Logo
५ जेष्ठ २०८१, शनिबार
(July 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण नागपञ्चमी र जनैपूर्णिमा आज एकै दिन

हिन्दुपञ्चांग चन्द्रमा र सूर्यको स्पष्ट गणनाको आधारमा निर्माण गरिएको हुन्छ । अर्थात् हिन्दुहरू चन्द्रमा र सूर्य दुवैलाई उत्तिकै महत्व दिई आफ्ना चाडपर्वहरू निर्धारण गर्ने गर्छन् । मुसलमानहरू चन्द्रमालाई मात्र महत्व दिई आफ्ना चाडपर्व निर्धारण गर्ने गर्छन् भने इसाईहरू सूर्यको गणनालाई मात्र महत्व दिई आफ्ना चाडपर्वहरू निर्धारण गर्ने गर्छन् । यसरी प्रत्यक्ष देखिने र प्रभाव जमाउन सफल दुई खगोलीय पिण्डलाई उत्तिकै महत्व दिने हिन्दुहरू मात्र समन्वयकारी बन्न सक्ने हुन् कि भन्न सकिन्छ ।
jayantवैशाख १ गते विषुवद दिन, आसार १५ गते दहीचिउरा खाने चाड, साउन १ गते लुतो फ्याँक्ने चाड तथा माघ १ गते घिउचाकु खाने चाड सूर्यको गणनाअनुसार मनाइने चाड हुन् भने नागपञ्चमी, ऋषितर्पणी (जनैपूर्णिमा), तीज, पञ्चमी, दसैं, तिहार आदि चाडपर्व चन्द्रमा र सूर्यको गणनाका आधारमा मनाइने चाडपर्वहरू हुन् ।

-जयन्त आचार्य

हाम्रो समाजमा तिथिका आधारमा चाडपर्व श्राद्घ आदि निर्धारण गर्ने गरिन्छ । तिथि भनेको चन्द्रमा र सूर्यबीचको कोणीय अन्तर हो । चन्द्रमा र सूर्यबीचको कोण १८० डिग्री बन्न पुग्यो भने पूर्णिमा तिथि बन्न जान्छ । शून्य डिग्री भए औंसी तिथि हुन्छ । यस हिसाबबाट विचार गर्दा सूर्य र चन्द्रमाबीचको कोण १२ डिग्री भए एक तिथि बन्न जान्छ ।
यस वर्ष २०७४ सालका पात्रोहरूमा नागपञ्चमी र जनैपूर्णिमा एकै दिन राखेर छापिएको पाइयो । नागपञ्चमी र जनैपूर्णिमा एकै दिन पर्न सक्छ ? साधारण मानिसमा यस्तो प्रश्न जन्मिनु स्वाभाविक हो । मेरा एकजना मित्रले आफ्नो छोरीको जन्मदिन जनैपूर्णिमामा भएकाले नागपञ्चमीका दिन नै जन्मदिन मनाउने होला भन्ने प्रश्न गर्नुभयो । अझ उहाँले त पञ्चमीका दिन पूर्णिमा पर्ने कुन गणितीय तरिका हो भन्ने प्रश्नसमेत गर्नुभयो ? हुन पनि यस्ता प्रश्नका जवाफ दिन पञ्चांग मात्र हेरेर आधिकारिक रूपमा भन्न सकिन्न । किन पात्राहरूमा पञ्चमी र पूर्णिमा एकै दिन परे त ? हाम्रा समाजमा रहेका चाडपर्वहरू कसरी निर्धारण हुन्छन् ? के यसअघि पनि यसरी नागपञ्चमीको दिन ऋषितर्पणी परेको उदाहरण छ ? शास्त्रीय प्रमाण के हो ? आदि प्रश्न आउनु स्वाभाविक हो ।
हाम्रो नेपाली समाजमा नागपञ्चमीको दिनलाई जनैपूर्णिमा मान्ने यो पहिलो घटना नभई परम्परागत रूपमै गरिँदै आएको शास्त्रसम्मत् निर्णय हो ।
पञ्चमीको दिन सूर्य र चन्द्रमाको कोणीय अन्तर ६० डिग्री हुन्छ । यसरी तिथि भनेको कुनै काल्पनिक कुरा नभई गणितीय र आकाशीय कुरा हुन् । यो चन्द्रमाको गति र सूर्यको गतिका आधारबाट निकालिन्छ । यसरी तिथि गणना गणितीय हुने भएकाले पञ्चांग गणकहरूले गणित जान्नु अनिवार्य छ । के हाम्रो देशमा पञ्चांग गणना गर्ने सबैले गणित बुझ्छन् त ? हिसाब बुझेकाले मात्र पञ्चांग निकालेका छन् त ? अझ भन्ने हो भने त पञ्चांग गणना गर्ने व्यक्तिहरू त गणित तथा ज्योतिष दुवै जान्ने हुनु अनिवार्य नै हुन आउँछ । अतः पञ्चांग निर्णायक समितिमा गणित र ज्योतिष (गणित ज्योतिष) दुवै जान्ने मानिस हुनुपर्छ । यस्तो हुन नसके पञ्चांगको वैज्ञानिकता नष्ट हुन गई पञ्चांग एउटा अन्धविश्वास मात्र हुन पुग्ने खतरा रहिरहन्छ ।

