Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्पेशल रिर्पोट : मात्र दुई नम्बरमै सीमित भएको हो त राजपा ?

काठमाडौं । सिङ्गो मधेस आन्दोलनको मुद्दालाई लिएर झण्डै डेढ वर्ष भन्दा बढी समयदेखि आन्दोलन गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपाल अन्ततः दुई नम्बर प्रदेशमा मात्रै सीमित भएको छ । मधेसको माग पूरा नभएसम्म निर्वाचनमै भाग नलिने घोषणा गर्दै आन्दोलन गर्दै आएको राजपाले पहिलो चरणमा बैशाख ३१ गते भएको तीन वटा प्रदेशको चुनाव पनि भाग लिएन । माग पूरा नहुँदासम्म चुनावमा भाग लिँदै नलिने बताएको राजपाको माग कथंकदाचित असोज २ अघि पूरा भयो भने चाँही बाँकी रहने २ नम्बर प्रदेशको स्थानीय चुनावमा भाग लिन्छ कि लिँदैन, त्यो पनि यतिखेर चर्चाको विषय बनेको छ ।

असार १४ गते भइरहेको दोस्रो चरणको चुनावमा पनि भाग नलिने लगभग पक्कापक्की भइसकेको छ । राजपाकै केही नेताहरुसँग भएको सहमतिअनुसार सरकारले तेस्रो चरणमा २ नम्बर प्रदेशको चुनाव गर्ने निर्णय गर्यो । तर तेस्रो चरणमा हुने दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनावमा राजपा नेपालले भाग लिने कि नलिने अहिले आफ्नै पार्टीभित्र गम्भीर बहसको विषय बनेको छ ।

 

विभिन्न मधेस केन्द्रित पार्टीहरुलाई एकीकृत गरी मधेश शब्द बिनाको राष्ट्रिय पार्टी घोषणा गरिएपनि पार्टीको पछिल्लो अवस्था हेर्दा राजपा दुई नम्बर प्रदेशमा मात्रै सीमित देखिएको छ । त्यसको कारण हो, राजपा नेपालमा रहेका अध्यक्ष मण्डलका सबै सदस्यहरु दुई प्रदेशकै हुन् । उनीहरु दुई नम्बर प्रदेशका भएका हुनाले स्वभाविक रुपमा त्यसको असर त्यही नै देखिएको छ भने उनीहरुको प्रायः गतिविधिहरु त्यही प्रदेशमा मात्रै सीमित देखिएको छ ।

अध्यक्ष मण्डलका तीनजना सदस्य एउटै जिल्लाका छन् । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यद्वय राजेन्द्र महतो र महेन्द्र राय यादव सर्लाहीका हुन् । त्यस्तै राजकिशोर यादव सिरहा, शरतसिह भण्डारी महोत्तरीका हुन् भने अनिल कुमार झा रौतहटका हुन् । अरु प्रभावशाली वरिष्ठ नेता रामनरेश राय यादव सर्लाही, उपाध्यक्ष लक्ष्मणलाल कर्ण पर्सा, उपाध्यक्ष गोविन्द चौधरी रौतहट, उपाध्यक्ष मृगेन्द्रसिंह यादव सप्तरी, उपाध्यक्ष गज्जाधर यादव धनुषा, गंगाराम यादव सप्तरी, महासचिव मनिष सुमन सप्तरी, महासचिव कमद रसुल, महासचिव वृषेशचन्द्र लाल धनुषा, महासचिव जितेन्द्र सोनल बारा, महासचिव जंगीलाल राय यादव सर्लाही, महासचिव केशव झा सप्तरी, महासचिव उमाकान्त झा धनुषा, महासचिव कौशलेन्द्र मिश्र, महासचिव सिपी सिह महोत्तरीलगायत सुरेश मण्डल, गजेन्द्र मण्डल, सुरेन्द्र झा, जेपी यादव, उपेन्द्र महतो, माधुरी साह, विशेश्वर यादव, राकेश मिश्र, प्राय सबै पदाधिकारीहरु दुई नम्बर प्रदेशका मात्र रहेका छन् ।

