Logo
२ जेष्ठ २०८१, बुधबार
(January 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पीडकसँग मिलेर पीडितलाई सताएको तथ्य खुलेपछि इन्सपेक्टर ठकुरी हिरासतमा

काठमाडौं । महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक (इन्सपेक्टर) लक्ष्मणसिंह ठकुरी कारबाहीमा परेका छन् । बलात्कार मुद्दामा पीडकसँग मिलेर पीडितलाई सताएको तथ्य खुलेपछि प्रहरी महानिरीक्षकमातहत रहेको उजुरी छानबिन समितिले इन्सपेक्टर ठकुरीलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको हो ।

सो वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारती र इन्सपेक्टर ठकुरीको मिलेमतोमा बलत्कारमा परेकी युवतीलाई नै धम्की दिइएको भन्दै सोमबार नै उजुरी छानबिन शाखामा निवेदन परेको थियो । सोही आधारमा अनुसन्धान गर्दा दोषी पाइएकाले तत्कालै एक्सन लिई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

इन्सपेक्टर सिंहलाई सोमबार प्रहरी प्रधान कार्यालय तानेर नक्सालस्थित एक नम्बर गणमा थुनामा राखिएको छ । कमलादीस्थित ल्यान्डमार्क होटलमा गत बिहीबार राति ४ जनाको समूहले एक युवतीलाई ‘सामूहिक बलात्कार’ गरेको घटनामा दरबारमार्ग प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको तथ्य फेला परेपछि उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले पनि सो घटनाको अनुसन्धान गर्न सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । स्रोतका अनुसार राति आफ्नो केटा साथीसहित होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए । शुक्रबार बिहान करिब ८ बजे उनीहरूले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए ।

युवतीले भने आफू बलात्कृत भएको बताउँदै घर होइन, प्रहरीकहाँ लगिदिन ड्राइभरलाई आग्रह गरेकी थिइन् । केटा साथीसँग होटलमा बसेकी युवती उनकै ३ साथीबाट ‘बलात्कृत’ भएको घटनाको उजुरी नलिई दरबारमार्ग प्रहरीले ‘लेनदेन गरेको’ थियो । ट्याक्सीका चालकले युवतीको अनुरोधपछि उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुर्याइदिएका थिए । स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेपछि युवतीले प्रहरीसामु आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन् ।

घटना सुनेलगत्तै कमलपोखरी वृत्तका प्रहरीले युवतीलाई घटना भएको एरिया हेर्ने महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पुर्याएका थिए । दरबारमार्ग वृत्तका प्रहरीले शुक्रबार बिहानै होटलसम्म पुगेर घटनास्थलको अवलोकनसमेत गरेको थियो । युवतीसहित बसेको कोठामा मदिराका बोतल थिए । तर, प्रहरीले पीडितले दिएको लिखित निवेदन नै दर्ता गर्न मानेन । घटनाको ४ दिनपछि सोमबार मात्रै प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे जानकारी पाएको थियो । उच्च स्रोतका अनुसार बालाजु प्रहरी वृत्तमा दरबन्दी भई दरबारमार्ग वृत्तमा काम गरिरहेका ठकुरी उक्त घटनालाई दर्ता गर्नभन्दा ‘मिलाउन’ तिर लागेको पाइएको थियो ।

स्रोतका अनुसार घटना सार्वजनिक भए सामाजिक अवगाल आइपर्ने र मुद्दामामिलाको झन्झट ब्यहोर्नुपर्ने भन्दै मोटो रकमको आश्वासन दिइएको थियो । युवतीलाई २० लाख रुपैयाँ बराबरको पसल खोलिदिने र ३० लाख नगदै दिने सर्तमा कुरा थामथुम पारिएको थियो । स्रोतका अनुसार उच्च शक्तिकेन्द्रको पारिवारिक सदस्य रहेका एक युवकको पहुँचका भरमा दरबारमार्ग वृत्तले घटना गुपचुप राखेको थियो ।

घटनाबारे वृत्तले तालुकदार निकाय प्रहरी परिसरलाई समेत कुनै जानकारी दिएको थिएन । यही आधारमा घटना थामथुम पारिएको र पैसाको चलखेल भएको भन्ने सूचनापछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान समिति गठन गरेको हो ।समितिमा डिएसपीत्रय बेलबहादुर पाण्डे, शिखर खनाल र वसन्त रजौरे तथा इन्स्पेक्टर अनिल अधिकारी सदस्य छन् । सो घटनामा दोषी देखिएका इन्सपेक्टर ठकुरी महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दका प्रिय पात्र हुन् । चन्दले नै आफ्नो अधिकार प्रयोग गरी बालाजुबाट ठकुरीलाई दरबारमार्ग ल्याएका हुन् ।

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्