Logo
१५ बैशाख २०८१, शनिबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिथिलामा तिला सङ्क्रान्ति सन्तानलाई शपथ खुवाएर भव्यताका साथ मनाइँदै

जनकपुर- मिथिलावासीले मकर अर्थात तिला सङ्क्रान्ति आफ्ना सन्तानलाई शपथ खुवाएर मनाउँदै छन् ।

घरमा देवीदेउताको पूजापाठ गरेपछि तिल र शख्खर मिश्रित प्रसाद खुवाउने क्रममा सन्तानसँग बचन लिने गरिन्छ ।

बुढेसकालमा ‘सेवा गर्ने कि नगर्ने’ भनेर मातापिताले सोध्ने गर्छन् । सन्तानले सेवा गर्ने, आज्ञाको पालना गर्ने बचन दिएपछि सो प्रसाद मातापिताले सन्तानलाई खुवाउने गर्छन् ।

प्रसाद ग्रहण गरेपछि सन्तानले आमाबुबालाई ढोगेर आर्शीवाद लिने गर्छन् । यसका साथै, आजका दिनमा अर्काको तिल खाएमा उनको सेवा गर्नुपर्ने भनाइका कारण कतिपयले अरुले दिएको तिलको लड्डु नखाने गरेको देखिन्छ ।

यस पर्वमा तिलको विशिष्ठ महत्व रहेको कारण प्राचीन मिथिलामा ‘तिला सङ्क्रान्ति’ र माघ महिनाको पहिलो दिनमा मनाइने गरिएकाले कतिपयले ‘माघे सङक्रान्ति’ पर्व पनि भन्ने गरिन्छ ।

सूर्यदेव, धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्नुका साथै उत्तरायणको गति पनि प्रारम्भ भएको अवसरमा पर्व मनाइने गरिएको हो । सूर्य उत्तरायणमा प्रवेश गरेपछि देउताको बह्म मुहूर्त उपासनाको पुण्यकालको शुभारम्भ हुन्छ ।

यस कालमा विद्याको प्राप्ति, साधनाको सिद्धिकालका साथै देव प्रतिष्ठापन, गृह निर्माण, यज्ञलगायत धार्मिक कर्महरु गर्न उत्तम समय मानिन्छ । सोही कारणले मकर राशिमा सूर्य प्रवेश गरेको पहिलो दिनलाई ‘विशेष दिन‘ संज्ञा दिँदै खुशीयालीको रुपमा पर्व मनाउने गरिएको हो ।

यस पर्वको अवसरमा पवित्र नदी र तलाउँमा स्नानका गरी खिचडी, अन्न, नयाँ वस्त्र र नगद दान गरेमा पुण्य प्राप्तिका साथै सूर्यदेव प्रसन्न हुने धार्मिक विश्वास रहेको छ ।

सो धार्मिक महत्वको आधारमा जनकपुरको गङ्गासागर, धनुषसागरलगायत पवित्र जलाशयमा बिहानैदेखि सयौँको सङ्ख्यामा धर्मालम्बीहरु स्नान गरी विभिन्न मन्दिरमा धार्मिक विधिपूर्वक पूजापाठ गरी पर्व मनाइरहेका छन् ।

यस पर्वको पहिचानको रुपमा खिचडी, दाल, तिलको लड्डु र शख्खर रहेको छ । अनिवार्य रुपमा तिलको लड्डुलगायतका परिकार तयार गरिएपनि कतिपय समुदायमा खिचडीको सट्टा दही च्युरा खाने गरिन्छ ।

यो पर्व उत्साहसँग जोडिएको कारणले आजका दिन चङ्गा उडाउने गरिन्छ । हुन त विगतका वर्षका तुलनामा चङ्गा उडाउने मनोरञ्जनात्मक खेल क्रमिक रुपमा घट्दै गइरहेको देखिन्छ ।

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्