Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधन बिधेयक लिएर महन्थ ठाकुर पुगे संसद सचिवालय

नेपालको नयाँ नक्सा अनुमोदन हुने गरी संविधान संशोधनको प्रक्रिया सरकारले अघि बढाइरहेको बेला जनता समाजवादी पार्टी बन्ने क्रममा रहेको राष्ट्रिय जनता पार्टीले त्यसलाई अस्वीकार गर्दै संविधान संशोधनसम्बन्धी निजी विधेयक दर्ता प्रयास थालेको छ ।

स्रोतका अनुसार, यसअघि मधेश केन्द्रित दलले अघि सार्दै आएका मधेशका मुद्दाहरु उक्त विधेयकमा अघि सारिएका छन् ।

राजपा संसदीय दलका नेता महन्थ ठाकुरको नेतृत्वमा गएको राजपा नेताहरुको टोलीले संसद्का महासचिव डा. भरतराज गौतमलाई भेटी निजी विधेयक दर्ता प्रयास गरेका हुन् ।

विधेयक दर्ता गर्न नेता ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, लक्ष्मणलाल कर्ण, अनिलकुमार झा, सहित साविक राजपा नेताहरु अपरान्ह महासचिवको कार्यकक्षमा पुगेका थिए ।

साविक राजपा नेताहरु वियेयक दर्ता गर्न गए पनि समाजवादी पार्टीका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायत भने संसद् सचिवालय गएका छैनन् ।

राजपा र समाजवादी एकता भएकाे घोषणा गरेकाे भए पनि कानूनी रुपमा एकीकरण भएकाे छैन । स‌ंसद्मा दुवै दल अस्तित्वमा छन् ।

सरकारले संविधानको अनुसूचीमा रहेको निसानछाप परिवर्तन गर्नका लागि एक साताअघि जेठ ९ गते संविधान संशोधन प्रस्ताव संघीय संसदमा दर्ता गरेको छ।

जुन जेठ १८ गते संसद्मा पेश हुँदैछ । राजपा र समाजवादी पार्टी दुबैले मधेसका मागलाई समेत सम्बोधन गर्नेगरी संविधान संशोधन गर्न माग गर्दै आएको छ ।

यसअघि २०७४ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले तत्कालीन ‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा’ का माग संविधानमा राख्ने गरी संसद्मा संशोधन प्रस्ताव संसदमा पेश गरेको थियो।

संशोधन प्रस्तावको विपक्षमा तत्कालीन एमालेले मतदान गरेपछि प्रस्ताव असफल भएको थियो। २०७४ भदौ ५ गते संविधान संशोधनलाई तत्कालीन संसदमा निर्णयार्थ पेश गरिएको थियो।

प्रकाशित मिति: May 29, 2020

प्रतिक्रिया दिनुहोस्