Logo
१५ बैशाख २०८१, शनिबार
(August 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थारु र पहाडी समुदायको सद्‍भावपुर बन्दै टीकापुर !

tikapur-park-kailali

७ भदौ, टीकापुर । नेपालको इतिहासमै निकै दर्दनाक तथा बहुचर्चित हिंसात्मक घटना भएको टिकापुर बिस्तारै समान्य बन्दै गएको छ । आठ सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान जाने गरी टीकापुरमा हिंसात्मक घटना भएको मंगलबार वर्षदिन पुगेको छ । लामो समयसम्म एकअर्काप्रति त्रस्त थारु र पहाडी समुदाय अहिले नजिकिएका छन्। उनीहरुबीच सद्भाव पुरानै अवस्थामा फर्किएको छ। मिलेर बस्नु नै दुवै समुदायका लागि हितकर छ भन्ने दुवै समुदायले अझ बढी महसुस गरेका छन् । घटनापछि लामो समय त्रासै त्रासमा बाँचेको टीकापुरको जनजीवन बिस्तारै सामान्य बन्दै गएको हो ।

टीकापुर अब सामान्य अवस्थामा फर्किसकेको कैलाली प्रजिअ गोविन्द रिजालले बताए । कसैलाई कुनै चित्त नबुझेका विषय होलान्, ती भद्र रुपमा व्यक्त भइरहेका छन्, उनले भने, सुरक्षामा नै असर पर्ने खालको अवस्था छैन । सदियौंदेखिको आफूहरुको सम्बन्ध बिग्रनु हुँदैन भन्नेमा दुवै समुदाय सचेत देखिन्छ । थारु कल्याणकारी कैलालीका उपाध्यक्ष जोधी चौधरीले भाषा फरक भए पनि थारु पहाडीको जात एउटै भएको बताए ।

एक वर्ष अवधिमा थारु र पहाडी समुदायबीच झैंझगडा भएको एउटा पनि मुद्दा नपरेको इलाका प्रहरी कार्यालय, टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । सामान्य झैंझगडा भयो होला तर समुदाय नै जोड्ने गरेर त्यस्तो कुनै घटना भएको छैन, उनले भने, हाम्रो सम्पर्कमा नआएका घटनासमेत सुन्नमा आएका छैनन् । टीकापुर नगरपालिका मौरानीयामा केही महिनाअघि युवाबीच कुटाकुट भयो । थारु र पहाडी समुदायका युवाबीच मदिरा सेवनका क्रममा झगडा भएको थियो । दुवै पक्ष घाइते पनि भए । पक्राउपछि उनीहरुले आ–आफ्ना उपचार गर्ने र समाजमा मिलेर बस्ने कागज गरे ।

समुदायको अवस्था निकै सामान्य बनेको छ । गाउँटोलमा बडघर चयन गर्ने क्रममा समेत दुवै समुदायको सहभागिता रह्यो। एकले अर्कोलाई बडघरका रुपमा स्विकारेका छन्। थारु बडघर भएका गाउँमा अह्राएको काम पहाडीले गर्छन् भने पहाड बडघर भएका ठाउँमा समेत त्यस्तै माहौल देख्न सकिन्छ। घटनापछि टीकापुर र आसपास क्षेत्रमा स्थानीय प्रशासनले धेरै दिनसम्म कर्फ्यु लगाएको थियो । सशस्त्र र नेपाल प्रहरीले मात्रै स्थिति नियन्त्रणमा लिन नसक्ने भन्दै सरकारले नेपाली सेनासमेत परिचालन गरेको थियो । वर्षदिन अवधिमा दुई समुदायबीच नयाँ सम्बन्धसमेत गाँसिएका छन्, बिहेबारी आदानप्रदान हुन थालेको छ ।

