमेत रहिसकेका राउत मुख्यमन्त्री बने प्रदेश २ ले पहिलो मुख्यमन्त्री नै मुस्लिम समुदायबाट पाउने छ ।

उता, केहिसमय अघि प्रधानमन्त्री शेरबहादुर भारत गएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खिचिएको रातको एक तस्विर यतिबेला निकै भाइरल भइरहेको छ

उपेन्द्र यादवको चौतर्फी प्रशंसा
यता, फोरममा यादव समुदायले मात्र अवसर पाउने आलोचना खेप्नु परेको अध्यक्ष यादवको आलोचना हुने गरेको थियो । तर यसपटक यो सहित धेरै आरोपहरुलाई अध्यक्ष यादवले एकैपटक जवाफ दिएका छन् । संसदमा समानुपातिक सदस्य र राष्ट्रिय सभामा दलित समुदायलाई सांसद बनाएर प्रशंसा बटुलेका यादवले मुस्लिम समुदायलाई पनि खुशी पारेका छन् । आफ्नो समुदायबाट मुख्यमन्त्री बन्न लागेकाले निकै गौरवान्वित महसुस गरिरहेको राष्ट्रिय मुस्लिम संगठन धनुषाका प्रवक्ता साजिद हुसेनले बताए । तत्कालिन समयमा यादवले परमानन्द झालाई उपराष्ट्रपति बनाएका थिए । केहि दिन अघि मात्र उनले प्रदेश प्रमुखमा अल्पसंख्यक कायस्थ समुदायलाई स्थान दिएका छन् । रत्नेश्वरलाल कायस्थ फोरमकै सिफारिसमा प्रदेश नम्बर २ को प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

२०६३ मा मधेस आन्दोलन गर्दा उपेन्द्रको पार्टीमा विजय गच्छदार, जयप्रकाशप्रसाद गुप्ता, शरतसिंह भण्डारीजस्ता नेता थिए । उनीहरुले छाडेपछि पार्टी यादव समुदायमै आश्रित बन्न पुगेको थियो । तर, अहिले उपेन्द्रले चलाखीपूर्ण ढंगले अन्य समुदायमा पनि पार्टीलाई स्थापित गर्दै लगेका छन् ।

को हुन राउत ?

राउत पर्साको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वा्चित प्रदेश सांसद हुन् । उनी ९ हजार ८ सय ४ मत ल्याएर विजयी भएका थिए । राउतको जन्म पर्साको जगरनाथपुर गाविस –३ (हाल जगरनाथपुर गाउँपालिका– ४) मा १५ असार २०२३ मा सामान्य किसान परिवारमा भएको थियो । उनले गाउँमै रहेको विद्यालयबाट २०४० सालमा प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण गरेका थिए । उनले वीरगञ्जको ठाकुराम बहुमुखी क्याम्पसबाट स्नातक र काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट अंग्रेजीमा स्नातकोत्तर उत्तिर्ण गरेका छन् ।

अध्ययन सकेर वीरगञ्ज फर्किएका राउतले २०५० सालदेखि ठाकुराम क्याम्पसमै अध्यापन गरे । त्यसपछि नगरपालिकामा अधिकृत जागिर खाए । २०५६ मा कानुनमा स्नातकसमेत गरेका राउतको राजनीतिक यात्रा भने २०५८ सालमा उपेन्द्र यादवलाई भेटेपछि शुरु भएको हो । शुरुमा फोरमको पर्सा जिल्ला सदस्यबाट राजनीति शुरु गरेका राउत केन्द्रीय सदस्य, सचिव हुँदै उपाध्यक्ष बनिसकेका छन् ।

प्रदेश २ मा पार्टी संसदीय दलको नेता चुनिएपछि राउत स्वयं पनि आफू मुख्यमन्त्री बन्नेमा ढुक्क छन् । अहिलेको जनादेश राजपा र फोरमले मिलेर सरकार बनाउने भएकाले गठबन्धनबाटै आफू मुख्यमन्त्री बन्ने राउतले बताए । मधेसी गठबन्धनसँग ५४ सांसद छन् । कुल सदस्य संख्या १०७ को साधारण बहुमत भए पनि गठबन्धनबाटै एक सभामुख चुनिने हुँदा बहुमतका लागि थप एक सांसद आवश्यक पर्ने अवस्था छ । त्यसका लागि नेपाल संघीय समाजवादी र स्वतन्त्र सांसदसँग कुराकानी गर्ने उनले बताए । आफू मुख्यमन्त्री बनेमा उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गरेर प्रदेश २ लाई नमुना प्रदेश बनाउने उनको अठोट छ ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्