Logo
१५ बैशाख २०८१, शनिबार
(November 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिमका ५ जिल्लाका ७ वडामा उपनिर्वाचन, २२ को उम्मेदवारी

बैतडी : बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका सात वडामा अगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । बैतडीका तीन, डोटीको एक, अछामको एक, बाजुराको एक र कञ्चनपुरको एक वडा गरी सुदूरपश्चिमका सात वडामा उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्ष रिक्त रहेका बैतडीको दोगडाकेदार गाउँपालिका-४, सुर्नया गाउँपालिका-१ र पुर्चौडी नगरपालिका-४ मा उपनिर्वाचन हुँदैछ ।
यस्तै डोटीको आदर्श गाउँपालिका-२, अछामको मल्लेख गाउँपालिका-५, बाजुराको त्रिवेणी नगरपालिका-१ र कञ्चनपुरको पुर्नवास नगरपालिका-३ मा उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

सुदूरपश्चिमका यी सात वडाका लागि २२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । बुधबार बिहान १० बजेदेखि १ बजेसम्म तोकिएको उम्मेदवारको मनोनयन दर्तामा २२ जनाको उम्मेदवारी परेको छ ।

बैतडीमा ३ वडाका लागि आठ उम्मेदवारको मनोनयन दर्ता भएको छ । वडाध्यक्ष रिक्त रहेका बैतडीका तीन वडाका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सुर्नया गाउँपालिका-१ मा अध्यक्ष पदका लागि दुई उम्मेदवारको मनोनयन दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट धनबहादुर चन्द र नेपाली काङ्ग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै, पुर्चौडी नगरपालिका-४ मा (नेकपा) का तर्फबाट शैलेन्द्र धानुक, नेपाली काङ्ग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीका कम्प्युटर अपरेटर अनिल चन्दले जानकारी दिए ।

यस्तै, दोगडाकेदार गाउँपालिका-४ को वडाध्यक्ष पदका लागि तीन उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ । (नेकपा)बाट नरेन्द्रप्रसाद भट्ट, नेपाली काङ्ग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए ।

त्यस्तै, डोटीको आदर्श गाउँपालिका-२ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि चारको उम्मेदवारी परेको छ । जसमा (नेकपा) का रामबहादुर बोहरा, काङ्ग्रेसका महादेव साउद, राष्ट्रिय प्रजातन्त्र पार्टीका काशीराम ओझा र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै अछामको मेल्लेख गाउँपालिका-५ को वडाध्यक्षका लागि दुई दलले मनोनयन दर्ता गरेका छन् । (नेकपा) का उम्मेदवार रमेशबहादुर खड्काले मनोनयन दर्ता गरेका छन् । यसैगरी नेपाली काङ्ग्रेसको तर्फबाट वीरबहादुर बोहोराले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै, बाजुराको त्रिवेणी नगरपालिका-१ का लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । वडाध्यक्षका लागि (नेकपा) का मनराजे बुढा, काङ्ग्रेसका खगेन्द्र चदारा र राप्रपाका मीनबहादुर ढोलीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए ।

त्यस्तै, कञ्चनपुरको पुर्नवास नगरपालिका-३ मा अध्यक्ष पदका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । वडाध्यक्षका लागि काङ्ग्रेसका दीप तामाङ, (नेकपा) का कृष्ण तामाङ, समाजवादी पार्टीका भीम तामाङ, राप्रपाका पदम शाही र राप्रपा संयुक्तका श्रीधन तामाङले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

उम्मेदवारमाथि बिहीबार उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारलाई मङ्सिर १ गते निर्वाचन चिह्न प्रदान गरिनेछ । उपनिर्वाचन हुने सुदूरपश्चिमका यी पाँच जिल्ला सात वडाबाट १० हजार ९३६ मतदाताले उपनिर्वाचनमा भाग लिने जनाइएको छ  ।

प्रकाशित मिति: Nov 14, 2019

प्रतिक्रिया दिनुहोस्