Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झाँडीदेखि सीमासम्म नेताको दौड : पार्टी भन्दा नी जातीबीचको भिडन्त बलियो !

  • राजेन्द्र पोखरेल,

इनरुवा : सुनसरीको चारकोशे झाँडी तरहरा जङ्गलदेखी नेपाल भारत सीमा क्षेत्र कप्तानगञ्ज कौवाखौजसम्म भुगोल रहेको सुनसरी निर्वाचन क्षेत्र नं २ बहुजातीय, सम्प्रदाय समाजका मतदाताहरु रहेकाले यस क्षेत्रको निर्वाचनको नतिजा रोमाञ्चक हुने देखिएको छ ।

सुनसरीको तरहरादेखी यस क्षेत्रमा राई, लिम्बु, गुरुङ्ग, नेवार, सन्यासी, थारु, क्षेत्री, बाहुन, सतार, मुसहर, सरदार, झाँगड, बातर, यादव, मेहता, साहु, मारवाडी, मुस्लिमलगायत समुदायको बसोबास रहेको छ । यस निर्वाचन क्षेत्रमा कुनै एक जातिको बहुमत जनसंख्या नरहे पनि उत्तरतर्फ थारु र दक्षिणतर्फ मेहता समुदाय बाहुल्यता रहेकाले यि समुदायहरुको मतदानमा निर्णायक भुमिका हुने देखिएको छ ।

समुदायका अगुवाहरुको सल्लाह र निर्देशमा मतदान गर्ने परम्परा रहिआएकाले थारु र मेहता समुदायको मत कुन उम्मेदवारहरुलाई जान्छ त्यही उम्मेदवार जितको नजिक जाने सम्भावना रहेकाले मुख्य प्रतिष्पर्धी नेकपा एमाले र नेपाली कांग्रेस जातिगत मत आफु तर्फ तान्न बिभिन्न खाले चुनावी रणनीतिमा लागेको देखिन्छ । शहरी र ग्रामीण दुबै क्षेत्र रहेकोमा शहरी क्षेत्रका मतदाताहरु उम्मेदवार र राजनीतिक दलको मुद्दा हेरेर मतदान गर्ने सोचाईमा रहेका छन ।

हुने खाने र मध्यम वर्गका मतदाताहरुले उम्मेदवारहरु प्रति प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चर्को आलोचना गर्दै अन्तिम समयमा आस्था अनुसारको मत दिने गरेकाले यि मतदाताहरु बसोवास रहेको वस्ती समुदायको मतमा यसअघि प्राप्त गर्दै आएको मतमा त्यती धेरै फरक नपर्ने हुनाले सबै दलले त्यहाँ आफ्नो स्पष्ट आकलन गरेका छन ।

ग्रामिण क्षेत्रका मतदाता मुसहर, झाँगड, बातर, सतारलगायतका मतदाताहरु स्थानीय अगुवाको आश्वासन राजनीतिक दलको चुनावी भोज भतेर, खर्चपानीको स्तरअनुसार मतदान गर्ने परम्परा यस क्षेत्रमा रहि आएको छ ।जसका कारणले उनीहरु मसल र मनिले प्रभाव पार्न सक्नेतर्फ जाने अवस्था रहेको छ । यसमा कुन दल अगाडि हुन्छ उसैको पक्षमा यी मत जान सक्ने स्थिति छ ।

निर्णायक दिन आउनु पुर्व चुनावको दुई दिन अगाडि देखी रातीको समयमा हुने धनवर्षा को प्रतिष्पर्धा दक्षिण क्षेत्रका वस्तीहरुमा पकड जमाउने मुख्य चुनावी रणनीति हुँदै आएको छ । यस समयमा दलित गरिव तथा बिपन्न समुदायका सवै वस्तीहरुमा धन र डनको परिचालन गर्न दलका उम्मेदवारहरुले सवै शक्ति लगाउने गरेकाले यी दुई रात सुनसरीको यस क्षेत्रमा विशेष चुनावी प्रचार प्रसार हुने गरेको छ ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले निवर्तमान सासद सिताराम मेहता र वामगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्मरु सुवेदी हिमाल, सङ्घीय समाजवादी फोरमका तेज नारायण चौधरी, राजपा नेपालबाट पूर्व जिविस सभापती स्व अरविन्दप्रसाद मेहताकी श्रीमती मुन्नादेवी मेहता प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

