Logo
१२ बैशाख २०८१, बुधबार
(May 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण राजपाले थप एक दिन सरकारलाई पर्खने

काठमाडौँ, जेठ ८ : नयाँ चरणको आन्दोलनको घोषणा गर्ने तयारी गर्न बसेको राष्ट्रिय जनता पार्टी नेपालको बैठकले आफ्ना मागहरु पूरा गर्न सहमति जुटाउन सरकारलाई थप एक दिन समय दिने निर्णय गरेको खबर छ । बैठकका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजपाका नेताहरुलाई फोन गरेर सहमति जुटाउन थप एक दिन समय माग गरेपछि राजपाको बैठकले आन्दोलनको घोषणा गर्ने कार्यक्रम स्थगित गरेको हो ।

यसअघि आज बिहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निष्कर्श सुनाउँदै त्यस विषयमा राजपाको धारणा माग गरेका थिए । सोमबार प्रधामन्त्री निवास बालुवाटरमा बसेको संक्षिप्त बैठकमा प्रधानमन्त्रीले दोस्रो चरणको निर्वाचत अघि संविधान संशोधन गर्न कठिन रहेको र स्थानीय तहको संख्या थप्ने विषयमा पनि एमालेले सहयोग नगर्ने कुरा सुनाएका थिए ।

निर्वाचनअघि संविधान संशोधनको सम्भावना यसअघि नै टरिसकेको अवस्थामा सरकारले मधेसी दललाई निर्वाचनमा सहभागी गराउन मधेसका जिल्लाहरुमा स्थानीय तहको संख्या थप्ने बताउँदै आएको थियो, भन्दै रातोपाटीमा समाचार छ ।  यसका लागि उपप्रधानमन्त्री विजय गच्छदारको नेतृत्वमा समिति समेत गठन गरिएको थियो ।

तर, आजको बैठकमा भने प्रधानमन्त्रीले एमालेले त्यसमा पनि प्रमुख प्रतिपक्षी दलले असहयोग गर्ने बताएको कुरा सुनाउँदै त्यसमा राजपाका नेताहरुको धारणा माग गरेका थिए । आफ्ना माग पूरा नहुने देखेपछि राजपाका नेताहरुले आन्दोलनका कार्यक्रमको घोषणा गर्ने तयारीसहित विजुलीवजारमा बैठक बसेको थियो । तर, प्रधानमन्त्रीले बैठक चलिरहेको बेला फोन गर्दै मोर्चालाई आन्दोलनको कार्यक्रमण घोषणा नगर्न र आफूलाई सहमतिका लागि एक दिनको समय थप दिन आग्रह गरेका थिए ।

राजपाका नेताका अनुसार प्रधानमन्त्रीले मोर्चाको माग सम्बोधन गर्न आज मन्त्रिपरिषदको बैठकबाट केही निर्णय गर्ने र भोलि बिहान प्रमुख प्रतिपक्षी दलसँग बसेर सहमतिको प्रयास गर्ने बताएका थिए । राजपाको बैठकपछि अहिले संघीय गठबन्धनको बैठक बसिरहेको छ ।

प्रकाशित मिति: May 22, 2017

प्रतिक्रिया दिनुहोस्