Logo
७ जेष्ठ २०८१, सोमबार
(January 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि जेल हाल्नेसम्मको चेतावनी

काठमाडौं : कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ । एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो ।

निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ। दाहाललाई फकाउन उसले ‘प्रलोभन’ देखाउनेदेखि घुमाउरो शैलीमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को मुद्दा देखाएर खबरदारीसमेत गर्न थालेको छ ।

दाहाललाई कांग्रेसले आगामी पाँच वर्षका लागि प्रधानमन्त्री बन्न ‘अफर’ मात्रै गरेको छैन, द्वन्द्वकालको मुद्दा कांग्रेस-माओवादीले मात्रै टीआरसीमार्फत टुंगो लगाउन सक्नेसम्मको प्रस्ताव पठाएको छ । दाहालले वाम गठबन्धनमै रुचि देखाएमा टीआरसीको मुद्दामा माओवादी नेताहरू अन्तर्राष्ट्रिय अदालतमा तानिने घुमाउरो भाषामा कांग्रेस नेताहरूले प्रेसर दिएको स्रोतले बतायो । दाहाल के गर्दा फकिन्छन्, त्यही अस्त्रको प्रयोग अहिले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले गर्न खोजेको छ । ‘वाम एकता टुटाउन अनेक तिक्डम र प्रयास जारी नै छन्,’ माओवादी केन्द्रका नेता मणि थापाले भने, ‘तर जतिसुकै कोसिस गरे पनि त्यस्तो योजना सफल हुने देखिँदैन ।’

एमाले-माओवादीबीच पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको, नेताहरूको पदीय व्यवस्थापनमा अझै ठोस प्रगति हुन नसकेको र नयाँ सरकार गठनका लागि अझै महिना दिन लाग्ने देखिएपछि लोकतान्त्रिक गठबन्धनले आफ्नो ‘मुभ’ बढाएको हो । एमाले-माओवादीमा देखिएको अलमलमा खेल्न सकिने विश्वासमा लोकतान्त्रिक गठबन्धन देखिन्छ ।

सोमबार मात्रै पनि दाहालको ‘मुड’ बुझ्न र एमालेसँगको गठबन्धन टिकाउ नहुने सन्देश दिन राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो र कांग्रेस सांसद अमरेश सिंह दाहालनिवास खुमलटार पुगेका थिए । दिउँसो ३ बजे महतो र सिंहले दाहालसँग करिब ४५ मिनेट गोप्य वार्ता गर्दै संविधान संशोधन, गठबन्धनलगायत विषयमा धारणा बुझ्ने प्रयास गरेका थिए । कांग्रेस नेताहरूले दाहाललाई फकाउन प्रयास गरिरहेकै बेला सोमबार महतो र सिंह दाहालनिवास छिरेका हुन् ।

यो भेटलाई दाहालको निजी सचिवालयले भने खुलाउन चाहेको छैन तर भेटको पुष्टि राजपा अध्यक्षमण्डलका नेता महतोले गरेका छन् । ‘प्रचण्डजीसँग व्यक्तिगत रूपमा भेट गर्न गएको हुँ,’ महतोले भने । अन्नपूर्ण पोष्टका अनुशार, आइतबार मात्रै पनि कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले माओवादी अध्यक्ष दाहाललाई वाम गठबन्धनबाट अलग्याउनुपर्ने बताएका थिए । उनले पोखराको एक कार्यक्रममा भनेका थिए, ‘दाहाललाई गठबन्धनबाट अलग्याउने कुरा उठेको छ, साथीहरूले कुरा गर्नुपर्‍यो भनेका छन्, म कुरा गर्ने मनिस्थितिमा छु ।’

शशांकले दाहाललाई वाम गठबन्धनबाट अलग्याउन सके मात्रै अहिलेको सन्दर्भमा आफूहरूको रणनीति सफल हुने जिकिर गरेका थिए । त्यसको भोलिपल्टै काग्रेस सांसद सिंह र महतो दाहालनिवास पुग्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

यसैबीच, नागरिक दैनिकमा प्रकाशित खबर अनुशार, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त, सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ । पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्नेदेखि एमालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले अपनाउँदै आएको ‘माओवाद’ दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषयसम्ममा छलफल सुरु भएको छ ।

एमाले उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद र माओवाद दुवैलाई तत्काल थाती राखेर नयाँ सैद्धान्तिक नीति बनाउनुपर्ने प्रस्ताव अघि सारिसकेका छन् । एमालेको ‘जबज’ ले अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा शान्तिपूर्ण तथा लोकतान्त्रिक विधिसहित गरिने क्रान्ति र माओवादीको ‘माओवाद’ ले पनि अर्धसामन्ती–अर्धऔपनिवेशिक मुलुकमा गरिने सशस्त्र क्रान्तिको कल्पना गरेकाले यी दुवैको कार्यभार सम्पन्न भइसकेको उनको विश्लेषण छ ।

हाल मुलुक अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा नभएको र जनवादी क्रान्ति चरण पूरा भएकाले अबको सिद्धान्त ‘राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको यात्रा’ हुनुपर्ने भुसालको नयाँ प्रस्ताव छ । यसमा नारायणकाजी श्रेष्ठलगायतका माओवादी नेताले पनि समर्थन जनाउन थालिसकेका छन् ।

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्