Logo
१२ बैशाख २०८१, बुधबार
(December 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलराम तिमिल्सिनाको विचारमा यस्तो छ, तराई मधेसबारेको भ्रम !

‘मधेस र देश’, ‘मधेस र मधेसी राजनीति’, ‘मधेस र पहाड’ आदि प्रसङ्गहरूले देशको राजनीति तात्तिइरहेको छ । महेन्द्रमाला घोकेर हुर्किएका एकथरि पहाडेहरूलाई तराई  (मधेस) को मलिलो फाँट चाहिएको छ तर त्यहाँ बस्ने कालो वर्णका मानिस मन परेको छैन । उनीहरूको रङ, भाषा र संस्कृति उता पारिपट्टिकासँग हुबहु मिल्ने हुनाले हाम्रा पहाडे मित्रहरूलाई चिन्न गाह्रो हुन्छ र सिधै बिहारी भनिदिन्छन् ।

तराईमा हजारौँ वर्षदेखि बसोबास गर्नेहरू (जनक, विराट र गौतम बुद्धको समयभन्दा अघि) यही भूभागका बासिन्दा हुन् र तिनीहरू इतिहासको अध्ययन गरेर हेर्दा पहाडेहरूभन्दा नयाँ होइनन् भन्ने कतिपयलाई थाहा पनि छैन । अनि जसलाई थाहा छ तिनीहरू पहाडी सामन्ती सङ्कीर्णताका कारण यो वास्तविकतासँग असाध्यै डराउँछन् र दुनियाँले सत्य कुरा बुझ्ने हुन् कि भनेर सधैँ भयभित हुने गर्छन् ।

भाषा, संस्कृति र रोटी–बेटीको सम्बन्ध पहाडेहरूको सिक्किम, दार्जिलिङ, बर्मा, आसाममा बस्नेसँग पनि मिल्छ र तिनीहरूलाई हामी माया पनि गर्छौं । त्यसो भए तराई (मधेस) वासी नेपालीले हामी पहाडेलाई सिक्किमे, बर्माली, भुटानी वा आसामी भन्ने त ?
भुटानले पहाडे नेपाली मूलका नागरिकलाई लखेट्यो, हामीले विना हिच्किचाहट बस्न दिएका छौँ । बर्माबाट हजारौँ पहाडे नेपाली मूलका (भारतीय नागरिक) मानिस विस्थापित भए ।

नेपालले तराईका विभिन्न स्थानमा बसोबासको प्रबन्ध मिलायो र सजिलैसँग नागरिकता दियो । हामी कोही बोलेनौँ तर जब मधेसी मूलको प्रश्न उठ्छ हामी सशङ्कित हुन्छौँ, उत्तेजित हुन्छौँ र कराउन थाल्छौँ । किन यस्तो हुने गर्छ त ? यो हुनु भनेको मधेसी नेपालीको देश प्रेमप्रति शङ्का हुनु हो । उनीहरूलाई अधिकार दियो भने उनीहरूले त्यो भूभाग भारतलाई बुझाउँछन् भन्ने भ्रम लाखौँपटक दोहो¥याएर महेन्द्रीय राष्ट्रवादले पहाडेहरूको दिमाग नयाँ कुरा पस्नै नमिल्ने गरी भरेको छ ।

जसको कारणले जुनसुकै पार्टीलाई भोट हाल्ने पहाडेको दिमागमा पनि मधेसी भनेपछि अलिकति चिसो पस्छ । विश्वासको मात्रा घट्छ र नेपालीसँग भेट्दै छु कि विदेशीसँग भेट्दै छु भन्ने धुकचुक पैदा हुन्छ । मधेसीहरूले पहाडीया राज्य सत्ता र त्यसले निर्माण गरेको विभेदकारी व्यवहार केही सय वर्षदेखि भोग्दै आएका छन् र उनीहरूभित्र यो सत्ताप्रति गहिरो घृणा र विद्रोह छ । यसो भनिरहँदाको आशय बर्सेनि बिहार वा उत्तर प्रदेशबाट भइरहेको आप्रवासन र नेपाली नागरिकता लिने कुराप्रति सहमति पटक्कै होइन ।

मधेस मुद्दालाई बार्गेनिङ कार्डको रूपमा प्रयोग गरेर दूधको साक्षी बिरालो बन्न खोज्ने भारतीय रवैयाप्रति आँखा चिम्लिनुपर्छ भन्ने पनि होइन । तराई–मधेसमा भारतको योजनाबद्ध घुसपैठलाई रोक्नैपर्छ तर त्यसलाई रोक्न कसले सक्छ ? पहाडेहरूको बुताबाट के त्यो सम्भव छ ? त्यो रोक्ने त तराईका आदिवासी सन्तानलाई विश्वासमा लिएर अनि आप्रवासनको नकारात्मक असर पहाडेलाई होइन स्थानीय मधेसीलाई नै पर्छ भन्ने कुरा विनम्रतापूर्वक बुझाएर हो ।

