Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक व्यापार निर्यात ३० अर्ब भन्दा बढिले बढ्यो

काठमाडौं, १७ मंसिर । वैदेशिक व्यापार निर्यात पछिल्लो पाँच महिनामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७३-७४ को प्रथम पाँच महीनाको अवधिमा नेपालबाट कुल ३० अर्ब ६१ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको हो ।

गत आवको समीक्षा अवधिमा २६ अर्ब ८३ करोड रुपैयाँ रहेको निर्यात चालू आवमा १४ दशमलव ०९ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांक अनुसार चालू आवको पहिलो पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । अभियानका अनुसार, गतवर्ष नाकाबन्दीका कारण व्यापारमा अवरोध हुन पुग्दा सो अवधिमा नेपालको कुल वैदेशिक व्यापार २ खर्ब ४१ अर्ब २७ करोड रुपैयाँमा सीमित हुन पुगेको विभागको तथ्यांकले पुष्टि पारेको छ ।

तर, चालू आवमा भने स्थिति सहज हुँदा नेपालको वैदेशिक व्यापारमा ७१ दशमलव १३ प्रतिशत वृद्धि हुन पुगेको हो । विभागले प्रकाशित मंसिरसम्मको तथ्यांकअनुसार, नेपालले विभिन्न मुलुकबाट ३ खर्ब ८२ अर्ब २८ करोड रुपैयाँका वस्तु आयात गरेको छ ।

भारत, चीनलगायत विभिन्न तेस्रो मुलुकबाट हुने आयातको क्रममा गत आवको सोही अवधिमा भने करीब २ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ थियो ।

गत आवको मङ्सिरसम्मको तुलनामा आयात ७८ दशमलव २६ प्रतिशतले वृद्धि भएको हो । आयात उच्च दरले बढेको तर निर्यातमा भने राम्रो सुधार हुन नसक्दा गत आवको पाँच महीनाको तुलनामा चालू आवको व्यापार घाटा झण्डै दोब्बर हुन पुगेको विभागको तथ्यांकले पुष्टि पारेको छ ।

गत आवको प्रथम ५ महीनाको अवधिमा नेपालको व्यापार घाटा १ खर्ब ८८ अर्ब रहेको थियो । चालू आवको सोही अवधिमा भने ८७ दशमलव ४४ प्रतिशतले व्यापारघाटा बढेर ३ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख भएको हो ।

गत आवको ५ महीनाको तथ्यांकमा निर्यातको अंश ११ दशमलव १ प्रतिशत रहेको थियो । चालू आवको सोही अवधिमा उक्त अंश घटेर ७ दशमलव ४ प्रतिशत छ ।

त्यसैगरी आयातको अंश ८८ दशमलव ९ प्रतिशत रहेकोमा हाल बढेर ९२ दशमलव २ प्रतिशत पुगेको हो । समीक्षा अवधिमा कुल व्यापारमा निर्यातको अंश घटेको छ भने आयातको अंश बढेको देखिन्छ ।

प्रकाशित मिति: Jan 1, 2017

प्रतिक्रिया दिनुहोस्