Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीआईबी र मेट्रो प्रहरी प्रमुख परिवर्तनको तयारी : रिजाल र पोखरेलले जिम्मेवारी पाउँदै

गृह मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी र महानगरीय प्रहरी कार्यालय ‘मेट्रो’ प्रमुख परिवर्तनको तयारी गरेको छ। यी दुई वटा प्रहरी युनिटलाई ध्यानमा राख्दै प्रहरीले प्रहरी नायब महानिरिक्षक-डीआईजी सरुवाको तयारी गरेको हो।

सीआईबी र मेट्रो दुवैको प्रमुख डीआईजी हुन्छन्। यसैगरी प्रदेश प्रमुखको जिम्मेवारी पनि डीआईजीले सम्हाल्छन्। ६ महिनाअघि डीआईजीको सरुवा हुँदा प्रदेश प्रमुखहरु परिवर्तन भएका थिए।

तर मेट्रो र सीआईबोको नेतृत्व एक वर्षयता परिवर्तन भएको छैन। हाल सीआईबी प्रमुख निरज शाही र मेट्रो प्रमुख शैलेस थापा रहेका छन्।

को कहाँ पुग्दै ?

गहमन्त्रालय श्रोतका अनुसार गण्डकी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी विनोद शर्मा घिमिरेलाई पनि सरुवा गर्ने तयारी भएको छ ।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भइसकेकाले प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निर्वाचन आयोगमा सहमतिको लागि सरुवा सम्बन्धी फाइल पेश गरिसकेको छ ।

गण्डकी प्रदेशका डीआईजी घिमिरेको कार्यकाल करिब पाँच महिना मात्रै पुगेको छ । गत जेठ ३१ गते गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा भएका घिमिरे कार्यसम्पादन तथा कमाण्ड कन्ट्रोलमा कमजोर देखिएको भन्दै त्यहाँबाट फिर्ता गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।

स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालयको प्रमुखमा डीआईजी केदार रिजाल र केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा हालका प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेललाई पठाउने तयारी थालेको छ ।

यस्तै सीआईबीका डीआईजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विद्यालय पठाएर महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीलाई पुनः नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी दिने तयारी छ ।

त्यस्तै गण्डकी प्रदेश प्रहरी प्रमुखमा डीआईजी नारायणसिंह खड्का र डीआईजी सूर्यप्रसाद उपाध्याय मध्ये एकजनालाई पठाउने तयारी रहेको श्रोतको दाबी छ ।

अहिले खड्का प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रबन्ध निर्देशनालयको प्रमुख छन् भने उपाध्याय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको रुपमा कार्यरत छन् ।

दुबै युनिट महत्वपुर्ण

‘करियर प्लानिङ’का हिसाबले यी दुबै युनिट महत्वपुर्ण मानिन्छन्। प्रदेश र संघीय संसदको उपनिर्वाचनका लागि आचारसंहिता लागु भइसकेकाले प्रहरी अधिकारीको सरुवाका लागि गृह मन्त्रालयले अनुमतीका लागि निर्वाचन आयोगलाई पत्राचार गरेको छ।

स्रोतका अनुसार आयोगले पत्रको जवाफ दिएको छैन। आयोगले स्विकृती दिए आगामी साता डीआईजीको सरुवा हुन सक्ने गृह मन्त्रालय स्रोतले जनाएको छ। डीआईजीको सरुवा गृह मन्त्रालयले गर्दछ।

गृह मन्त्रालयले थापा र शाहीसँगै गत वर्ष सरुवा भएका डीआईजीलाई ६ महिना अघि हेरफेर गरेको थियो। हाल डीआईजी रहेका अधिकांश वर्तमान आईजिपी सर्वेन्द्र खनालका ब्याजी छन्।

उनिहरुल‍े आगामी माघमा खनालसँगै सेवाबाट अवकाश पाउने छन्। अन्य चार जना डीआईजीले आगामी असारबाट सेवाबाट अवकाश पाउनेछन्। त्यसपछिका पाँच जना डिआईजी छन्।

२०४९ साल बैशाखमा प्रहरी निरिक्षकबाट सेवा सुरु गरेकामध्ये शैलेश थापा, प्रधुम्न कार्की, हरि पाल र निरज शाही मात्र अहिले डीआईजी छन्। पाल विषेश ब्युरोका प्रमुख छन् भने कार्कीले ६ महिनाअघि प्रदेश-२ प्रमुखको जिम्मेवारी सुरु गरेका थिए।

२०४९ चैतमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका विश्वराज पोखरेल पनि अहिले डीआईजी छन्। प्रहरीको लागु औषध नियन्त्रण ब्युरोमा रहेका बेला डीआईजीमा बढुवा पाएका पोखरेल अहिले प्रहरी प्रधान कार्यालयको प्रवक्ता छन्।

लागु औषध नियन्त्रण ब्युरोमा सरुवा हुनुअघि काठमाडौँ प्रहरी प्रमुख रहेका पोखरेल अब हुने डीआईजी सरुवामा मेट्रो र सीआईबी जाने आकांक्षी रहेको बताइन्छ।  ‘आईजिपी ब्याजका केही डीआईजीको पनि दोडधुप देखिन्छ’, गृह मन्त्रालय स्रोतले भन्यो।

 

 

 

 

प्रकाशित मिति: Nov 8, 2019

प्रतिक्रिया दिनुहोस्