तराई मधेसका आदि सन्तान मधेसमै अल्पमतमा नपरुन् भनेर त्यसको रोकथाम गर्ने सम्पूर्ण अधिकार तराई मधेसवासीलाई दिएर मात्रै घुसपैठलाई रोक्न सकिन्छ । योभन्दा बाहेक तरिकाबाट घुसपैठ रोक्ने उपाय भनेको भुटान या बर्माले पहाडी नेपाली मूलका नागरिकलाई लखेटेजस्तो गरेर सबै मधेसीलाई लखेट्ने र पहाडे मात्र राख्ने हो । के हामी हाम्रो सामथ्र्य, भूराजनीति र प्राकृतिक न्यायका हिसाबले त्यस्तो सोच्न सक्छौँ ? कुनै पनि नेपालीले यस्तो कुरा सपनामा पनि सोच्न सक्दैन ।

जमिन्दारले आफ्नो जमिनको आली – आलीको ख्याल गर्छ तर जमिनमा काम गर्न राखेका मोही किसानहरूको पटक्कै ख्याल गर्दैन । जमिन रहेन भने जमिन्दार रहँदैन । त्यसैले जमिनको ख्याल गर्नु उसको स्वार्थभित्र पर्छ । मोही सचेत भए र हक खोज्न थाले भने उनीहरूलाई लखेटेर नयाँ मोही हाल्ने सोच जमिन्दारमा हुन्छ । के हामीले पनि त्यही पुरानो जमिन्दारलेजस्तै सोच्ने ? के हामीले पनि प्रदेश खोज्ने भए बिहारतिर जाऊ यो हामी पहाडेहरूका बडामहाराजले आर्जेको मुलुक हो तिमीहरूको हक छैन भन्ने ?

अब नेपालमा कोही जमिन्दार र कोही मोही छैन । यो जमिनमा बस्ने सबैको बराबरीको हक छ । त्यसैले एक क्षेत्रका नेपालीले अर्को क्षेत्रका नेपालीको राष्ट्रभक्तिको बारेमा अनावश्यक चिन्ता गर्नु शोभनीय हुँदैन । मधेसको चिन्ता पहाडेले पनि गर्ने हो तर पहिलो र महŒवपूर्ण कुरा मधेसी जनताले गर्ने हो भनेर बुझ्नु जरुरी छ । अनावश्यक दुर्भावना फैलाउने काम असाध्यै हानिकारक हो ।

नेपालमा जातीय क्षेत्रीय शोषण उत्पीडन र भेदभाव छ भन्ने कुरा स्वीकार गरेर हामी सङ्घीय गणतन्त्रमा जान तयार भएको हो । सङ्घीय संरचना भनेको महेन्द्र वा वीरेन्द्रले सोचेको संरचना होइन । त्यो चौध अञ्चल, पचहत्तर जिल्ला वा पाँच विकास क्षेत्रको संरचना सामन्ती निर्दलीय पञ्चायती व्यवस्थाभित्रबाट पहाडीया सोच अनुसार विकास गरिएको हो । त्यो राज्यको पुरानो सामन्ती मोडेल हो । हामीले गणतन्त्रमा आफ्नै मोडलको विकास र प्रयोग गर्नुछ ।

सङ्घीय संरचना भनेको मूलतः उत्पीडित जाति र क्षेत्रका जनताको सर्वोत्तम भलाईको लागि विकसित भएको अवधारणा हो । संसारमा यस्तै समस्या हल गर्न सङ्घीयताको प्रयोग गरिएको हो । सरोकारवाला संस्था र विज्ञहरूले त्यस्तो संरचनाबारे पर्याप्त अध्ययन गरेका छन् । ती कुरालाई विनम्रतापूर्वक अध्ययन गर्ने र फराकिलो लोकतान्त्रिक मनले अघि बढ्ने हुनुपर्छ ।

सामाजिक सद्भाव भाँड्न खोज्नेहरू पहाड तराई दुवैतिर छन् । यो साम्प्रदायिक मनोमालिन्यको मुख्य जिम्मेवार सयौँ वर्षदेखि राज्य सत्ताको मालिक रहेको पहाडीया शासक वर्ग हो । जसरी बच्चालाई भोक लागेपछि रुने कराउने हक हुन्छ ठीक त्यसैगरी उत्पीडितहरूलाई चिच्याउने कराउने नैसर्गिक अधिकार हुन्छ । चिच्याए भनेर दमन गर्ने होइन । चिच्याउनको कारण खोज्ने र समाधान गर्ने हो । सबै छिमेकी गतिला हुँदैनन् र हाम्रो दक्षिणी छिमेकी असाध्य दम्भी हस्तक्षेपकारी र किचकिचे छ ।

उ जस्तो भए पनि उसले केही भन्यो भनेर हामीले आफ्ना जनतालाई ठग्नु हँुदैन । घरभित्रको झगडा व्यवस्थित गरेर मात्रै हामीलाई बाहिर लड्न सजिलो हुन्छ । आफूलाई व्यवस्थापक सोच्नेहरू कम उत्तेजित र व्यावहारिक हुनुपर्छ । घरको झगडा आपसमा मिलेर समाधान
गर्नुपर्छ । गोरखापत्रबाट

प्रकाशित मिति: Dec 27, 2016

प्रतिक्रिया दिनुहोस्