Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तत भारतकै आश: थप बिजुली नकिने लोडसेडिङ नघट्ने !

bijuli
काठमाडौं  ९ असोज । एघार महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका थिए । ओलीको त्यो घोषणासँगै सरकारका सरोकारवाला निकायहरु एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने योजना बनाउन थाले । एक वर्षको अवधिमा जम्मा ८० मेगावाट विजुली मात्रै उत्पादन भएको छ । ०७३ असारमा ३० मेगावाट विजुली उत्पादन भइसकेको छ भने सोमबार माथिल्लो मस्याङदीबाट उत्पादित ५० मेगावाट विजुली थपिँदैछ ।

उर्जा मन्त्रालयले फास्ट ट्रयाकमा काम गरेर एक वर्षभित्र १ सय ५० मेगावाट विजुली उत्पादन गरेरै छाड्ने लक्ष्य सार्वजानिक गर्‍यो । जसअनुसार ०७३ असोज मसान्तसम्ममा राष्ट्रिय प्रसारणलाइनमा १ सय ५० मेगावाट विजुली जोडिइसक्नुपथ्र्यो । तर, लक्ष्यको आधा पनि विजुली जोडिएन । भारतीय नाकाबन्दीका कारण इन्धन संकट लगायतका समस्या आइपरेकाले तोकिएको समयमै लक्ष्यअनुसार विजुली उत्पादन गर्न नसकिएको उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरे स्वीकार गर्छन् ।

‘भारतीय नाकाबन्दीको असरका कारण असोज मसान्तसम्ममा लक्ष्यअनुसार विजुली उत्पादन गर्न सकिएन’ घिमिरेले भने -‘तर आयोजनाकोहरुको हालसम्मको प्रगति हेर्दा पुस मसान्तमा भने लक्ष्यअनुसारको उत्पादन हुने देखिन्छ ।’ सरकारले लोडसेडिङ न्यूनिकरणलाई जोड दिँदै आयोजनाहरुको काम धमाधम अघि बढाइरहेको उनको दाबी छ । आगामी चार महिनाभित्र राष्ट्रिय प्रसारणलाइनमा थप ९० मेगावाट विजुली जोडिने घिमिरे बताउँछन् ।

घिमिरेका अनुसार कास्कीको माथिल्लो मादी आयोजनाबाट २५ मेगावाट, ताप्लेजुङको हेवाखोलाबाट १४.९ मेगावाटको, मुस्ताङको थापा खोलाबाट १४ मेगावाट, ताप्लेजुङको माथिल्लो माई सी बाट १० मेगावाट र ललितपुरको तुमुङ थोस्मे खोलाबाट ६ मेगावाट गरी ७० मेगावाट विजुली पुस सम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिइसक्ने छ ।

सरकारले भनेअनुसार नै आगामी पुस सम्ममा विजुली उत्पादन भएपनि त्यसले लोडुसेडिङ न्यूनिकरणमा कुनै भूमिका नखेल्ने नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मुकेश काफ्ले बताउँछन् । ‘डेढ सय मेगावाट जडित क्षमता थपिँदा पनि आगामी हिउँदमा कुल ३ सय मेगावाट विजुली मात्रै उत्पादन हुन्छ,’ उनले भने- ‘जबकी आगामी हउिँदमा हाम्रो कुल विजुलीको माग १४ सय मेगावाट पुग्छ ।’

सरकारले भारतबाट थप ३ सय मेगावाट विजुली किन्ने लक्ष्य राखेपछि सो अनुसारको तयार भने गरेको छैन । भारतबाट विजुली ल्याउनका मुख्यरुपमा तीन वटा काम पुरा गर्नुपर्ने काफ्ले बताउँछन् । हाल १३२ केभी क्षमताको ढल्केबर प्रसारणलाइन्लाई स्तरोन्नति गरी २२० केभीए क्षमताको बनाउने काम भइरहेको छ । पुससम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि त्यसको प्रगति भने सन्तोषजनक छैन ।

त्यसैगरी, ढल्केबर सबस्टेशन लाइन स्तरोन्नति गरेरमात्रै भारतबाट थप विजुली ल्याउन सकिँदैन, त्यसका लागि २२० केभी क्षमताको खिम्ती-ढल्केबर प्रसारणलाइन, हेटौंडा-ढल्ेकबर प्रसारणलाइन र हेटौंडा मातातिर्थ प्रसारणलाइनको स्तरोन्नति पनि गर्नुपर्ने हुन्छ ।प्रसारणलाइन स्तरोन्तिको काम अघि बढेपनि पुसअघि नै निर्माण सम्पन्न हुन भने निकै कठिन भएकाले यो हिउँदमा पनि सर्वसाधारणले विगतका वर्षहरुमा जस्तै लोडसेडिङ भोग्नुपर्ने अवस्था देखिएको काफ्लेको भनाई छ ।

प्रकाशित मिति: Sep 25, 2016

प्रतिक्रिया दिनुहोस्