Logo
१६ बैशाख २०८१, आईतबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. सन्दुक रुइतलाई भारतको तर्फबाट पद्यश्री सम्मान

काठमाडौं : वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारतले पद्यश्री सम्मान प्रदान गर्ने भएको छ । ६९ औँ गणतन्त्र दिवसको अवसरमा भारत सरकारले नेपालका डा. रुइतलाई शुक्रबार पद्यश्रीबाट सम्मानित गर्ने भएको हो ।पद्यश्री सम्मान भारत सरकाले प्रदान गर्ने फोर्थ हाइएस्ट सिभिलियन अवार्ड हो । पद्यश्री पाउने डा. रुइत दोस्रो नेपाली नागरिक हुने भएका छन् । यसअघि अनुराधा कोइरालाले गएको वर्ष भारतको ६८ औँ गणतन्त्र दिवसको अवसरमा पद्यश्री सम्मान पाएकी थिइन् ।

डा. रुइतले आँखा उपचारमा पुर्‍याएको सहयोगको सम्मानमा उहाँलाई पद्यश्री सम्मान प्रदन गर्न लागिएको भारत सरकारले जनाएको छ । डा. रुइतले कम खर्चमा आँखाको उपचार गर्दै आएका छन् । उनले शुक्रबार भारती राष्ट्रपति रामनाथ कोविन्दको हातबाट सम्मान ग्रहण गर्नेछन् ।

को हुन् डा. सन्दुक रुइत?

 

काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइत लाखौं सर्वसाधारणका आँखाका नानी बनिसकेका छन् । अध्यारो जीवन बाँचिरहेका कयौंका लागि रुइत भगवान हुन् ।  नेत्रचिकित्सक डा. रुइतले सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार प्राप्त गरे।

रुइत यति चर्चित छन् कि, नेत्र  चिकित्सासम्बन्धी कुनै पनि मञ्चमा उनको नाम नआएको हुँदैन । विश्वप्रसिद्ध प्रणालीको विकास गरेर उनले लाखौंलाई मोतिबिन्दुको समस्याबाट मुक्त गराइसकेका छन् ।

उनले विकास गरेको चिकित्सापद्धति ‘रुइतेक्टोमी’ अहिले विश्वका धेरै मुलुकले अपनाउन थालेका छन्। फलेको वृक्षको हाँगो निहुरिन्छ भनेझैं रुइत पनि सरल छन्, असल छन् र कर्ममा विश्वास गर्छन्। शुभदिनसँगको सम्वादका क्रममा डा. रुइतमा देखिएको शालिनताले यसको पुष्टि गर्छ।

ओलाङचुङगोलाबाट दार्जीलिङ हुँदै काठमाडौं

ताप्लेजुङको अन्तिम हिमाली गाउँ ओलाङचुङगोलाको सीमाना चीनसँग जोडिएको छ । ओलाङचुङगोलाबाट जिल्ला सदरमुकाम आउन ५–६ दिन लाग्छ । भौगोलिक रुपमा विकट, तमोरको शिरमा डा. रुइतको जन्म सन् १९५४ को सेप्टेम्बर ४ तारिखका दिन भएको हो । सन्दुकका बुवा सोनाम रुइत र आमा केसाङ रुइत हुन् । उनकी श्रीमती नन्दा रुइत हुन् ।

कखरा एक जना भन्सार कर्मचारीसँग सिकेका डा. रुइतको पढाई उनको गाउँबाट हिँडेर जाँदा १५ दिन लाग्ने भारतको दार्जीलिङबाट अघि बढ्यो। डा. रुइतका बुवा सोनामले दार्जीलिङस्थित सेन्ट रोबर्ट्स स्कूलमा उनको भर्ना गरिदिए। सन् १९६२ मा चीन र भारतबीच युद्ध हुँदा दार्जीलिङमा सञ्चालित स्कुलहरु बन्द हुन पुगे । स्थिति तनावपूर्ण भएपछि रुइतलाई काठमाडौं ल्याइयो। ‘बुवाले अहिलेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा भर्ना गरिदिनुभयो, त्यति बेला वनस्थली स्कुल मात्रै भनिन्थ्यो,’ उनले भने ।

प्रतिभावान रुइतले कक्षा ८ पढेनन् । उनी ७ बाट सिधैं ९ कक्षामा भर्ना भएका हुन् । र, उनले सन् १९७० मा सिद्धार्थ वनस्थलीबाट प्रमथ श्रेणीमै प्रवेशिका परिक्षा एसएलसी पास गरेका हुन् । काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट विज्ञान विषय राखेर प्रविणता प्रमाणपत्र तह (आइएस्सी) पूरा गरे। आइएस्सी सकेपछि कोलम्बो प्लानअन्तरगतको छात्रवृत्तिमा एमबिबिएस पढ्न भारत गए । ‘त्यसपछिको पढाई लखनऊस्थित किङ जर्ज मेडिकल कलेजबाट अघि बढ्यो,’ डा. रुइतले शुभदिनसँग भने। एमबिबिएस पास गरेपछि पनि उनी त्यहाँ अल्मलिएनन्। नेपाल फर्किए। र, वीर अस्पतालमा जनरल फिजिसियन’को जिम्मेवारीमा सेवा सुरु गरे ।

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्