पाँच नम्बर प्रदेशका पदाधिकारीहरु सहअध्यक्ष ह्रृदयश त्रिपाठी नवलपरासी, उपाध्यक्षहरु सर्वेन्द्रनाथ शुक्ला रुपन्देही, गोविन्द चौधरी नवलपरासी, नरसिंह चौधरी, महासचिव वृषेश गुप्ता कपिलवस्तु, महासचिव सुरेन्द्र पटेल रहेका छन् । कञ्चनपुर, कैलाली र बर्दिया तराई मधेशको भूभाग हो भन्ने राजपा नेपालको ती जिल्लामा एकजना पदाधिकारी पनि छैनन् । त्यस्तै, एक नम्बर प्रदेशमा पनि राजपा नेपालका खासै नेताहरु छैन । प्रवक्ता सन्तोष मेहता सुनसरी, प्रवक्ता दिनेश मेहता सुनसरी, प्रवक्ता अमरेन्द्र साह मोरङ्, सचिव तेञ्जिङ्ग लामा सुनसरी, उपाध्यक्ष विश्वनाथ सिह राजवंशी झापा, वरिष्ठ नेता बद्री मण्डल मोरङ्ग, महासचिव रामलाल सुतियार मोरङ्ग, महासचिव जगदिश अधिकारी मोरङलगायतका रहेका छन् । यो तथ्यांकले के बताउँछ भने राजपा नेपाल दुई नम्बर प्रदेशमा मात्र सिमित रहेको छ । यदि माग पूरा नभए सरकारलाई पनि दुई नम्बर प्रदेशमा चुनाव गराउन गाह्रो छ । यदि बल जवर्जस्ती चुनाव गराएपनि राजपा नेपाल चुनावमा भाग नलिने अवस्थामा छन् ।

राजकिशोर भन्छन्– चुनाव हाम्रो लागि प्राथमिकताको विषय होइन

छवटा प्रदेशको स्थानीय तहको चुनावमा भाग नलिएका राजपा नेपाल दुई नम्बर प्रदेशमा मात्र भाग लिए भने सो पार्टी आठ जिल्लामा मात्र खुम्चिने डर राजपा नेपालको छ । राष्ट्रिय पार्टी भनि घोषणा गरेका राजपा नेपाललाई दुई नम्बर प्रदेशमा मात्र खुम्चाउने निर्णय लिन राजपा नेपाललाई गाह्रो हुनसक्छ । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने, ‘चुनाव हाम्रो लागि प्राथमिकताको विषय होइन, मधेशले अधिकार पाउनु प्राथमिकताको विषय हो, एउटा स्थानीय चुनावमा हामीले भाग नलिँदैमा केही विग्रिदैन ।’

पाँच नम्बर प्रदेशमा चुनाव विथोल्ने योजना

दुई नम्बर प्रदेश बाहेक मधेसका अन्य प्रदेशमा पनि आफ्नो शक्ति रहेको देखाउन असार १४ गतेको निर्वाचन विथोल्ने राजपाको योजना छ । पाँच नम्बर प्रदेशमा आफूहरुले चुनाव विथोल्ने गरी योजना बनाइरहेको प्रदेश नम्बर ५ मा रहेका उपाध्यक्ष गोविन्द चौधरीले बताउँछन् । दुई नम्बरको तुलनामा पाँच नम्बर र सात नम्बर प्रदेश कमजोर रहेपनि राजपा नेपालको प्रभाव राम्रै रहेको दावी उनको छ । ‘राजपा नेपालले दुई नम्बर प्रदेशको साथै अन्य प्रदेशमा पनि ध्यान दिएमा अझै राम्रो गर्न सकिन्छ ।’–चौधरी भन्छन् । राजपा नेपालको उपस्थिति दुई नम्बर प्रदेशमा बलियो दखेर नै सरकारले त्यसको चुनाव छुट्टै गराउने भनेर असोज २ गतेका लागि तोकिएको हो भन्दै रातोपाटीमा रिर्पोट छ । यसबीचमा राजपा नेपालसँग सहमति बन्न नसकेमा सारा शक्ति प्रयोग गरेर भएपनि दुई नम्बर प्रदेशको चुनाव गराउने योजनामा सरकार रहेको छ ।

प्रकाशित मिति: Jun 21, 2017

प्रतिक्रिया दिनुहोस्