त्यसो हो भने पञ्चमी र पूर्णिमा एकै दिन पर्न सक्छन् त ? कुनै पनि हालतमा पञ्चमीको दिन पूर्णिमा पर्नै सक्दैन । पूर्णिमाको दिन सूर्य र चन्दमाबीचको अन्तर १८० डिग्री हुन्छ । अर्थात् १८० डिग्रीको अन्तर भएको दिनलाई मात्र पूर्णिमा भनिन्छ । परन्तु पञ्चमीको दिन सूर्य र चन्द्रमाको कोणीय अन्तर ६० डिग्री मात्र हुन्छ । यसरी विचार गर्दा पञ्चमीको दिन पर्ने पर्व कुनै पनि हालतमा पूर्णिमा पर्न सक्दैन । यो गणितीय कुरा नभई शास्त्रीय परम्परागत कुरा हो । अझ भन्ने हो भने यो धर्मशास्त्रीय आदेश हो । २०७४ सालको पात्रामा त नागपञ्चमीमै जनैपूर्णिमा लेखिएको छ । यो गणितीय कुरा होइन, यो त धर्मशास्त्रीय कुरा हो । यस वर्ष वास्तविक जनैपूर्णिमाको दिन त खण्डग्रास चन्द्रग्रहण परेको छ ।

ग्रहण लाग्नुपहिलेदेखि नै सूतक लाग्छ भन्ने चलन सबैलाई थाहै छ । त्यसैले जनै लगाउने दिन बिहानैदेखि सूतक पर्ने भएकाले सो दिन जनै लगाउन नहुने भएकाले सो चाडलाई नागपञ्चमीको दिन सार्ने शास्त्रीय वचन छ र पूर्णिमाको काम त्यो पूर्णिमाभन्दा अघिल्लो पञ्चमीमा गर्नू भन्ने आदेश हाम्रा धर्मशास्त्रहरूमा भएकाले जनैपूर्णिमालाई सो पूर्णिमाभन्दा अघिल्लो पञ्चमी नागपञ्चमीको दिन मनाउन शास्त्रसम्मत् देखिन्छ । तपाईंको जन्मदिन जनैपूर्णिमाको दिन हो भने तपाईंले जन्मदिवस पूर्णिमाकै दिनमा गर्नुपर्दछ नागपञ्चमीको दिनमा पूर्णिमा परेको होइन, पूर्णिमा त साउनको २३ गते नै पर्दछ नकि १३ गते खालि त्यस दिन गरिने ऋषितर्पणी मात्र पञ्चमीको दिन गर्नुपर्ने शास्त्रीय वचन भएकाले जे पात्रोमा दिइएको छ, त्यो शास्त्रसम्मत् नै छ । अतः त्यस दिन नाग टाँस्ने र जनै लगाउने दुवै कार्य गर्नुपर्दछ भन्ने वचन छ ।

२०६५ सालमा पनि पूर्णिमाको रातमा चन्द्रग्रहण परेको थियो, तर त्यस बेलामा नागपञ्चमीमा जनै नलगाई सोही दिन नै जनैपूर्णिमा मनाइएको यिनै पात्राहरूको अध्ययनबाट देखिन्छ, परन्तु त्यस वर्ष (२०६५ सालमा) जनैपूर्णिमाको दिन मध्यरातभन्दा पछाडि चन्द्रग्रहण परेको हँुदा ऋषितर्पणी रक्षाबन्धन कर्म गर्न मिल्ने भन्ने शास्त्रीय वचन छ

‘अर्धरात्रादधस्ताच्चेत् संक्रान्तिग्र्रहणं तथा
उपाकर्म न कुर्वीत परतश्चे न्नदोषभाक्’
भन्ने कात्यायन र वृद्घ मनुको वचन भएकाले त्यस दिन ऋषितर्पणी राखिएको हो । अतः २०६५ सालमा जे गरियो, त्यो शास्त्रसम्मत् नै भएको देखिन्छ । तर यस वर्ष २०७४ सालमा चन्द्रग्रहण मध्यरातअघि नै लाग्ने भएकाले त्यस दिन ऋषितर्पणी गर्न नमिल्ने देखिन्छ । यसै विषयमा शास्त्र यसो भन्छ-

संक्रान्तिग्र्रहणं वापी यदि पर्वणि जायते
तन्मासे हस्तयुक्तायां पञ्चम्यां वा तदिष्यते ।।
यसरी प्रस्टरूपमा मध्यरात्रिभन्दा पहिल्यै ग्रहण भएमा पञ्चमी तिथिमै ऋषितर्पणी गर्नुपर्छ भन्ने शास्त्रीय वचनले गर्दा नागपञ्चमीकै दिन जनै लगाउनु शास्त्रसम्मत् नै देखिन्छ । २०२८ साल, २०४६ साल तथा २०४८ सालमा पनि नागपञ्चमीकै दिनमा ऋषितर्पणी मनाएका उदाहरण हाम्रा प्रचलित पात्रोहरूको अध्ययनबाट बुझ्न सकिन्छ । त्यसैले यस वर्ष मात्र यस्तो गरिएको होइन, यस्ता कैयौं उदाहरण पात्रोका अध्ययनबाट बुझ्न सकिन्छ र हाम्रो नेपाली समाजमा यो पहिलो घटना नभई परम्परागत रूपमै गरिँदै आएको एउटा शास्त्रसम्मत् निर्णय नै हो भन्न सकिन्छ । अतः नागपञ्चमीमै उपाकर्म गरी जनैपूर्णिमा मान्न हुन्छ र मान्नुपर्छ ।

-आचार्य वाल्मीकि विद्यापीठका सहप्रध्यापक हुन् ।

प्रकाशित मिति: Jul 28, 2017

प्रतिक्रिया दिनुहोस्