Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयुक्त सरकार त्यसपछि फोरम-राजपा एकिकरण हुन्छ : राजेन्द्र महतो

नागरिक टाइम्स, काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रदेश नम्बर दुईमा राजपा फोरमको संयुक्त सरकार गठन हुने बताएका छन् । उनले संयुक्त मधेश गठबन्धनको सरकार बनिसकेपछि राजपा नेपाल र संघिय समाजवादी फोरमबीच पार्टी एकता पनि हुने बताए । उनले मधेसी जनताको भावनाअनुसार नै गठबन्धन गरिएको र यसपछि दुवै पार्टी एक पनि हुने बताए ।

नागरिक टाइम्ससंगको विषेश कुराकानीमा उनले अर्को दुई पार्टी एक भएर प्रदेश नम्बर १ र ५ मा पनि अर्कोपटक सरकार बनाउने बताए । यसपटक त हामिले प्रदेश नम्बर २ बाट सुरुवात गर्देछौं अर्कोपाली अन्य प्रदेशमा पनि हाम्रो सरकार हुने छ । उनले मधेसका जनताले दुबै दललाई मिलेर जान आदेश दिएकाले फोरमसँगको गठबन्धन जारी रहने बताए । उनले निर्वाचनलाई पनि आफूहरुले आन्दोलनकै रुपमा लिएको र परिणाम अपेक्षाकृत भएको बताए ।

‘जहाँजहाँ मधेस आन्दोलनमा जनता धेरै सहभागी भएका थिए, त्यहाँत्यहाँ नतिजा हाम्रो पक्षमा आएको छ,’ महतोले भने, ‘आन्दोलन कमजोर भएको ठाउँमा हारे पनि हामी सन्तुष्ट छौं ।’ उनले एमाले र माओवादी गठबन्धनको सरकारमा सहभागी हुने विषयमा भने कुनै छलफल नभएको बताए । ‘उहाँहरु नै पर्याप्त हुनुहुन्छ, हामी चाहिएजस्तो लाग्दैन,’ महतोले भने, ‘सरकारमा आउनुस् भन्नुभयो भने पहिला हामी संविधान संशोधनको कुरा राख्छौं, त्यसलाई उहाँहरुले कसरी लिनुहुन्छ, धेरै कुरा त्यसैमा भर पर्छ ।’

प्रदेश नम्बर २ का ६४ सिटमा फोरम र राजपाले २० र १५ सिट जितेका छन् । समानुपातिकमा राजपा दोस्रो भएको छ भने फोरम तेस्रो स्थानमा छ । प्रतिनिधि सभामा राजपा ११ सिट जितेको छ भने फोरम १० सिटमा विजयी भएको छ ।

प्रकाशित मिति: Dec 19, 2017

प्रतिक्रिया दिनुहोस्