सामाजिक सम्बन्ध फराकिलो हुँदै गएका छन्, सन्त्रासको छायाले लामो समय छोपेको टीकापुर अब सद्भावपुरु मा परिणत हुँदै छ । भोजभतेरमा समेत एकअर्को समुदायबीच निम्तो आदानप्रदान हुन थालेका छन् । विभिन्न संघसंस्थाले सद्भावका लागि पहल गरिरहेका छन् । अगुवा सद्भाव फैलाउन नेतृत्व गरिरहेका छन् । सार्वजनिक कार्यक्रममा दुवै समुदायको उपस्थिति बढ्दो छ । दुर्गौलीमा सामूहिक रक्षाबन्धन आयोजना गरियो यसपालि जहाँ दुई समुदायका २८ जनाले एकअर्कालाई भाइबहिनीका रुपमा स्विकारेका थिए । नेपाल शिक्षक संघले तिज तथा आइतबारी मिलन कार्यक्रम आयोजना गर्‍यो जहाँ सांसद प्यारेलाल रानालगायत थारु समुदायका अगुवा देउडा भाकामा झुमेका थिए ।

Tikapur

१० हजारभन्दा बढी जनमानस जम्मा भएका देशावरमा पनि दुवै समुदायका मानिसको उत्तिकै सहभागिता देखियो । महिनादिनसम्म जारी रहने देशावरमा कुनै विवाद भएन । त्यसले पनि दुवै समुदायबीच कुनै मतभेद नरहेको सन्देश दिएको रानीजमरा कुलरिया सिँचाइ प्रणालीका उपाध्यक्ष दामोदर खड्काको भनाइ रहेको छ । टीकापुर घटनालाई थारु र पहाडी समुदायबीचको द्वन्द्वका रुपमा परिभाषित नगर्न यहाँका राजनीतिकर्मी बताउँछन् । उनीहरुका अनुसार त्यो घटना कसैले आफ्नो स्वार्थसिद्धिका लागि नियोजित गराएको हो ।

अघिल्लो भदौ ७ गते टीकापुर नगरपालिका–६, शंकरपुरमा थरुहट पक्षधरको आक्रमणमा परेर तीन सुरक्षाकर्मी र एक नाबालकले ज्यान गुमाएका थिए । टीकापुरस्थित सरकारी कार्यालयमा थरुहट प्रदेश लेख्ने भन्दै आएका थरुहट कार्यकर्तालाई सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको थियो। ठूलो संख्यामा रहेका थरुहट कार्यकर्ता विभिन्न नाकाबाट टीकापुर प्रवेश गर्न खोजेका थिए । सुरक्षाकर्मी अस्नेहरी, शिव मन्दिर, दुर्गौली, वनगाउँ, आँखा अस्पतालका नाकामा थरुहट कार्यकर्तालाई रोक्न सफल भएका थिए । मुनुवा गाविस हुँदै आएका कार्यकर्तालाई रोक्न सुरक्षाकर्मी असफल भएपछि घटना भएको थियो ।

घटनास्थलनजिकैको घरमा खेलिरहेका १८ महिनाका नाबालक टेकबहादुर साउदको टाउकोमा गोली लागेको थियो । सुरक्षाकर्मीमाथि आक्रमण भएको झन्डै एक घन्टापछि नाबालकलाई गोली लागेको उनका आफन्तले बताएका छन् । घटनामा संलग्न आरोपमा राज्यले ५८ जनाका नाममा मुद्दा दायर गरेको छ जसमध्ये २२ जना पक्राउ परेका छन् । ३४ जना फरार छन् भने २ नाबालक भएका कारण छाडिएका छन् । बीभत्स घटनाले आक्रोशित केही व्यक्तिले भदौ ८ गते टीकापुरमा थारु समुदायका पसल र घरमा आगजनी गरेका थिए। आगजनीका कारण करोडौंको क्षति भएको थियो । पीडितले अहिलेसम्म क्षतिपूर्ति पाउन सकेका छैनन् । थारु समुदायले आगजनीमा संलग्न भन्दै केही व्यक्तिका नाममा किटानी जाहेरी दिएको छ । उनीहरु पक्राउ नपरेको भन्दै थारु समुदायले आक्रोश व्यक्त गरिरहेको छ ।

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्