Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा नेपालको अध्यक्ष मण्डल असफल भएको भन्दै विघटन गर्न माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डल विघटन गर्न माग गरिएको छ । राजपाका सहमहामन्त्री समेत रहेका प्रदेश २ का राज्यमन्त्री सुरेश मण्डलले पनि राजपाको अध्यक्ष मण्डल विघटनको माग गरेका हुन् ।

नेता मण्डलले आइतबार फेसबुक पोस्ट गर्दै अध्यक्ष मण्डल असफल भएको र ६ वटा अध्यक्ष आ–आफ्नै गुट संचालनमा व्यस्त रहेको आरोप पनि लगाएका छन्।

उनले लेखेका छन्,‘अध्यक्ष मण्डलीय प्रणाली पूर्णरुपेण असफल भइसकेको छ। अब अध्यक्ष मण्डल विघटनको विकल्प छैन।

दुई–दुई महिनामा अध्यक्ष फेर्ने र प्रेस विज्ञप्ति निकाल्ने बाहेक पार्टी, संगठन र देशको राजनीतिमा सिन्को भाँच्न सकेको छैन।’

‘६ जनाको अध्यक्ष मण्डल स्वार्थ समूहको रुपमा परिणत भैसकेको छ र आ-आफ्नो गुट संचालनमा व्यस्त छन्। ६ जनाको समीकरण आफ्नो स्वार्थ सिद्धिका निम्ति कहिले ३ः ३, कहिले ४ः २ र कहिले १ः ५ मा बदलिरहन्छ।’

उनले लेखेका छन्,‘एकीकरण र महाधिवेशनको नाममा पार्टी र कार्यकर्तालाई अनिर्णयको बन्दी बनाएका छन्। त्यसकारण, अब यो गतिहिन र भद्दा अध्यक्ष मण्डल विरुद्ध पार्टी नेता तथा कार्यकर्ता गोलबन्द होऔं।’

अध्यक्षहरुले दिनप्रतिदिन पार्टीको प्रतिष्ठा घटाउन गैर राजनीतिक घटना गर्न उद्धत रहेको आरोप पनि उनले लगाएका छन्। ‘आम मधेशी जनताको आशा र विश्वासको केन्द्र राजपालाई अध्यक्ष मण्डलीय नजरबन्दबाट मुक्त गराऔं।’ भन्ने आग्रह उनले गरेका छन्।

राजपाको अध्यक्ष मण्डल असफल भइसकेको भन्दै राजपाकै नेताहरुले विघटनको माग गर्दै आएका छन्। यसअघि बसेको राजनीतिक समिति र पदाधिकारी बैठकले पनि अध्यक्ष मण्डल विघटनको निर्णय गरेको थियो।

राजपाको महाधिवेशनको मिति पटक-पटक सर्दै आएको छ। महाधिवेशन सार्न विधान पनि संशोधन गरिएको छ। तर, हालम्म राजपा महाधिवेशन केन्द्रीत हुन सकेको छैन।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्