संघीय समाजवादी फोरम नेपाल र राजपाका उम्मेदवारहरुको खासै चुनावी प्रतिष्पर्धा नभए पनि एमाले र कांग्रेसका उमेदवारहरु विच भने कडा प्रतिष्पर्धा हुने निश्चित रहेको छ । स्थानीय तहको निर्वाचनमा देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिकामा जित पारेको नेपाली कांग्रेसले रामधुनी नगरपालिकामा मेयर पदमा समेत जित हासिल गरे पनि कार्यपालिकामा बहुमत हात पार्न सकेको थिएन ।

रामधुनी नगरापालिकामा बहुमत प्राप्त गर्न नसकेको नेपाली कांग्रेसले इनरुवाका १ २ ७ ८ नं वडा मात्र जित हासिल गरी कार्यपालिकामा बहुमत ल्याउन सकेन । इटहरी उपहानगरनगरपालिकामा जित हासिल गरेको एमालेले रामधुनी नपामा अन्र्तघातको शिकार बन्न पुगेकाले यस पटक स्थानीय तहको अन्र्तघातलाई व्यवश्थापन गर्न नसकेको अवश्थामा त्यो क्षेत्र बामगठबन्धनको लागि समस्याको विषय बन्ने देखिएको छ ।

नेकपा एमालेले आफ्नो पकड रहेको क्षेत्रमा पार्टी केन्द्रले कमजोर संगठन भएको माओवादीलाई गठबन्धन सुम्पिएको भन्दै कार्यकर्ता र परम्परागत मतदाताहरु सन्तुष्ट भएर चुनावी माहौलमा सामेल हुन सकेका छैनन् । माओवादीका उम्मेदवार यस क्षेत्रमा नयाँ अनुहार भएकाले मतदाताहरु उनी प्रति खुलेर प्रतिक्रिया दिने स्थितिमा पुगिनसकेको पाइन्छ ।

एमालेका कार्यकर्ताहरुले माओवादी उम्मेदवारलाई क्षेत्रमा परिचित गराउन र आफ्ना समर्थकहरुलाई उनका पक्षमा माहौल तताउन कुनै रणनीति नबनाएकाले चुनावी अभियान उनको पक्षमा फितलो देखिएको छ । नेपाली कांग्रेसबाट पनि यस पटकको निर्वाचनमा धेरै आकांक्षीहरु रहेका थिए । ति मध्ये जिल्ला सभापति राजिव कोइराला प्रतिनिधि सभा सदस्य उम्मेदवार हुने प्रायः निश्चित भई जातीय सन्तुलन मिलाउन दक्षिण क्षेत्रबाट मधेशी समुदायका नेता रामप्रसाद मेहतालाई प्रदेशसभाको उम्मेदवार बनाउने तयारी गरिएको थियो ।

तयारी विपरित पार्टी केन्द्रको निर्णय आएकाले विगतमा इनरुवा नपाको मेयर जिल्ला समन्वय समितिको सभापति लगायतको पद त्याग गरेका रामप्रसाद उमेर हदका कारण अर्को पटक हुने चुनावमा उम्मेदवार बन्न पाउने सम्भावना कमजोर हुने देखे पछि उनी नेपाली काग्रेसको जिम्मेवारी छाडेर एमालेबाट प्रदेशसभाको उम्मेदवार बन्न पुगे ।

प्रदेशसभामा सिफारिस नभएका जिल्ला सभापतिलाई पार्टी केन्द्रले उम्मेदवार बनाउँदै दौडमा कमजोर रहेका सिताराम मेहतालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि राजिव कोइरालाका लागि उम्मेदवार त्याग गर्ने नेता कार्यकर्ताहरु यस पटक उनको उम्मेदवारी नभएकाले सिताराम मेहताको पक्षमा सक्रिय पूर्वक खुलेर चुनावी माहौल बनाउन मैदानमा उत्रिएका छैनन् । उत्तर तिरका मतदाताहरु माँझ गाढा परिचय नभएकाले सिताराम मेहतालाई वामगठबन्धनका उम्मेदवारसँग सहज प्रतिष्पर्धा गर्न कठिन हुने देखिएको छ ।

अघिल्लो निर्वाचनमा उनले मधेशी समुदायका मतदाताहरु समक्ष गरेको प्रतिवद्धता पुरा नगरेको, पार्टी भित्र देउवा गुटको मात्र नेता भएको, निर्वाचन क्षेत्र विकास कार्यक्रममा अपेक्षा विपरित योजनाहरु संचालन गरेको, आफ्नै समुदायका अगुवाहरुलाई वेवास्ता गरेको लगायतका असन्तुष्टी उनी प्रति कार्यकर्ताहरु तहमा रहेकाले सिताराम मेहताको अवस्था समेत सहज देखिदैन ।

