Logo
२४ बैशाख २०८१, सोमबार
(August 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा पनि एमाले पहिलो पार्टी बन्छ : ईश्वर पोख्रेल

एमालेका महासचिव ईश्वर पोख्रेलले असोज २ मा हुने तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा सबै भन्दा बढी सिट जितेर प्रदेश नम्बर २ मा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

यसअघि सम्पन्न पहिलो र दोस्रो चरणको निर्वाचनमा ६ वटा प्रदेशमा एमालेले शान्दार जित हात पारिसकेको भन्दै उनले भने ,‘अब प्रदेश नम्बर २ मा पनि अन्य दलहरुले जस्तो सुकै गठबन्धन वा महागठबन्धन बनाए पनि एमालेलाई कुनै फरक पर्नेवाला छैन, यो प्रदेशमा पनि एमाले नै पहिलो पार्टीका रुपमा स्थापित हुने निश्चित छ, कसैले शंका नगरे हुन्छ।’

एमाले केन्द्रीय कार्य समितिले प्रदेश नम्बर २ को निर्वाचनका लागि पर्सामा खटाएका महासचिव पोखरेलले मधेसमा विभिन्न पक्षले एमालेलाई मधेस विरोधी दल भनेर भ्रम छरेको भए पनि मधेसी जनता उक्त भ्रममा नरहेको र एमालेको पक्षमा अडिग रहेकाले प्रदेश नम्बर २ मा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।

वीरगन्जमा मङगलबार प्रेस चौतारी नेपालले गरेको प्रदेश नम्बर २ को विस्तारित बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले तराई मधेमा एमाले पार्टीमा प्रवेश गर्ने लहर नै चलेको बताए ।

मधेस र मधेसी जनताको विरोधमा एमाले कहिल्यै पनि नरहेको भन्दै उनले भने, ‘एमाले तराई मधेसमै जन्मिएको हो, यही हुर्किएको हो, त्यसैले एमालेले सदैव मधेस र मधेसीको जनताको पक्षमा काम गर्दै आएको छ।’

नागरिकताको सवालमा मधेसका नेपाली जनता सबै भन्दा बढी संवेदनशील रहेको जिकिर गर्दै एमाले महासचिव पोखरेलले मधेसमा देखिएको नागरिकताको समस्या सामधानका लागि एमाले गम्भीर ढंगले लागेको र यो समस्याको सामाधान एमाले नै गर्ने दाबी गरे ।

नागरिकताको सवालमा अहिलेको संविधान अत्यन्त उदार रहेको बताउदै उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रदेश प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतका पदमा भने अंगीकृत नागरिकलाई आसीन गराउने पक्षमा एमाले नरहेको स्पष्ट पारे ।

प्रकाशित मिति: Aug 1, 2017

प्रतिक्रिया दिनुहोस्