Logo
१५ बैशाख २०८१, शनिबार
(May 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल पत्रकार महासंघ कास्कीद्वारा पत्रकारलाई डिजिटल ओरेन्टेशन

गण्डकी प्रदेश स्थित कास्कीमा बन्दाबन्दीको सदुपयोगसहित पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ कास्कीले नियमित सञ्चार सम्बन्धित डिजिटल ओरेन्टेशनको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

असहज परिस्थितिमा कसरी पत्रकारिता गर्ने भन्ने विषयमा विषयगत विज्ञको भर्चुअल उपस्थितिमा आठौँ शृङ्खला सम्पन्न भएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठले कोरोना त्रासमा कसरी समाचार सङ्कलन गर्ने तथा कुनकुन विषयमा ध्यान दिने भन्ने विषयमा वैकल्पिक अवस्थाको खोजी गरेर पत्रकारलाई डिजिटल ओरेन्टेशन सञ्चालन गरिएको बताए ।

श्रेष्ठले भने, “हामीले वैशाख २२ गते (मे ३) विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरबाट अनलाइन ओरेन्टेशनलाई शुरु गरेका हौँ, पहिलो दिन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्षले गोविन्द आचार्यबाट ‘कोरोना सङ्क्रमण र हाम्रो चुनौती’ विषयमा भर्चुअल ओरेन्टेशन भयो, त्यसयता आठौंँ शृङ्खला सम्पन्न भइसकेका छन् ।”

श्रेष्ठले बन्दाबन्दीको समयभरि पत्रकारितासम्बन्धी सम्पूर्ण विषयको खोजी गर्दै विषय विज्ञबाट अन्तक्र्रियात्मक रुपमा ओरेन्टेशन सञ्चालन गरिँदै आएको बताए ।

“लकडाउनभरि र पछि : हाम्रो जिम्मेवारी र पत्रकारिता” मा पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, “फेक न्यूज र त्यसले पार्ने दुष्प्रभावबाट बच्ने उपाय” का बारेमा माइसंसार डटकमका सम्पादक उमेश श्रेष्ठ, “अनलाइन जर्नालिज्म र अबको जिम्मेवारी” मा सेतोपाटीका सम्पादक अमित ढकाल, “विपत्मा मिडियाको भूमिका र पत्रकार सुरक्षाको सवाल” मा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त, “फोटो जर्नालिज्ममा न्यूज एंगल र आचारसंहिता” मा नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष धु्रव आले तथा “टिभी जर्नालिज्म न्यूज एंगल र जोखिम व्यवस्थापनको उपाय” विषयमा नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष लक्ष्मण उप्रेती स्रोत व्यक्तिका रुपमा थिए ।

शृङ्खलाको आठौँ दिन आज सञ्चारिका समूह नेपालका पूर्वअध्यक्ष बबिता बस्नेतले “लकडाउन, महिला मुद्दा र हाम्रो रिर्पोटिङ्ग” विषयमा सहजीकरण गरेकी थिइन् ।

अध्यक्ष श्रेष्ठले हरेक दिन ४० देखि ५० पत्रकार डिजिटल ओरेन्टेशनमा सहभागी हुने गरेको बताए । उनले बन्दाबन्दीको समयभरि हरेक दिन बिहान ११ बजे शुरु भई करीब डेढ घण्टासम्म डिजिटल अन्तक्र्रियात्मक सहभागिता हुने जानकारी दिए ।

उनका अनुसार शृङ्खलाको नवौंँ दिन मिडियामा कोरोना कहर विषयमा मिडिया अध्येता शेखर पराजुली स्रोत व्यक्तिका रुपमा रहने छन् ।

प्रकाशित मिति: May 10, 2020

प्रतिक्रिया दिनुहोस्