Logo
१३ बैशाख २०८१, बिहीबार
(December 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलहरुको सिट संख्या टुंगो लाग्न अझै १५ दिन लाग्ने

काठमाडौं : निर्वाचन आयोगले १५ दिन भित्र दलहरुको सिट संख्या तोक्ने तयारी गरेको छ । प्रतिनिधि र प्रदेश सभाका सबै क्षेत्रको समानुपातिकतर्फको मतगणना सकिएपछि पनि दलहरुले प्राप्त गर्ने सिट संख्याको टुंगो लगाउन कम्तीमा १५ दिन लाग्ने र सो अवधीमा तोक्ने तयारी भएको आयोगले जनाएको छ ।

दलहरुले प्रचलित नियम कानून विपरित बढी समय लिएमा आयोग आफैंले दलहरुले पेश गरेको सूचीको प्राथमिकता क्रम मिल्ने गरी अन्तिम नाम सार्वजनिक गर्नसक्ने विज्ञको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगणना सकिएलगत्तै शुरु भएको समानुपातिक तर्फको मतगणना अझै जारी छ ।

निर्वाचन सम्बन्धी नियमावली र ऐन अनुसार मतगणना सकिए लगत्तै ३ प्रतिशत थ्रेसहोल्ड वा न्यूनतम मतपरिमाण पार गर्ने राष्ट्रिय दलहरुले प्राप्त गरेको मतपरिणामलाई भाजक सूत्रद्वारा प्रत्येक दलले प्राप्त गर्ने सिट संख्या थाहा हुने निर्वाचन आयोगका अधिकारीले जनाएका छन् ।

दलले सूची पेश गर्दा दलित, महिला, मुस्लिम लगायतको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतका कारणले लिने समयबारेमा निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘तथ्याङ्क एकीकृत गर्नुपर्यो, विवरण मिलाउनु पर्यो, कुन दलले कति सिट पाए भनेर सेन्ट लग मत विभाजक सूत्रबाट भाग लगाईदिन्छौं, अनि दलहरुलाई केही समय दिएर अन्तिम नाम पठाउन भन्छौं, त्यसो भएको हुनाले १५ दिन त न्यूनतम लाग्छ ।’

१६५ निर्वाचन क्षेत्रबाटै सम्बन्धित निर्वाचन अधिकृतले प्रतिनिधि र प्रदेश सभाको छुट्टाछुट्टै तथ्यांक पठाउनेछन् ।
त्यसमा रहेका कूल सदर मतसंख्याको अनुपातमा विभाजक सूत्रको आधारमा निर्वाचित हुने संख्या निर्धारण गरिने आयोगले जनाएको छ । दलहरुले प्राप्त गर्ने सिट संख्या बाँडफाँट गर्दा कुनै सिटका सम्बन्धमा एक भन्दा बढी दलको बराबर भागफल आएमा गोलाप्रथाद्धारा तीमध्ये कुनै एकदललाई सिट दिनसक्ने कानूनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति: Dec 16, 2017

प्रतिक्रिया दिनुहोस्