Logo
१५ बैशाख २०८१, शनिबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूयोर्कमा दुई नेपालीलाई कोरोना, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

न्यूयोर्क राज्यमा दुई नेपालीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । दुबैको एल्महर्स्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

संक्रमतिमध्ये एक न्यूयोर्कको ज्याक्सनहाइटमा बस्ने उबर चालक हुन् । पारिवारिक स्रोतका अनुसार सुरुमा उनलाई ज्वरो आएपछि प्राथमिक उपचारको लागि गएको र चारदिन पनि फलोअपमा बोलाइएको थियो । फलोअपमा दिइएको एन्टिबायोटिक औषधी खाँदा स्वास्थ्य स्थिती झनै खराब भएपछि उनलाई ज्याक्सनहाइटमा रहेको अर्जेन्ट केयर सिटिएमडीमा रिफर गरिएको थियो ।

सिटिएमडीमा उपचार गर्दा अक्सिजनको स्तर कम र निमोनियाको संक्रमण देखिएपछि एल्महर्स्ट अस्पताल जान भनेपछि अस्पतालले उनलाई अघिल्लो शनिबार भर्ना गरेको हो ।

उनकी श्रीमतीले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिइन् । उनका अनुसार बिहिबार कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालले नशाबाट दिने सेन्टरलाइन औषधी चलाएको छ ।

४६ वर्षका ती नेपालीलाई विगतमा कुनै स्वास्थ्य समस्या नभएको तर प्रेसरको औषधी खाने गरेको पारिवारिक स्रोतले बताएको छ ।

यस्तै, न्यूयोर्कको क्विन्समा रहेको एल्महर्स्ट अस्पतालमा उपचारका लागि पुगेका ५० वर्षका अर्का नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । एक साताअघि ज्वरो आएपछि उनी अस्पतालमा उपचारका लागि पुगेका थिए ।

प्रारम्भिक परीक्षणपछि कोरोनाको आशंकामा उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गर्दा उनी संक्रमित भएको पुष्टि भएको थियो । दुई दिनदेखि उनको स्वास्थ्यस्थिती गम्भीर रहेकोले भेन्टिलेटरमा राखेको उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ ।

मधुमेहका रोगी उनलाई अन्य समस्या भने नभएको पारिवारिक स्रोतले बताएको छ । परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको र उनीहरुको मंगलबारसम्म रिपोर्ट आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्