Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इनरुवामा करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम सुरु, जातीय भेषभुषामा सजिए उराँववासी

सुनसरी सदरमुकाम इनरुवामा करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम सुरु भएको छ । यहाँ बसोबास गर्ने उराँव समुदायहरुले आफ्नो महान पर्व करम पुजाको अवसरमा पूर्व सन्ध्यामा सांस्कृतिक कार्यक्रम सुरु गरेको हो ।

नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरी इनरुवाको आयोजनामा शुक्रबार करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम सुरु भएको हो । कार्यक्रम सुरु हुनु अगाडी विहान हजारौंको संख्यामा उराँवहरुले आफ्नो जातीय पहिरण भेषभुषा सहित इनरुवामा वृहत उराँव पोशाक(पहरिन) प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सुनसरी र मोरगंका उराँवहरुले पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरु रातो र सेतो सारी, हातमा चादीको चुरा, घाटीमा हसुली, तिलहरी, पाखुरामा गोफ(गहना) सहित सजिएर सहभागि भएका थिए ।

इनरुवाको विहीबारे हातमा जग्गा भएका उराँव पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरुले रातो र सेतो सारी सहित सजिएर इनरुवा २, १ हुदै बजार , लोकतान्त्रिक चौक , भगवती रोड हुदै प्रतिष्ठानको भवन तथा संग्राहलयको मैदानमा करम पूर्व सन्ध्या कार्यक्रममा सहभागि भएका थिए ।

उराँवहरुको महान पर्वको बारेमा सन्देश दिने , भाषाको संरक्षण गर्ने र मौलिकता पदर्शन गर्ने उदेश्यका साथ कार्यक्रम सुरु गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिए । एक महिनासम्म मनाइने करम पुजाको विधिवत सुरु गरेको र त्यसको झल्को दिनका लागि उराँव कलाकार, साहित्यकार, कलाकर्मी, शिक्षक, वुद्धिजिवि र अगुवाहरुको उपस्थितीमा करम पूर्व सन्ध्या कार्यक्रम सम्पन्न गरेको उराँवले बताए ।

उराँवहरुले करम राखेको दिनदेखि नै दैनिक अखडा(मञ्च) मा आफ्नो परिहनसहित नाचगान गर्ने, प्रवचन भन्ने लगायतका कार्यक्रम गर्दै करम पुजा गरीरहेको उराँव समुदायका शिक्षक सम्पतलाल उराँवले जानकारी दिए । करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल , गीत नृत्य, पहिरण, बाजागाजा, पोसाक, मौलिक हातहतियार, कृषि औजार, जिविकोपार्जन गर्ने सामग्री(माछा मार्ने जाल, भाडो, खुर्पी, कोदालो, हल्लो) सहितको प्रदर्शन गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सचिव रामलाल उराँवले जानकारी दिए ।

विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका मनाइने करम पुजाले उराँवहरुलाई जोड्ने भएकाले पूर्व सन्ध्या कार्यक्रम गरेको प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले बताए । कार्यक्रममा इनरुवा नगरपालिका प्रमुख राजन मेहताले उराँवहरुको हरेक कार्यक्रम र आरक्षणका लागि पहल गर्ने तथा सार्थकताका लागि शुक्रबार नगरक्षेत्रमा सार्वजनिक विदा समेत दिएको बताए । उनले उराँवहरुको हक, अधिकार र पहिचानका लागि नगरपालिकाको तर्फबाट हुने सबै खालका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी प्रदेश १ का प्रतिपक्षी दलका नेता राजीव कोईरालाले उराँवहरुको आफ्नै मौलिक र पहिचान भएकाले उनीहरुको हक अधिकारसगैं संस्कृति संस्कारको संरक्षणमा आफ्नो योगदान रहने बताए ।

प्रमुख अथिति प्रतिनिधि सभा सदस्य तथा पूर्व राज्य मन्त्री सिताराम मेहताले उराँवहरु नेपालका धर्तीपुत्र भएकाले उनीहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व आवश्यक रहेको बताउनुभयो । उनले आफ्नो तर्फबाट हुने सबै खालका सहयोग गर्ने र उराँवहरुको पहिचान तथा सम्मानका लागि काम गर्ने क्रममा संसद विकास कोषको ५० लाख रुपियाँ सहयोग गरेर प्रतिष्ठानको उरावँ सग्राहलय निर्माण गरेको बताए ।

प्रतिष्ठानका सल्लाहकार जयकुमार उराँवले करम पुजा उराँव जातीको मुख्य चाड रहेकाले अहिलेका पुस्ता र पुराना पुस्ताहरु बिचमा रहेको पुस्तान्तरणलाई समेत एक ठाँउमा ल्याएर वर्तमानमा विगतका परम्पराहरुलाई संरक्षण गर्ने गरि करम पूर्व कार्यक्रम गरिएको बताए ।

प्रतिष्ठानका कोषाध्यक्ष सम्पतलाल उराँवले नेपालीको ऐतिहासिक पृष्ठभूमिसंग जोडिएको उराँवहरुको कला , कौशल प्रदर्शन गर्नका लागि करण पूर्व सन्ध्या कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य जयकृष्ण यादव, प्रतिष्ठानका उपाध्यक्ष जयप्रकाश उराँव, सचिव रामलाल उराँव, सल्लाहकार नुनुलला उराँव, श्रीमती कुमारी शरना उराँव, परमेश्वर उराँव, राजकुमार उराँव, जयकुमार उराँव, बासुदेव उराँव, ब्रहमदेव उराँव, सदस्यहरु देवप्रकाश उराँव, जयप्रकाश उराँव र दुर्गानारायण उराँव लगायतकाले करम पूर्व सन्ध्याको अवसरमा शुभकामना दिएका थिए ।

त्यसैगरी कार्यक्रममा नेकपाका नेता खेमराज पोखरेल, नेपाली काग्रेंसका जिल्ला उपसभापती संजय श्रेष्ठ, इनरुवा नगरपालिका २ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव, ५ का वडा अध्यक्ष अन्नजती पोखरेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेल सहितका सरोकारबालाहरुले समेत करम पूर्व सन्ध्याको अवसरमा शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका विशेष अथिति भारतको राँची विश्व विद्यालयका प्रध्यापक महेश भगतले प्रतिष्ठानको उद्घाटन र एतिहासिक करम पूर्व सन्ध्याले जातीय अधिकार र संस्कृति संस्कारको संरक्षणमा योगदान गरेको बताए । उनले नेपालमा रहेका उराँवहरु इमान्दार , कर्मयोगी, नैतिकवान भएकाले संस्कृतिमा धनी जाती समेत भएको दावी गरे । उनले कार्यक्रममा नाचगान, सांस्कृतिक कार्यक्रमले नै सबैलाई जोड्ने काम गरेको बताए ।

 

प्रकाशित मिति: Sep 14, 2019

प्रतिक्रिया दिनुहोस्