यद्यपि सुनसरीको दक्षिणवर्ति क्षेत्रमा बामगठबन्धनको संगठन कमजोर रहेको र मेहता समूदायको भएकोले उनलाई केही फाईदा भने हुन सक्ने देखिन्छ । यद्यपी सुनसरीको राजनीतिमा दह्रो प्रभाव राखेका अरबिन्द प्रसाद मेहताकी श्रीमति मुन्नदेवी मेहता मधेस केन्द्रीत दल राजपाबाट उम्मेदवार बनेकोले उनले पनि आफ्नो पतिप्रतिको सद्भाव, मधेस आन्दोलनको सेन्टिमेन्ट, राजपाको सांगठनिक प्रभावका कारण उनी शसक्त प्रतिद्धन्दी बन्ने देखिएको छ ।

प्रदेशसभाका लागि मुख्य प्रतिष्पर्धीका रुपमा रहेका एमाले र कांग्रेसले उठाएका उम्मेदवारहरु मध्ये यसपटक क क्षेत्रमा कडा प्रतिष्पर्घा हुने देखिएको छ । दुबै इटहरीका स्थानीय भएकोले इटहरीको मत उनीहरुको लागि निर्णायक हुने छ । आदिवासी जनजाति समुदायको बाहुल रहेको सो भुगोलमा एमालेबाट जनजाति उम्मेदवार सर्वध्वज साँवा उम्मेदवार छन भने कांग्रेसबाट हेमकर्ण पौडेल उम्मेदवार छन । जनजाति बाहुल्य रहेकोले साँवाको पक्षमा थोरबहुत सद्भाव जाने सम्भावना पनि छ ।

क्षेत्र ख मा एमालेका उम्मेदवार रामप्रसाद र नेपाली कांग्रेस उम्मेदवार कोइरालाविच हुने प्रतिष्पर्धा रोमाञ्चक हुने देखिएको छ । मनोनयन दर्ताका अघिल्लो दिनसम्म एकै दलमा रहेका यि उम्मेदवारहरुका पक्षमा कांग्रेसका मतदाताहरु विभाजित हुने स्थिति रहेकोले भिडन्त दिनप्रतिदिन रोमाञ्चक बन्दो छ ।

कांग्रेसले आफ्नो परम्परागत मतदातालाई विश्वासमा लिएर जोगाउन सके उसको पल्ला भारी हुने स्थिति छ भने इनरुवादेखि दक्षिणको मत जातीयताको आधारमा विभाजित भए मेहताको स्थिति बलियो हुने स्थिति छ । यो क्षेत्रमा मधेशी मतदाता निर्णायक हुने भएकाले दक्षिण तर्फका मतदाताहरुले पार्टी वा जाती के रोज्छन त्यसमा कुनै एक उम्मेदवारको भविष्य निर्धारण हुने छ ।

अर्कोतर्फ मेहता भर्खरै एमालेमा प्रवेश गरेकोले एमालेका कार्यकर्ताभित्र रहेको असन्तुष्टी, नवआगन्तुकलाई एमाले मतदाताले गर्ने विश्वासले पनि मेहताको जित र हारमा ठूलो अर्थ राख्ने स्थिति छ । गत स्थानीय तहको निर्वाचनमा सुनसरी २ बाट मोटामोटी रुपमा नेपाली काङ्ग्रेसले २७ हजार ८ सय ५९, नेकपा एमालेले २८ हजार ९ सय ४०, माओवादी केन्द्रले ४ हजार ६ सय ३९, नयाँ शक्तिले ४ सय ४, राप्रपाले १२ सय ७६, फोरम लोकतान्त्रिकले ५ हजार ७ सय २८ र सङ्घीय समाजवादी फोरमले ४ हजार ६ सय २२ मत पाएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३३ हजार ६ सय ७९ मत छ । यस्तै नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत मिसाउँदा ३३ हजार ५ सय ८७ मत हुन्छ । यहाँ राप्रपाले पाएको १२ सय ७६ र नयाँ शक्तिले पाएको मत नेपाली काङ्ग्रेसमा मिसाउने हो भने वाम गठबन्धन भन्दा नेपाली काङ्ग्रेस १५ सय ८८ मतले अगाडि देखिन्छ । यसआधारमा यहाँ वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच कडा टक्कर पर्ने स्थिति छ । सुनसरी क्षेत्र नं.२ मा १ लाख ३० हजार ३ सय ७० मतदाता रहेका छन् ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्