Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुधवारदेखि राष्ट्रिय योग खेलकुद प्रतियोगिता

काठमाडौँ : नेपालमा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय योग खेलकुद प्रतियोगितामा १ सय ५० खेलाडीले भाग लिएका छन् । बुधबारदेखि माघ ५ गतेसम्म सुनसरीको इटहरीमा गरिने प्रतियोगितामा पुरुष र महिला समूह गरी १ सय ५० खेलाडीले भाग लिएको संघका कोषाध्यक्ष एवम् प्रतियोगिता छनोट समितिका संयोजक मणिराज कुँवर ‘योगी शान्तिदूत’ ले जानकारी दिए।

योगलाई खेलकुदसँग जोडेर यसका फाइदाका विषयमा जनचेतना जगाउने उद्देश्यले एक वर्षअघि राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको नेपाल योग खेलकुद संघले प्रतियोगिता आयोजना गरेको हो। परिषदमा दर्ता भएका १७९ मध्ये संघमध्ये योग खेलकुद संघ कान्छो संस्था हो ।

यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई योग भन्ने प्राचीन ऋषि परम्परा रहे पनि आधुनिक समाजमा शारीरिक व्यायाम विशेषलाई मात्र योगको अर्थमा बुझिने गरेको छ। आठवटै चरण योगका अंग भन्ने प्रचारप्रसार गर्न पनि प्रतियोगिता सहयोगी हुने संघले जनाएको छ ।

‘सबै खेलको माऊ योग खेल हो, योग नगर्ने खेलाडी खेल क्षेत्रबाटै वियोग हुन पुगेका घटना छन्, विश्वमा उत्कृष्ट बनेका खेलाडीले योगका आठ अंगमध्ये कुनै न कुनैको सहायता लिएका हुन्छन्,’ उनले भने । आठवटा चरणमा प्रवेश गरेर योग अभ्यास गर्दा व्यक्तिको आचरण र स्वभावमा परिवर्तन हुनुलाई योग भनिन्छ ।

योगलाई स्वास्थ्यसँग जोडेर विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघ लगायतका विश्वव्यापी संस्थाले मान्यता दिएकाले खेलकुदसँग जोडेर पनि प्रचार गर्न खोजिएको आयोजक समितिले जनाएको छ । नियमित योग अभ्यासले शरीर स्वस्थ हुने भएकाले आम मानिसमा यसप्रति सचेत बनाउने उद्देश्य प्रतियोगिताको छ । उमेर समूह अनुसार तीन चरणमा प्रतियोगिता गरिने संघका अध्यक्ष डा सूर्यबहादुर कार्कीले जानकारी दिए ।

पहिलो चरणमा ११ वर्षदेखि १७, दोस्रो चरणमा १८ देखि ४९ वर्षसम्म र तेस्रो चरणमा ५० वर्षभन्दा माथिकाको छुट्टाछुट्टै प्रतियोगिता हुन्छ। प्रतियोगिताका लागि एकल र समूह दुवै तरीकाले भाग लिन सकिने उनले बताए। महिला र पुरुषको पनि छुट्टाछुट्टै प्रतियोगिता आयोजना गरिने छ। प्रतिष्पर्धा उमेर समूह अनुसार नै हुनेछ ।

योग सप्ताहको अवसर पारेर ‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको बुधबार परिषद्का सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्नेछन् । संघले गत वैशाखमा दक्षिण एसियाली योग प्रतिष्पर्धा पनि सम्पन्न गरेको थियो। प्रतियोगितामा दक्षिण एसियाली क्षेत्रका नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी चार देश सहभागि थिए ।

योग भगवान् शिवले शुरु गरेको वैदिक मान्यता छ। भगवान् शिवले पहिलोपटक पत्नी पार्वतीलाई योग शिक्षा दिएको उल्लेख पुराण एवम् धर्मशास्त्रमा गरिएको छ । विश्वमा ३ सय प्रकारका योगका प्रकार प्रचलनमा रहेपनि घेरण्ड ऋषिले ३२ वटालाई बढी प्रचलनमा ल्याएको विश्वास गरिन्छ ।

सरकारले विसं २०७२ देखि राष्ट्रिय योग दिवसको घोषणा गरेको थियो। प्रत्येक वर्ष माघ १ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ। यस वर्ष शिक्षा मन्त्रालयले सप्ताहव्यापी रुपमा दिवस मनाउने निर्णय गरेको छ। माघ ७ गते काठमाडौँमा योगसम्बन्धी गोष्ठी गरिनेछ। (रासस)

प्रकाशित मिति: Jan 16, 2018

प्रतिक्रिया दिनुहोस्