Logo
५ जेष्ठ २०८१, शनिबार
(December 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साहसिक कार्य : पर्वतारोहणमा महिलाको आकर्षण

काठमाडौं  : पछिल्लो समय साहसिक कार्य मानिने पर्वतारोहणमा महिलाको आकर्षण बढ्दो छ । सन् १९७५ मा जापानी नागरिक जुन्को तावेई पहिलो महिला आरोही बनेकी थिइन् । त्यसपछि २०५० वैशाख १० मा पासाङल्हामु शेर्पाले पहिलो पटक सगरमाथाको आरोहण गरी नेपाली महिलाको झन्डा फहराइन् । संखुवासभामा जन्मिएकी लाक्पा शेर्पाले दोस्रो महिला सगरमाथा आरोही मात्र नभएर आठ पटक सगरमाथाको सफल आरोहीसमेत बनिन् । यो क्रम दिनहुँ बढ्दो छ ।

सन् २०१८ मा १३ जना नेपाली महिला सगरमाथाको आरोहण गर्ने तयारीमा जुटेका छन् । ६ हजार अग्लो हिमाल आरोहण गरिसकेपछि मात्रै नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति दिन्छ, यो सर्त उनीहरूले पूरा गरेका छन् । महिलाप्रतिको पुरातन सोचलाई परिर्वतन गर्न सगरमाथा आरोहण गर्न खोजेको बताउँछिन् फोटो पत्रकार पूर्णिमा श्रेष्ठ । ‘महिलालाई हेरिने पुरानो मान्यतालाई हामी भत्काउन चाहन्छौं ।’ उनले भनिन् । उनले यसै वर्ष मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छिन् ।

६ जनाको अर्को महिलाको टोली पनि सगरमाथा आरोहण गर्ने अन्तिम तयारीमा छन् । उनीहरूले भर्खरै गौरीशंकर हिमालको सफल आरोहण गरेका छन् । यस आरोहण दलमा काभ्रे भीमखोरी- ३ की शर्मिला लामा, सोलुखुम्बु चौरीखर्क-९ कि लाक्पा याङजी शेर्पा, सोलुखुम्बु तामाखानी- ९ की याङडी शेर्पा छन् । त्यस्तै दोलखा गौरीशंकर २ की छोकी शेर्पा, सोलुखुम्ब चौरीखर्क- ४ कि पासाङ ल्हामु शेर्पा र दोलखा गौरीशंकरकी दावादिकी शेर्पा पनि टोलीमा छिन् ।

दिमाग खियाउँदै कलम चलाउनु जस्तो छैन पर्वतारोहण गर्नु । शारीरिक रूपमा कठिन मानिन्छ यो । तर, उनीहरू पुरुषसरह हिमाल चढ्न महिला पनि सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गर्न चाहन्छन् । ‘काम गर्ने दक्षता हामीसँग पनि छ । त्यही सोचले हामी आरोहणमा जुटेका हौं ।’ सन् २०१८ मा सगरमाथा आरोहणको तयारीमा जुटेकी पत्रकार डोमा शेर्पाले बताइन् ।

सन् १९५३, मे २९ का दिन तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक एड्मन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपश्चात् हिमालमा मानवीय सम्बन्ध जोडिएको हो । सन् २०१६ सम्मको तथ्यांकलाई हेर्दा चार हजार आठ सय ७९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । महिला पत्रकार टोलीले याङ्लुङ र राम्दुङ हिमालको सफल आरोहण गरेका छन् । पत्रकारहरू रोशा बस्नेत, रोजिता वज्राचार्य, कल्पना महर्जन, देउराली चाम्लिङ र प्रिया लक्ष्मीले मंसिर १५ गते आरोहण गरेका हुन् । यी टोलीले पनि सन् २०१८ मा सगरमाथा आरोहणको तयारी पूरा गरेका छन् ।

गत महिना मनास्लु हिमालको सफल आरोहण गरेकी गोरखा आरुघाटकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्म नेपालको स्माइल फोटो प्रदर्शनी गर्ने तयारीसमेत गरेकी छिन् । महिला पत्रकार टोलीले समाजको विकृति विसंगतिविरुद्ध चुचुरोमा पुगेर सन्देश दिने लक्ष्य राखेको छ । पत्रकारिता जगतले पनि लैंगिक समानतालाई समानरूपमा अघि बढाउनुपर्ने उनको जोड छ । त्यसलाई आरोहणपछि अझ सशक्त तुल्याइने पत्रकार देउराली चाम्लिङले बताइन् ।

 

प्रकाशित मिति: Dec 15, 2017

प्रतिक्रिया दिनुहोस्