Logo
१५ बैशाख २०८१, शनिबार
(August 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहुराष्ट्रिय कम्पनीहरु नेपाल छोड्दै, रोयल स्टाग समेत बाहिरिने तयारीमा

rakksi-image

काठमाडौं । सरकारले मदिरा उत्पादक बहुराष्ट्रिय उद्योगले ६ प्रतिशतभन्दा बढी रोयल्टी लैजान नपाउने नियम बनाएपछि यस्ता कम्पनी नेपालबाट धमाधम बाहिरिन थालेका छन् । केही समयअघि रोयल स्टागले नेपाल छाड्ने बताएको थियो । त्यसपछि युनाइटेड स्प्रिट लिमिटेडले पनि नेपाल छाड्न लागेको स्रोतले बताएको छ ।

बहुराष्ट्रिय कम्पनीले १५ प्रतिशत रोयल्टी लैजान पाउनुपर्ने माग गर्दै आएका थिए । तर, सरकारले ६ प्रतिशतभन्दा बढी रोयल्टी लैजान नपाउने नियम बनाएपछि उनीहरूले नेपाल छाड्न लागेका हुन् ।  नेपालमा पाइने चर्चित मदिरा सिग्नेचर, एन्टिक्युटी, म्याकड्वेल र ब्ल्यु रिबेन्ड उत्पादन गर्दै आएको युनाइटेड स्प्रिटले नेपाल छाड्न लागेको स्रोतले बताएको छ । “बहुराष्ट्रिय कम्पनीले धमाधम लगानी फिर्ता लैजाने र उत्पादन बन्द गर्दा नेपालमा लगानीको वातावरण बिग्रेको पुष्टि हुन्छ,” नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष हरिभक्त शर्माले बाह्रखरीसँग भने, “बहुराष्ट्रिय कम्पनी बाहिरिँदा राज्यलाई ठूलो क्षति हुन्छ ।”

स्रोतका अनुसार रोयल स्टागले नेपालमा वार्षिक २ अर्ब रुपैयाँको कारोबार गर्दै आएको थियो । यो कम्पनीले केही दिनअघि नेपाल छाड्ने बताएको छ । युनाइटेड स्प्रिटका पनि सम्पूर्ण उत्पादन बाहिरिँदा लगानीको वातावरण नभएको भन्ने सन्देश जाने व्यवसायीले बताएका छन् । स्रोतका अनुसार नेपालमा सिग्नेचरको मात्रै वार्षिक १ अर्ब ५० करोड रुपैयाँ कारोबार हुन्छ । त्यसैगरी एन्टीक्युटी, म्याकड्वेल र ब्ल्यु रिबेन्डले वार्षिक ३ अर्ब रुपैयाँको कारोबार गर्दै आएका छन् ।

भारतका रहेको कम्पनी युनाइटेड स्प्रिटले नेपालमा युनाइटेड स्प्रिट नेपाल कम्पनी स्थापना गरी ती उत्पादन बजारमा ल्याएको थियो । केही समयअघिमात्रै युनाइटेड स्प्रिट लिमिटेडले नेपालमा भएको कम्पनीको ८२.४६ प्रतिशत सेयर नेपाली व्यवसयाी राजेशविर सिंह तुलाधरलाई बेच्ने घोषणा गरेको थियो ।  यसअघि तुलाधरको ११.५४ प्रतिशत सेयर थियो । कम्पनीले आफूहरुले नेपाल छाड्न लागेको र नेपाली कम्पनीको सम्पूर्ण सेयर तुलाधरलाई बेच्ने तयारी गरेको स्रोतको दाबी छ ।

सरकारले मदिरा उद्योगलाई कर उठाउने माध्यममात्रै बनाउने गरेकाले बहुराष्ट्रिय कम्पनीले धमाधम नेपाल छाड्न लागेका हुन् । “उनीहरू (बहुराष्ट्रिय कम्पनी) गुणस्तरमा खेलाँची गर्दैनन्,” स्रोतले भन्यो, “तर, स्वदेशी उद्योगले गुणस्तरमा ख्याल नगरी उत्पादन गर्ने र त्यस्ता मदिरा उद्योगसँग प्रतिपर्धा गर्नुपर्ने हुँदा बाहिरिएको हुन सक्छ ।”

युनाइटेड स्प्रिटको नेपाल छाड्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । एकातिर वैदेशिक लगानी भित्र्याउन सरकारले पहल गर्ने बताए पनि आएका लगानी बाहिरिँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नराम्रो सन्देश जाने व्यवसायीले बताएका छन् । अनुगमनकारी निकायले राम्रोसँग मदिरा उद्योगमा अनुगमन नगरेपछि बुहराष्ट्रिय कम्पनीका उत्पादनले कमसल उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेकाले पनि नेपाल छाड्ेको हुन सक्ने व्यवसायीको भनाइ छ । #सुजन ओलीद्धारा ब्राहखरीमा लिखित समाग्री जस्ताको त्यस्तै साभार  !

प्रकाशित मिति: Aug 14, 2016

प्रतिक्रिया दिनुहोस्