Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी पार्टीका सांसद डा.यादवले लिए राजीनामा फिर्ता

काठमाडौंः उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन्।

सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयको कार्यालयमा पुगेर यादवले सभामुख कृष्णबहादुर महरालाई लिखित रूपमा राजीनामा फिर्ता लिएको पत्र बुझाएका हुन्।

स्वास्थ्यको कारण देखाउँदै उनले गत साउन २८ गते सभामुख महरालाई राजीनामा बुझाएका थिए। राजीनामापत्र बुझाउनुअघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीको बैठकसमेत बसेको थियो।

पार्टीले राजीनामा फिर्ता लिन पटक-पटक आग्रह गरे पनि उनले केही जवाफ दिएका थिएनन्। तर, आज आइतबारको बैठकपछि भने राजीनामा फिर्ता लिएको पत्र बुझाउन उनी आफैं सभामुख महराको कार्यकक्ष पुगेका थिए।

‘मैले राजीनामा दिएको सर्वत्र हल्ला भएपछि जनताको अनुरोधलाई सम्मान गर्दै यसअघि बुझाएको राजीनामापत्र फिर्ता लिएको छु,’ यादवले बुझाएको पत्र उल्लेख गर्दै समाजवादी पार्टीका एक नेताले बताए।

उनले फिर्ताको जानकारी गराउँदा उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका अध्यक्ष यादव, राज्यमन्त्री सुरेन्द्र यादव, प्रमुख सचेतक उमाशंकर अरगरिया, राजनीतिक समितिका सदस्य शिवजी यादवलगायत नेता उपस्थित थिए।

सप्तरी-१ बाट निर्वाचित सांसद डा. यादव प्रतिनिधिसभा निर्वाचनमा बामगठबन्धनका उम्मेदवारलाई पराजित गरेर विजयी भएका थिए। गत निर्वाचनमा २१ हजार ७ सय १२ मत ल्याएका यादवले प्रतिद्वन्द्वी बामगठबन्धनका उम्मेदवार अशोक मण्डललाई १८ हजार २ सय २५ मतमा सीमित पारिदिएका थिए। उनी पेसाले चिकित्सक हुन्।

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्