Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर : उपभोक्ताको टाउकोमा फेरि थपियो प्रत्यक्ष महँगीको भार

काठमाडौं : सरकारले विकास निर्माणका नाममा एकपछि अर्को कर थपेको छ। वृद्धि गरिएको विकास करका कारण अन्तत: उपभोक्ताको टाउकोमा प्रत्यक्ष महँगीको भार थपिने भएको छ।

सरकारले पेट्रोलियममा विकास करका नाममा फेरि प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको छ। यसअघि सरकारले भन्सारबिन्दुमै प्रतिलिटर पाँच रुपैयाँ उठाउँदै आएको थियो।

बिहीबारदेखि सरकारले थपेको अतिरिक्त पाँच रुपैयाँ गरी अब पेट्रोलियम पदार्थ आयात गर्दा भन्सारबिन्दुमै प्रतिलिटर १० रुपैयाँ विकास खर्चका नाममा असुलिने भएको छ।

सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले डिजेल, पेट्रोल तथा हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ विकास कर थपिएको जानकारी दिएका छन्। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियममा यस्तो कर वृद्धि गर्ने निर्णय भएको खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिए।

सरोकारवाला निकायका अनुसार सरकारको यो निर्णयका कारण सर्वसाधारणको चुह्लोसँग जोडिएका दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी, दूध तथा दुग्धजन्य, लुगाफाटा, औषधि, निर्माण सामग्री, ढुवानी, यातायात, उत्पादन क्षेत्रलगायत चौतर्फी रूपमा प्रभाव पार्नेछ। यी क्षेत्रमा अत्यधिक परिमाणमा इन्धनका रूपमा डिजेल प्रयोग हुन्छ।

‘थप कर वृद्धिले सबैभन्दा पहिले ढुवानी क्षेत्रमा प्रभाव पार्नेछ’, नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘ढुवानी खर्च वृद्धिसँगै आमजनतासँग जोडिएको गाँस, बास र कपाससँग सम्बन्धित सम्पूर्ण क्षेत्रमा महँगीको भार थपिनेछ।’ उनका अनुसार पाँच रुपैयाँ वृद्धि हुँदा अब दैनिक उपभोग्य र उत्पादन क्षेत्रमा कम्तीमा पनि १५ रुपैयाँसम्म मूल्य वृद्धि हुन सक्छ। ‘कुनै शीर्षकमा दुई रुपैयाँ वृद्धि हुँदा हरेक क्षेत्रमा पाँचदेखि सात रुपैयाँ वृद्धि हुन्थ्यो’, उनले भने, ‘अब त हरेक क्षेत्रमा न्यूनतम १५ रुपैयाँ वृद्धि हुने भयो।’

राष्ट्र बैंकले पुसमा प्रकाशन गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार पछिल्लो समय उपभोक्तातर्फ समग्रमा ६.८२ प्रतिशतले महँगी वृद्धि भएको छ। अघिल्लो वर्षको सोही महिनामा भने ४.५८ प्रतिशतले महँगी बढेको थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल, गेडागुडी, फलफूलको मूल्य उच्च मात्रामा वृद्धि भएको थियो।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्