Logo
१५ बैशाख २०८१, शनिबार
(July 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवलाई गच्छदारको चुनौतीः हिम्मत छ, मलाई सरकारमा जानबाट रोक्न !

Vijay Gachhdar

वीरेन्द्र केएम, काठमाडौं । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चालाई गम्भीर आरोप लगाउँदै आफूविरुद्ध उसले बार्गेनिङ गरिरहेको बताएका छन् ।  ‘मोर्चालाई आफ्ना माग कसरी सम्बोधन गराउने त्यसको चिन्ता छैन बरु उसले कुनै पनि हालतमा गच्छदारलाई सरकारमा जानबाट रोक्नुपर्छ भन्ने मिसन बोकेका छन्,’ उनले भने, ‘कसैले चाहँदैमा आफ्नो पार्टी सरकारमा जाने÷नजाने भन्ने विषय होइन, त्यो नितान्त फोरम लोकतान्त्रिकको नैसर्गिक कुरा हो ।

पार्टी आठौं वर्षमा प्रवेश गरेको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भने, ‘अब बन्ने सरकारलाई हाम्रो पूर्ण समर्थन रहेको बताउँदै मधेसी मोर्चाले उठाएको मागमा पनि हाम्रो समर्थन छ ।’ सरकारमा जाने÷नजाने भन्ने पार्टीले निर्णय गर्ने विषय भएको उनले बताए । कसैले चाहँदैमा हामीलाई सरकारमा जानबाट रोक्न सक्दैन ।’ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नामै लिएर आक्रोशित मुद्रामा उनले भने, ‘म चुनौती दिन्छु, हिम्मत भए हामीलाई रोकेर देखाऊ ।’

सरकारमा नजाने तर गच्छदारविरुद्ध कुटिल चाल गरिरहने यो कस्तो आन्दोलन हो, क्रान्तिकारी महोदयहरूको ? भनी प्रश्न गर्दै उनले भने, ‘क्रान्तिकारीले गर्दा दर्जनाँै मधेसीले ज्यान गुमाउनुप¥यो अहिले पनि आन्दोलनको घाउबाट मधेस अस्तव्यस्त छ तर उहाँहरू सरकारमा कसरी जाने र गच्छदारलाई कसरी रोक्ने भन्ने खेलमा लागिपरेका छन् ।’   गच्छदारले आफूहरू सरकारलाई उपयोग गर्न सहभागी हुने बताउँदै अरू दलजस्तो जनतालाई ढाँट्ने काम नगर्ने स्पष्ट पारे ।

‘हामी जनतालाई अलमल्याउने काम गर्दैनौं । हामीले उठाएका मुद्दा पन्छाएर सरकारमा गएका छैनौँ । हाम्रो संघर्ष सरकार, सदन र सडकमा जारी छ,’ उनले भने, ‘हामीले आठ बुँदे माग राखेरै सरकारमा सहभागी भएका हौं ।’ गच्छदारले आफ्नो प्रतिद्वन्द्वीका रूपमा देखिएका यादवलाई क्रान्तिकारी कुरा गरेर मात्र उपलब्धि हासिल नहुने सुझाव दिँदै आफ्नो मुद्दामा अडिग रहन चुनौतीसमेत दिएका छन् ।  ‘एक मधेस, एक प्रदेशको मुद्दा लिएर क्रान्ति गर्नुभयो ।

तर, आज त्यो मुद्दा कहाँ गयो ?’ गच्छदारले प्रश्न गरे, ‘आज दुई प्रदेशको कुरा गर्दै हुनुहुन्छ ? सक्नुहुन्छ भनेर त्यसलाई पूरा गरेर देखाइदिनुहोस् ।’ यादवले उठाएका मुद्दामा आफ्नो पार्टीको सधँ समर्थन रहेको जिकिर गर्दै उनले यादव आफ्नो मुद्दामा अडिग भए पार्टीले उनको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘६ महिना नाकाबन्दी गर्नुभयो, ६५ जनाले ज्यान गुमाए, खर्बौंको क्षति भयो । त्यसपछि पनि एक महिना रिले अनशन बस्नुभयो तर के उपलब्धि भयो ?’ गच्छदारको प्रश्न थियो । उनले क्रान्तिकारी कुरा गर्दैमा केही प्राप्त नहुने बताउँदै उपलब्धि हासिल गर्न र दशेलाई निकास दिन कहिलेकाहीँ सहमति गर्नुपर्ने बताए ।

‘केपी ओलीले साथ दिएनन् भने गठबन्धनले माग गरेजस्तो संविधान संशोधन हुन सक्दैन । कुनै पनि काम अघि बढ्न सक्दैन । त्यही भएर उनलाई कुनामा पार्ने काम गर्नु हुँदैन,’ उनले भने । ‘के एक महिनामा सीमांकन हेरफेर हुन्छ ? के कांग्रेस–माओवादी त्यो प्रतिबद्धता पूरा गर्न तयार छन् ?’ उनले प्रश्न गरे । गच्छदारले सधैँभरि प्रतिबद्धतामा अल्झिएर जनतालाई भुलाउने काम गर्न नहुने बताउँदै कांग्रेस–माओवादीसँग सीमांकनबारे स्पष्ट रोडम्याप माग्न यादवलाई सुझाव पनि दिए ।

गच्छदारले अहिलेको परिस्थितिमा एमाले र केपी शर्मा ओलीलाई पाखा पारेर देशले निकास दिन नसक्ने पनि जिकिर गरे ।  ‘म जनताको चाहना पूरा गर्न यो मन्त्रालयमा गएको हुँ । म यो मन्त्रालयमा गएको भन्दै आलोचना गर्ने तर आफू पनि नयाँ सरकारमा यो मन्त्रालय दिए मात्र जाने भन्दै बार्गेनिङ गर्ने ? यो कस्तो कुरा भयो ?’ उनले प्रश्न गरे । गच्छदारले आफू बारम्बार भौतिक योजनामन्त्री भएको भन्दै मोर्चा र गठबन्धनका नेताले आलोचना गरेकोबारे जवाफ दिँदै आफ्नो कार्यकालमा भएका काम हेरेर मूल्यांकन गर्न आग्रह गरे । कमाण्डर पोष्टमा समाचार छ ।

प्रकाशित मिति: Jul 31, 2016

प्रतिक्रिया दिनुहोस्