Logo
१५ बैशाख २०८१, शनिबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार–मोर्चा वार्ता: तीन बुँदे सम्झौता कार्यान्वयन गर्न सरकार तयार

Barta

काठमाडौं । माओवादी केन्द्र, नेपालले काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्न सरकारले आजबाट प्रकृया आगाडि बढाउने भएको छ ।  सहिद घोषणा, सहिद परिवारलाई क्षतिपूर्ति, घाइतेलाई निःशुल्क उपचार, अपाड्लाई जीवन यापनका लागि व्यवस्था, आन्दोलनको बारेमा छानविन आयोग गठनलगायतका सहमतिहरु पूरा गर्ने प्रकृया शुरु गर्ने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाएको बैठकमा सहभागि नेताहरु बताएका छन् ।

बैठकपछि नेता राम नरेश राय यादव र राजकिशोर यादवले पनि आजको वार्ताबाट आफूहरु आशावादी रहेको प्रतिक्रिया दिए । उनीहरुले भने, ‘प्रधानमन्त्रीज्यूले आजको क्याबिनेट बैठकबाट राजनीतिक मुद्दाबाहेकका घाइते तथा सहिद परिवारलाई तत्काल राहत, शहिद घोषणा, मुद्दा फिर्ता, मधेस आन्दोलन भएका हिंसा, हत्याबारे न्याययीक छानविन आयोगबारे निर्णय गर्नुहुने संकेत दिनुभएको छ । हामी आशावादी छौं ।’ सरकार गठनका क्रममा संयुक्त लोकतान्त्रिक मोर्चासँग ३ बुँदे सहमति भएको थियो ।

तीन बुँदे सम्झौताको बारेमा प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरुसँग आज आफ्नो कार्यकक्षमा गरेको छलफलपछि सरकारले सो प्रकृया अगाडि बढाउने भएको हो । सहिद घोषणा, सहिद परिवारलाई क्षतिपूर्ति, घाइतेलाई निशुल्क उपचार, अपाड्लाई जीवन यापनका लागि व्यवस्था, आन्दोलनको बारेमा छानविन आयोग गठनलगायतका सहमतिहरु पूरा गर्ने प्रकृया शुरु गर्ने प्रधानमन्त्री प्रचण्डले प्रचिवद्धता जनाएको बैठकमा सहभागि नेपाल सद्भवना पार्टीका अध्यक्ष अनिल झाले बताए ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले तीन बुँदे सम्झौता कार्यान्वयनमा सरकार गम्भीर देखिएको बताए । सविधान संशोधन, छानविन आयोग गठन, सहिद घोषणा लगायतका विषयमा समय लाग्न सक्छ तर अरु बाँकी कुरा यी दुई तीन दिनमै पूरा हुने आश्वासन आएको बताए । क्षतिपूर्ति दिने, घाइतेलाई निशुल्क उपचार खर्चलगायतका विषय तत्कालै गर्न सकिने विषय हो, त्यसलै यो गर्नमा कुनै समस्या नरहेको बताउँदै उनले सहिद घोषणा, आयोग गठनलगायतका विषयमा दुई चार दिन समय लाग्न सक्छ तर सरकारले तीन बुँदे सम्झौता कार्यान्वयनको पक्षमा देखिएको झाले बताए ।

छानविन आयोग र सहिद घोषणा गर्नका लागि आन्तरिक रुपमा एउटा समिति बनाएर गृहकार्य गर्ने पनि छलफल भएको महासचिव केशव झाले बताए । मधेस आन्दोलनको मुद्दालाई सम्बोधन गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता शुरु गरेको छ । प्रधानमन्त्रीको पद बाहाली गरेको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डले गठबन्धनबाट संसद्मा प्रतिनिधित्व गर्ने मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर छलफल शुरु गरेका हुन् ।

आज बिहान प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठक सकारात्मक रुपमा अघि बढेको बैठकमा सहभागी नेताहरु बताएका छन् । बैठकबाट बाहिरिँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन बुँदे सहमति अनुसार पदभार गठन गरेको दोस्रो दिन नै वार्तालाई प्राथमिकता दिनु ‘गुड जेस्चर’ भएको प्रतिक्रिया दिए । त्यही सहमतिअनुसार आजको छलफल भएको हो । बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Aug 5, 2016

प्रतिक्रिया दिनुहोस्